संगीतकार राईको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीमा उजुरी, दाजु र प्रेमिकाबीच जुहारी

काठमाडौं । ३२ वर्षीय गायक तथा संगीतकार विक्रम राईको असामयिक मृत्यु प्रकरण पेचिलो बन्दै गएको छ । गत फागुन १७ गते बिहान अनामनगरमा रहेको हरसुङ्मा अर्गानिक खाजाघरमा उनको निधन भएको थियो ।

अचानक अचेत भएपछि राईलाई खाजाघरबाट उठाएर काठमाडौं मोडेल अस्पताल बागबजार पुर्‍याउनासाथ डाक्टरहरूले मृत घोषणा गरेका थिए । त्यसपछि उनको पार्थिव शरीरलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

राईको मृत्युलाई सुरुमा हृदयाघातको आशंका गरियो । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पनि हृदयाघात भनेर समाचार सम्प्रेषण भएका थिए । दुई दिनसम्म त्रिवि शिक्षण अस्पतालमा राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रतिष्ठानमा लगियो । यसपछि हेलिकोप्टरमार्फत जन्म गाउँ खोटाङको राखा लगेर राईको अन्त्येष्टि गरियो ।

पोस्टमार्टम रिपोर्ट नआइकनै राईलाई दाहसंस्कारका लागि खोटाङ लगिएको थियो । यस विषयमा राईका जन्तरे दाइ गणेश नाछिरिङ राईले नेपालप्रेसलाई भने, ‘विक्रमको केटी (प्रेमिका)ले हर्टअट्याक भएको भनेर भन्यो, हामीले उसैलाई विश्वास गर्‍यौं । हामी दाजुभाइ सबै बाहिर भावविह्वल अवस्थामा थियौं । सुरुमा त हामी पोस्टमार्टम गर्ने पक्षमै थिएनौं ।’

तर यति धेरै आशंका हुँदाहुँदै लास चाहिँ किन उठाउनुभयो भन्ने प्रश्नमा गणेशले भने, ‘डाक्टरले हृदयाघात पनि देखिएन, रक्सीको कारण पनि मृत्यु भएको देखिएन भन्नुभयो । पेट गनाएको छ, पोइजनसम्बन्धी पो हो कि भन्ने आशंका डाक्टरले गर्नुभयो । यस विषयमा अहिले नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुसीमा अनुसन्धान भइरहेको छ । स्याम्पलहरू लिइसकेका छौं । उक्त स्याम्पल १० वर्षसम्म पनि केही हुँदैन भनेर डाक्टरले भन्नुभएपछि हामीले लास उठाएका हौं ।’

साथै प्रेमिकाविरुद्ध आफूहरूले जाहेरी दिने तयारीमा रहेको गणेशले बताए । यसका लागि विषसम्बन्धी रिपोर्ट कुरिरहेको उनले बताए ।

विक्रमको हत्या भएको आशंका परिवारले गरेको छ । गणेशले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘घटनास्थल बाहिरको सीसीटीभी फुटेजले हामीलाई अझ शंकालु बन्न बाध्य बनाएको छ । घटनाको सत्यतथ्य छानबिनका लागि प्रहरीलाई गुहार्दै आएका छौँ, तर प्रहरीले फरेन्सिक रिपोर्ट आएपछि उजुरी लिने भन्दै पन्छाएको छ ।’

गणेशले ‘आफूहरूले आशंका गरेको व्यक्ति (विक्रमकी प्रेमिका) निर्दोष ठहरिऊन्’ भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

उनले सीसीटीभी फुटेजको आधारमा विभिन्न बुँदाहरूसमेत पेश गरेका छन् । उनले सार्वजनिक गरेका बुँदाहरू यस्ता छन्-

  • २ बजेर २७ मिनेटमा विक्रमसँगको झगडाको अडियो भिडियो ऊ (प्रेमिका)ले विक्रमको दिदी अमितालाई पठाएको ।
  • घटनास्थल वा खाजाघरको घुम्ती वा सटर अघिल्तिर राति ३ बजेको समयदेखि २ जना युवा एकापसमा कुरा गरिरहेको देखिनु ।
  • यो अवधिमा माथि उल्लेखित युवा खाजाघर भएको गेट नजिक आएर गफिनु र ३ बजेर ३१ मिनेट जाँदा ऊ (प्रेमिका) भित्रबाट गेटसम्म आएर गेट खोली केही भनेको जस्तो देखिनु ।
  • ३ बजेर ३३ मिनेटमा ऊ(प्रेमिका) गेट बाहिर निस्किन्छिन् । कपाल सुमसुमाउँदै दायाँबायाँ हेरेर केही सेकेन्ड होल्ड हुन्छिन् । त्यसपछि भित्र पस्दा नपस्दै बाहिरिएर खोलापट्टि गएको दृश्य ।
  • ३ बजेर ३५ मिनेट जाँदा स्कुटी लिएर गेटमा रोकेको र खाजाघरभित्र पसेको दृश्य ।
  • ३ बजेर ४० मिनेट जाँदा खाजाघरको भित्रपट्टिको ढोका खोलेर गेट-ढोका ओहोरदोहोर गरेको दृश्य । यो क्रम ३ बजेर ४५ मिनेट जाँदासम्म चल्छ । सो अवधिमा सोही घरको अर्को कोठामा बस्ने एक युवा गेटबाट फोन गर्दै निस्कनु र केही सेकेन्डमै भित्र छिर्नु ।
  • एवम्रितले दोस्रो र तेस्रो पटक फोनमा बोल्दै बाहिर निस्केको दृश्य । सोही युवा पटक-पटक भित्र-बाहिर गर्दै फोनमा बोलेको दृश्य, यस्तै दृश्य ३ बजेर ५३ मिनेटसम्म देखिनु ।
  • त्यसपछि गेटबाट अत्तालिँदै ऊ (प्रेमिका) बाहिर निस्कनु र अस्वाभाविक हाउभाउको दृश्य देखिनु । ३ बजेर ५४ मिनेट जाँदा पनि पुनः ऊ (प्रेमिका) बाहिर निस्केर अत्तालिएको दृश्य देखिनु ।
  • ३ बजेर ५६ मिनेटमा ट्राफिकको गाडी आएको, सोही गाडीमा विक्रमलाई हालेर अस्पताल लगिएको दृश्य ।
  • ४ बजेर ५३ मिनेटमा मोडल हस्पिटलले मृत घोषणा ।

प्रेमिकाको स्पष्टीकरण- सञ्जालमा मेरो चरित्रहत्या नगर्नुस्

विक्रमका परिवारले अनेक खालका आशंका गरेर सञ्जालमा लेखेपछि विक्रमकी प्रेमिका (लिभिङ टुगेदरमा रहेकी) ले पनि सञ्जालमा लामो स्पष्टीकरण लेखेकी छन् । उनले स्पष्टीकरणमा आफूले विक्रमलाई बच्चालाई जसरी माया गरेर पालेको, आफू शोकमा रहेको र यहीवेला आफ्नो चरित्रहत्या हुँदा दुःख लागेको बताएकी छन् ।

त्यस दिन विक्रमले लुँडो खेल्दै लगातार रक्सी खाइरहेको उनले बताएकी छन् । उनले त्यस दिनको घटनाबारे लेखेकी छन्, ‘…. उसले आधा जम्बु रक्सी खायो, मैले नखाऊ न भनेर खोस्दा दिएन । अनि मुख छाड्न थाल्यो । अनि मैले एकदुई शब्द फर्काउँदा उसले मलाई बियरको बोतलले टाउकोमा हान्यो । म घोप्टिएँ, बोतल भुईंमा छरपस्ट भयो ।’

यसपछि विक्रमले आफैं ‘सरी’ माग्दै रुन थालेको उल्लेख गरेकी छन् । साथै विक्रम घमण्डी भएको, जाँड खाएपछि कराएको करायै गर्ने उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘ऊ घुर्दै निदाउँथ्यो, निदाओस् भनेर छाडिदिएँ । …. रातको ३ बजिसकेको थियो । …. बाहिरबाट स्कुटरलाई ल्याएर गेटभित्र राखेँ । ऊ सोफामा ठाडै सुतेको थियो, अब लडाएर सुताइदिन्छु भन्दा लुत्रुक्क भयो, केही बोलेन । म आत्तिएँ । छाती छामेँ, हातहरू सुमसुम्याएँ । अनि भुईंमा सोफाको कपडा ओछ्याएर काखमा राखेर बोलाएँ, पानी खुवाएँ, तर ऊ बोलेन… ।’

प्रकारान्तरले यसपछि ड्युटीमा रहेका प्रहरीहरू खाजाघरमा छिरेको, अनि विक्रमलाई अस्पताल लगेको, पुलिसले उपचार हुँदैछ भनेर बताएको अनि एक्कासि बिहान १० बजे संगीतकार शशि गुरुङले ‘पोस्टमार्टम गर्नुपर्छ बुहारी, अब साइन हान्नु’ भन्दा आफू चिच्याएको उल्लेख गरेकी छन् ।

उनले प्रश्न गरेकी छन्, ‘आउनुस्, सबै मिलेर भएको के रहेछ खोजौं । म चाहिँ कहाँको ठूलो मान्छे हो र त्यसरी शंका गर्न सक्नुभयो ? यतिका वर्ष भाइलाई के छ, के खान्छ भनेर एक दिन सोध्नुभएन । अनि अहिले फुडपोइजन हुनसक्छ भनेर अनुसन्धान भइरहँदा त्यसको रिपोर्टसमेत नकुरी किन मेरो चरित्रहत्या गर्नतिर लाग्नुभयो ?’

उनले थप दुःखेसो पोखेकी छन्, ‘विक्रम मेरो सबथोक थियो । र त हरेक दुःख सहिरहेकी थिएँ । सक्नुहुन्छ भने ती जाँडरक्सी खुवाउने ती साथीभाइहरूलाई आरोप लगाउनुस् । यदि मेरो ज्यान तलमाथि भयो भने…. । कृपया, मेरो चरित्रहत्या गर्न बन्द गर्नुस् ।’

जाहेरीमा अनुसन्धान गर्दै प्रहरी

विक्रम राईको मृत्युलाई लिएर सिंहदरबार प्रहरी वृत्तमा उजुरी परेको डीएसपी गंगा पौडेलले बताए । यस विषयमा आफूहरूले अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

उनले भने, ‘नाम किटान गरेरै चाहिँ जाहेरी परेको छैन । घटना शंकास्पद छ, अनुसन्धान गरिपाऊँ भनेर जाहेरी परेको छ । हामी अनुसन्धानको प्रक्रियामा छौं ।’

यता विक्रमको परिवार भने नाम किटान गरेरै जाहेरी दिने मनसायमा छ । विक्रमकी प्रेमिकाले पनि आफू अनुसन्धानमा सघाउन तयार रहेको बताइसकेकी छन् । उनले यदि आफू गलत देखिए सजाय भोग्न तयार रहेको, तर सामाजिक सञ्जालमा चरित्रहत्या नगर्न अनुरोध गरेकी छन् ।

आठ दाजुभाइमध्ये विक्रम कान्छा थिए । डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं गीत गाएका थिए । उत्तिकै संख्यामा संगीत पनि भरेका थिए । ‘जीवनसाथी तिमीलाई त मेरो कसम’ र ‘पुरानो हुँदैन माया’ जस्ता क्लासिकल गीतहरूको अफिसियल रिमेकहरूमा समेत स्वर भरेका थिए । उनी लामो समयदेखि प्रेमिकासँग बस्दै आएका थिए ।

Comments

2 responses to “संगीतकार राईको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीमा उजुरी, दाजु र प्रेमिकाबीच जुहारी”

  1. Kirat Nakara Avatar
    Kirat Nakara

    उनी त प्रथम नेपाल आइडल पनि हुन! किन लुकाइयो यो पहिचान चाहिँ!!

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    यही लेखलेनै अघिल्लो लेखमा बडो चरित्रवान, निर्भिक, पहिचानबादी, भनेर फुलबुट्टा गॅासेर लेखेको थियो त। अहिले फेरी जड्याहॅा, केटी कुट्ने चरित्र भएको मान्छे निस्केछ त!! देवत्वकरण गर्न हतारिनु भएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *