पीएम पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता- सोमबार त्रिभुवन आर्मी, सुदूरपश्चिम र पुलिस क्लब विजयी

रुपन्देही । त्रिभुवन आर्मी क्लब, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पीएम) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।

सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आर्मीले बागमती प्रदेशमाथि १ सय ३४ रनको फराकिलो जित निकालेको हो । पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६२ रनको बलियो योगफल बनायो ।

सन्तोष कार्कीले ७६, विनोद भण्डारी अविजित ४७, त्रितराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्ले २६ रन जोडे । बलिङमा बागमतीका रिजन ढकाल, प्रतिश जिसी र इशान पाण्डेले समान २–२ तथा सोनु देवकोटाले १ विकेट लिए ।

खराब ब्याटिङ प्रदर्शन गरेको बागमती २७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २८ रनमा नै समेटियो । पाँचौं क्रमका ब्याटर विवेक मगरले सर्वाधिक ५१ रन जोडे । यसबाहेक अन्य खेलाडीको प्रदर्शन फितलो रह्यो । इशान पाण्डेले १९ र आशुतोष घिरोहियाले १० रन बनाए ।

बलिङमा आर्मीका साहब आलमले ४ र आकाश चन्दले ३ विकेट हात पारे । यस्तै, सोमबार नै दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको छ ।

जितका लागि पाएको २ सय २१ रनको लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो । जसमा किरण ठगुन्नाले शतकीय पारी खेले । किरणले ९१ बलमा ७ चौका र ५ छक्कासहित अविजित १ सय २७ रन बनाए ।

नारायण जोशीले अविजित ३८, खडक बोहराले १९ र निश्चल कार्कीले १८ रन बनाए । गण्डकीका विपिन क्षेत्री, अमृत गुरुङ, कमल परियार र अर्जुन कुमालले १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनाएको थियो ।

ओपनर समिर कँडेल २ रनना आउट भए । यसपछि अर्जुन कुमाल र वंश क्षेत्रीले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । वंश १८ रनमा आउट भए । अर्जुनले अर्धशतकीय पारी खेले । साथै उनले दीपक डुम्रेसँग मिलेर तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे ।

दीपकले पनि अर्धशतक बनाए । दीपकले सर्वाधिक ६० र अर्जुनले ५७ रनको योगदान दिए । सुदिप अर्याल अविजित २३ रनना क्रिजमा रहे । बलिङमा शेर मल्लले १० ओभरमा १ मेर्डनसहित ३३ रन खर्चेर ३ तथा नारायण जोशीले २ विकेट लिए ।

यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८७ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४९ रन बनायो ।

पुलिका लागि कुशल भुर्तेलले ५९, आरिफ शेखले ५६, दीलिप नाथले ३४ र अमित श्रेष्ठले २२ रन बनाए । बलिङमा अजय चौहान र कृष्ण कार्कीले ३–३ विकेट लिए । जवाफी ब्याटिङ गरेको लुम्बिनी ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो । लुम्बिनीका प्रज्वल थापाले ७२ र मिर्नाल गुरुङले ३० रन बनाए पनि अन्य सात खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बलिङमा सागर ढकालले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । पुलिसको यो पहिलो जित हो भने लुम्बिनीको पहिलो हार हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *