काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका छन् ।
सांसद शर्माले व्यापक स्वास्थ्य बीमा योजना प्रारम्भ गरी छिटो, सर्वसुलभ र सहज स्वास्थ्य सेवाको पहुँचमा सबैलाई समेट्न आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका हुन् ।
ग्रामीण क्षेत्र, सीमान्तकृत, पिछडिएको र विपन्न समुदाय, कमजोर आर्थिक अवस्था र जनचेतनाको अभावलगायतका कारणले सामान्य तथा गम्भीर प्रकृतिका रोगका लागि समेत स्वास्थ्योपचार खर्चको अभाव हुनुका साथै स्वास्थ्य सेवामा पहुँच चुनौतीपूर्ण भएको औंल्याउँदै उनले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको उल्लेख गरे ।
प्रस्ताव पेश गर्दै स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा प्रभावकारी नभएको र त्योभन्दा बरु सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको स्वास्थ्य सेवा नै प्रभावकारी भएको बताए ।
सांसद शर्माले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई इंगित गर्दै भने, ‘तपाईंलाई म आग्रह गर्न चाहन्छु, यसै मुलुकभित्र सरकारले नै बनाएको सामाजिक सुरक्षा कोष भन्ने एउटा राज्यकै निकाय छ, जुन निकायले स्वास्थ्योपचार भइरहेको अस्पतालमा रियल टायम पेमेन्ट गर्छ । यही मुलुकभित्र एउटा निकाय रियल टाइम पेमेन्ट सम्भव भएर गरिरहेको छ, यानिकि एउटा नागरिक बिरामी भएर अस्पतालमा पुग्यो भने त्यो नागरिकले आफूसँग भएको सामाजिक सुरक्षा कोषको परिचयपत्र जब अस्पतालको डेक्समा दिन्छ, त्यतिबेलै उसले खर्च गरेको रकम रियल टाइममा पेमेन्ट गर्ने यही राज्यको एउटा सिस्टमले काम गरिरहेको छ र नागरिक एकदमै सहुलियतमा उपचार गरेर घर फर्किन्छन् ।’
उनले सरकारले नागरिकबाट स्वास्थ्य बीमाको नाममा ३ हजार ५०० देखि ५ हजारसम्म रकम उठाइरहेको, तर सेवा दिने समयमा भने सेवा दिन सकिँदैन भन्नुभन्दा सरकार सञ्चालकले आफूहरुले लुटेरा भनेर घोषणा गर्नुपर्ने बताए ।
सांसद शर्माले जनताबाट पैसा उठाएर स्वास्थ्य बीमाले पैसा तिर्न सक्दैन भन्न नपाइने बताए । ‘यही हो राज्य ? राज्य यसरी नै सञ्चालन गर्ने हो ? जनताको रकम ल्याएर सेवा नदिने हो भने कि त हामी लुटेरा हो भनेर भन्नुप¥यो’, उनले भने ।

Leave a Reply