हेटौँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशका ७५ वटा सहकारी संस्थालाई अनुसन्धान तथा कारबाहीको लागि केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) तथा प्रहरीलाई पत्राचार गरेको छ ।
बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पटक–पटक स्पष्टीकरण पेश गर्न पत्रचार गरेकोमा कार्यलय पनि बन्द गरि हिँडेका र संचालकहरुको मोबाइलमा सम्पर्क गर्दा समेत सम्पर्क हुन नसकेका ७५ सहकारी संस्थालाई अनुसन्धान तथा कारबाहीको लागि नेपाल प्रहरी तथा सीआईबीलाई पत्रचार गरिएको सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौँडाका सचिव रामप्रसाद लामिछानेले बताए ।
७५ वटा सहकारी मध्ये १३ वटा सहकारीलाई अनुसन्धान तथा कारबाहीको लागि सीआईबीमा पत्रचार गरिएको र बाँकीलाई प्रहरीमा पत्रचार गरिएको सचिव लामिछानेको भनाई छ ।
अनुसन्धान तथा कारबाहीको लागि पत्रचार गरिएको अधिकांश सहकारी संस्थाहरु काठमाडाैं उपत्यकाको रहेको र त्यसमध्ये पनि धेरै काठमाडाैंमा रहेको छ ।
बागमती प्रदेश सरकारले अहिलेसम्म सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि, नेशनल नमोवुद्ध बचत तथा ऋण सहकारी संस्था लि, लालिगुँरास बचत तथा ऋण सहकारी संस्था लि, दर्शन बचत तथा ऋण सहकारी संस्था लि र सिभिल बचत तथा ऋण सहकारी संस्था लिलाई समस्याग्रस्त सहकारीको रुपमा घोषणा गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यी पाँचवटा सहकारीबाट बचतकर्ताहरुले ४ अर्ब १९ करोड रुपैँया मागदाबी गरेका छन् ।
बागमती प्रदेश सरकारले सीआईबीको लागि पत्रचार गरेको १३ वटा सहकारीका १ हजार ४ सय ४३ जना बचतकर्ताले ६८ करोड ८३ लाख रुपैँया माग दाबीसहित निवेदन दिएका छन भने प्रहरीलाई पत्रचार गरिएको सहकारीका ४ हजार १ सय १२ जना उजुरीकर्ताले ३ अर्ब ३६ करोड ५९ लाख मागदाबी गरेका छन् ।
सुरुमा आफूहरुले सबै सहकारीको उजुरी सीआईबीमा बुझाउने भनेतापनि सीआईबीको आग्रहमा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी बुझाउने काम भएको मन्त्रालयले जनाएको छ । अहिले आएर जिल्ला तहको प्रहरीले पनि सहकारीको धेरै उजुरी आउन थालेपछि प्रहरी प्रधान कार्यालय मार्फत पठाउन सुझाव दिएको मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेले बताए ।
समस्याग्रस्तको सूचीमा राखेर मन्त्रालय आफैले पनि अनुसन्धान अघि बढाएको पाँच सहकारी मध्य हाल दुईवटा सर्वोच्च अदालत गएको कारण तीनवटाको विषयमा मात्र काम भइरहेको मन्त्रालयले जनाएको छ । सुमेरु तथा नेशनल नमोवुद्ध कानुनी प्रक्रियामा गइसकेको कारण आफूहरुले बाँकी तीनवटाको सवालमा मात्र काम गरिरहेको सचिव लामिछानेको भनाई रहेको छ ।
नेपालको सबैभन्दा धेरै बचत तथा ऋण सहकारी संस्थाहरु रहेको काठमाडाैं उपत्यका बागमती प्रदेशमा पर्ने भएको कारण पनि यो प्रदेशमा सहकारीको समस्या धेरै देखिएको सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले बताए ।
मन्त्रालयले सहकारी समस्याको लागि दिनरात काम गरेको र सकारत्मक सन्देशहरु आउन थालिसकेको उनले बताए । समस्याग्रस्त सहकारी व्यवस्थापन समिति मार्फत उजुरी लिने, अनुसन्धान प्रक्रिया अघि बढाउने काम जारी रहेको भन्दै मन्त्री श्रेष्ठले सहकारी समस्याको विषयमा प्रदेश सरकार निकै गम्भीर भएर लागिरहेको दाबी गरे ।

Leave a Reply