पूर्वाधार विकासमा महिला इन्जिनियरको ‘पावर’

बुटवल । एसियास्तरका राजमार्ग, राष्ट्रिय गौरवका आयोजना, रणनीतिक सडक र पुल बनाउनेमध्येका केही महत्वपूर्ण कार्यालयमा प्रमुखका रुपमा महिला इन्जिनियर छन् । जसले सफल र उदाहरणीय नेतृत्व गरिरहेका छन् ।

नेपाली महिला इन्जिनियरहरूले विकास निर्माणमा देखाएको लगन, कठिनाइको सामना गर्ने क्षमता, समस्या समाधानका उपाय साथै नवीन प्रविधिको प्रयोगमार्फत राष्ट्रको समृद्धिमा उल्लेखनीय योगदान पुर्‍याइरहेका छन् ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवलकी प्रमुख सहसचिव इन्जिनियर निशा रिजाल, कालीगण्डकी करिडोर आयोजनाकी प्रमुख इन्जिनियर कल्पना अधिकारी, बुटवल-गोरुसिंगे सडक आयोजनाकी प्रमुख इन्जिनियर कुशलता न्यौपाने र बुटवल-नारायणघाट सडक विस्तार आयोजनाकी प्रमुख इन्जिनियर अनुक्षा घिमिरे जस्ता प्रतिभाशाली महिलाहरूले देशको भौतिक पूर्वाधार विकासलाई नयाँ उचाइमा पुर्‍याइरहेका छन् । चुनौतीपूर्ण परियोजनाहरूको सफल कार्यान्वयन गर्दै महिला इन्जिनियरहरूले नेपालमा महिला नेतृत्वको शक्ति र दक्षता प्रमाणित गरेका छन् ।

फिल्डमा महिलाको उपस्थिति बाक्लो हुँदै गएको छ, तर महत्वपूर्ण प्रोजेक्टको नेतृत्व र सफल कार्यान्वयन गर्ने तहमा पुगेका महिला कम छन् । तिनै कममध्येका ‘आइकन’ केही इन्जिनियर महिलामा पर्छन् निशा, कल्पना, कुशलता र अनुक्षा । उनीहरुले नेतृत्व गरिरहेका पूर्वाधार विकासका आयोजनाहरु मुलुकको मुहार फेर्नेमध्येका प्रमुख हुन् ।

यीमध्ये कल्पनाले नेतृत्व गरिरहेको आयोजना राष्ट्रिय गौरवको त्रिदेशीय सडकअन्तर्गतको अन्यभन्दा अलि बेसी चुनौती भएको आयोजना हो । यो आयोजनाको सफल कार्यान्वयनले भौतिक पूर्वाधारको क्षेत्रमा मुलुकको कायापलटमा महत्वपूर्ण आयाम थप्ने निश्चित छ ।

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयकी प्रमुख निशा

संघीय सरकारलाई लुम्बिनी प्रदेशका १२ जिल्लाका सबै पालिका र प्रदेश सरकारसँग जोड्ने संघ मातहतको महत्वपूर्ण कार्यालयका रुपमा रहेको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सक्रिय छ ।

बुटवलमा रहेको यस कार्यालयको प्रमुखमा सहसचिव इन्जिनियर निशा रिजाल छन् । रिजालको नेतृत्वमा यस कार्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लाको सडक, सडक पुल र झोलुंगे पुलका आयोजनाहरु अगाडि बढाइरहेको छ । चालू आवमा मात्रै तीन अर्बभन्दा धेरैका आयोजना चलिरहेका छन् ।

विसं.२०६४ सालमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराबाट इन्जिनियरिङ पास गरेकी निशाले केही समय विभिन्न संस्थामा प्राविधिकका रुपमा काम गर्दै अनुभव हासिल गरिन् । २०६७ भदौमा नेपाल खानेपानी संस्थानमा इन्जिनियरका रुपमा काम गरेको एक वर्षपछि २०६८ मा निजामती सेवामा प्रवेश गरिन् । उनीसँग राष्ट्रिय सतर्कता केन्द्रको प्राविधिक महाशाखा, विद्युत विकास विभागमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ ।

२०७३ सालमा उपसचिव र २०७९ मा प्राविधिक सहसचिवमा बढुवा भएका उनले विभिन्न आयोजनाको नेतृत्व गरिरहेकी छन् । यो पदमा रहेका इन्जिनियर महिलामध्ये लुम्बिनी प्रदेशमा उनीमात्रै हुन् ।

कालीगण्डकी करिडोर (गैंडाकोट-राम्दी-माल्ढुंगा खण्ड) की प्रमुख कल्पना

नेपालले दुई छिमेकी मुलुक भारत र चीनलाई जोड्दै कालीगण्डकी करिडोरका रुपमा त्रिदेशीय सडक निर्माण गरिरहेको छ । राष्ट्रिय गौरवको यो आयोजनाको महत्वपूर्ण खण्डको नेतृत्व गरिरहेकी कल्पना एक आइकन इन्जिनियर हुन् । विगत १४ वर्षदेखि सडक विभागमा इन्जिनियरका रुपमा काम गरिरहेकी कल्पनाले इमानदार र सक्षम राष्ट्रसेवकका रूपमा सेवाग्राहीको सिफारिसमा पुरस्कारसमेत पाएकी छन् ।

दुर्गममात्रै होइन, कठिन र चुनौती भएका आयोजनामा पनि महिलाले सफल नेतृत्व गर्नसक्छन् भन्ने उदाहरणका रूपमा कल्पनालाई नै लिइन्छ । कल्पनाको नेतृत्वमा कालीगण्डकी करिडोरको गैँडाकोट-राम्दी-मालढुंगा खण्डको विकासले तीव्रता पाइरहेको छ । दुर्गम क्षेत्रका सडकलाई मापदण्डअनुसार निर्माण गर्दै यातायात सहज बनाउन उनले महत्वपूर्ण योगदान पुर्‍याएकी छन् ।

उनी इन्जिनियर एसोसियसनको महिला वेलफेयर विभागकी प्रमुखसमेत हुन् । उनले महिला सशक्तीकरणका क्षेत्रमा, सामाजिक उत्तरदायित्वका क्षेत्रमा र खासगरी किशोरी लक्षित सफलताका प्रेरक प्रसंगका क्षेत्रमा समेत काम गर्दै आएकी छन् ।

पाल्पाको माथागढीमा जन्मिएकी कल्पनाले २०६४ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियर पास गरेकी थिइन् । २०६८ सालमा सोही विषयमा स्नातकोत्तर पास गरिन् र सोही वर्ष निजामती सेवामा प्रवेश गरिन् ।

सुरुमै उनी सडक विभागमा काम गर्न पुगिन् । त्यसपछि सडक सुधार तथा विस्तार आयोजनाअन्तर्गतको महत्वपूर्ण आयोजनामा कामु प्रमुखका रुपमा उनी दिपायलसम्म पुगिन् । दिपालयमा काम गरेपछि उनी अर्को प्रमुख आयोजना कालीगण्डकी करिडोरमा पुगिन् र त्यहाँ पनि उनी कामु प्रमुख बनिन् ।

२०७९ साल फागुनमा उनी सिनियर डिभिजिनल इन्जिनियरका रूपमा बढुवा भइन् । उनको कार्यशैली, चुनौतीको सम्बोधन र समस्याको समाधान क्षमता देखेर विभागमा उनलाई अब्बल दर्जामा राख्ने गरिन्छ । उनले पुष्पलाल मध्यपहाडी लोकमार्गमा आयोजना प्रमुख भएर काम गरिन् ।

सोही क्रममा २०७० सालतिर उनलाई कास्कीमा सडक विस्तारका क्रममा आक्रमणसम्मको प्रयास भयो । केही स्थानीयले हुलहुज्जत गरेर इन्जिनियरहरुमाथि आक्रमण प्रयास गरेका थिए । सडक क्षेत्राधिकारको क्षेत्र खाली गराएर सडक विस्तार गर्नुपर्ने केही कठिन काममध्ये त्यो पनि थियो । त्यहाँ उनीसहितका इन्जिनियरलाई प्रहरीले रेस्क्यु गरेर ल्याएको थियो । त्यहाँको सफल नेतृत्वले उनलाई फेरि कालीगण्डकी करिडोरमै आयोजना प्रमुख बनायो ।

हाल उनी कालीगण्डकी करिडोरको गैंडाकोट-राम्दी-मालढुंगा आयोजनाको प्रमुखका रुपमा छन् । यो विसं २०६५/०६६ मा सुरु भएको आयोजना हो । त्यसअघि परिकल्पना गर्दै त्यत्तिकै रोकिएको सडकलाई २०६७ सालमा आयोजना कार्यालय नै स्थापना गरेर राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको थियो ।

यस आयोजनाअन्तर्गत गैंडाकोटदेखि बाग्लुङको मालढुंगासम्म २४० किमि र कालीगण्डकीको पारि पर्वत खण्डमा कालीगण्डकी लोकमार्ग ५३ किमि गरी कुल २९३ किमि सडक पर्छ । यसको कुल बजेट २० अर्बभन्दा धेरै छ । चालू आवमा मात्रै करिब सवा अर्ब बराबरको काम भइरहेको छ ।

आर्थिक वर्ष २०७९/०८० मै सकिनुपर्ने आयोजना कोभिड महामारीलगायतका समस्याले अवरुद्ध भयो । पछि यस्ता आयोजनाहरुको अवधि रिभाइज गरियो । अब यो आयोजना आगामी आव २०८३/०८४ मा सकिनेगरी काम भइरहेको छ ।

बुटवल-गोरुसिङ्गे सडक खण्ड विस्तार आयोजनाकी प्रमुख कुशलता

एसियास्तरको राजमार्गका रुपमा विस्तार भइरहेको बुटवल-गोरुसिङ्गे सडक खण्ड यस क्षेत्रको महत्वपूर्ण आयोजना हो । यस आयोजनाको नेतृत्व युवा इन्जिनियर कुशलता न्यौपानेले गरिरहेकी छन् ।

इन्जिनियर कुशलताले बुटवल-गोरुसिंगे सडक आयोजनामा आफ्नो कुशल व्यवस्थापन र प्रविधिको प्रयोगमार्फत सडक निर्माण कार्यलाई तीव्रता दिएकी छन् । ठोस योजनासहितको उनको कार्यशैलीले निर्माण प्रक्रियालाई प्रभावकारी बनाइरहेको छ ।

मुलुकको मध्य खण्डमा रहेको ऐतिहासिक भूमि बुद्धावलीको बुद्ध जन्मस्थलको यो क्षेत्रमा एसियास्तरको रणनीतिक राजमार्गको प्रमुख खण्डको विस्तार आयोजनाको नेतृत्वमा छन् उनी । राजमार्ग निर्माण भएको ६२ वर्षपछि उनकै नेतृत्वमा यो प्रमुख खण्डको विस्तार सुरु भएको छ । यसको डिजाइन एसियास्तरका प्रमुख राजमार्गसरहको छ ।

अहिले ५० किमिको पहिलो खण्डमा धमाधम काम भइरहेको छ । यो यस्तो आयोजना हो, जहाँ वनले कुनै पनि आयोजनामा सबैभन्दा छिटो रुख कटानको स्वीकृति दिएको थियो । कुल १३ अर्ब ५५ करोड बजेट रहेको यस आयोजनाको चालू आवमै करिब ४ अर्ब बजेट विनियोजन भएको छ ।

२०७२ सालमा इन्जिनियरिङ पास गरेकी कुशलताले एक वर्षको अनुभवसँगै २०७३ मै निजामती सेवामा नाम निकालेकी थिइन् । सुरुमै उनले पुल महाशाखामा काम गरिन् । त्यहाँ रहँदा उनले मुलुकको सडक पुलहरुको अवस्था र त्यसका चुनौतीहरुका बारेमा पनि जान्ने मौका पाइन् ।

उनको तीक्ष्ण बुद्धि, काम गर्ने हुटहुटी, उत्साह र नेतृत्व क्षमता देखेर विभागले सीधै आयोजनामा पठाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको रुकुमपूर्वदेखि अछामसम्मको ४४० किमि सडकमा आयोजना प्रमुख भएर काम गरेकी उनी २०७९ सालमा सीडीईमा (उपसचिव) बढुवा भइन् । त्यसपछि उनी महत्वपूर्ण सडक आयोजनाको प्रमुखका रुपमा बुटवल आएकी छन् ।

बुटवल-नारायणघाट सडक विस्तार आयोजना (दाउन्ने पूर्व) प्रमुख अनुक्षा

पूर्व-पश्चिम राजमार्गको प्रमुख खण्डका रुपमा रहेको बुटवल-नारायणगढ सडक खण्डलाई एक्सप्रेस-वेका रूपमा अन्तर्राष्ट्रियस्तरको बनाइँदैछ । केही समय ढिलो भएको यस आयोजनाको काम अहिले धमाधम भइरहेको छ । यो महत्वपूर्ण आयोजनाको एउटा प्रमुख खण्डको नेतृत्व इन्जिनियर अनुक्षाले गरिरहेकी छन् ।

अनुक्षाको अगुवाइमा बुटवल-नारायणघाट सडक विस्तार आयोजनाले द्रुत गति लिएको छ । रणनीतिक योजनाको सफल कार्यान्वयन गर्दै उनले नेपालका मुख्य सडक पूर्वाधारलाई सुधार गर्न निर्णायक भूमिका निर्वाह गरिरहेकी छन् ।

२०७२ सालमा इन्जिनियरिङ पास गरेकी घिमिरेले लगत्तै २०७३ मै निजामती सेवामा प्रवेश गर्ने अवसर पाइन् । निजामतीमा प्रवेशसँगै उनले थप अध्ययनलाई पनि निरन्तरता दिइन् । २०७६ मा उनले ट्रान्सपोर्टेसन इन्जिनियरिङ विषयमा मास्टर्स पास गरिन् । उनको काममा थप निखारता आउनेगरी विषय नै मिल्यो ।

उनले केही समय डिभिजन सडक बाग्लुङ कार्यालयमा पनि काम गरिन् । केही समय उनी मध्यपहाडी पुष्पलाल लोकमार्गमा पनि काम गर्न पुगिन् । उपसचिवमा बढुवा भइसकेपछि उनले दुइटा प्रमुख आयोजनामा कार्यालय प्रमुख भएर काम गरिन् ।

बुटवल-नारायणगढ सडक विस्तार आयोजना (दाउन्नेपूर्व) को आयोजना प्रमुखका रुपमा करिब ५ महिनाअघि देखि कार्यरत इन्जिनियर घिमिरेले अहिले देखिनेगरी काम गराइरहेकी छन् । पूर्वपश्चिम राजमार्गको मध्य भागमा पर्ने राजमार्गको काम सक्न सरकारले पटकपटकको निर्देशन र खबरदारीले बेवास्ता गरेको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले अहिले सडक ‘पिच’ गर्ने कार्य तीब्र पारेको छ ।

राजमार्गको दाउन्नेपूर्व र पश्चिम गरी दुई खण्डमा निर्माण थालिएको ११४ किलोमिटर सडक चालू आर्थिक वर्षभित्र यात्रुलाई समस्या नहुने गरी दाउन्ने सेक्सनबाहेक ‘वान वे’ गरी काम गरिरहेको छ । तेस्रो पटक थप गरिएको समय सकिन अब ५ महिना बाँकी रहँदा पूर्वी र पश्चिम दुवै खण्डमा तीव्र रूपमा काम भइरहेको हो ।

एसियाली विकास बैंकको वित्तीय सहायतामा निर्माण भइरहेको देशको ‘लाइफलाइन’ सडक विसं.२०२० मा बनेर २०७५ देखि विस्तार थालिएको थियो । तीन वर्षभित्र काम सक्ने भनेर विसं.२०७५ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । योसहित राजमार्गहरुको विस्तार र सडक खण्डको सुधारको परिकल्पना र साकार पार्नेगरी स्रोत सुनिश्चित गर्ने काम भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *