जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौँ: प्रधानमन्त्री ओली

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेको बताएका छन् ।

कर्णाली प्रदेशसभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपूर्व नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा समावेश गरिएको स्मरण गराउँदै संविधान संशोधन रहर वा लहडमा नभई राष्ट्रिय आवश्यकतालाई हेरेर गरिने विषय भएको उल्लेख गरे ।

उनले भने, ‘हामीले ल्याएको गणतन्त्रको व्यवस्थामा राष्ट्रिय स्वाभिमानको प्रबन्ध गरिएको छ । जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौँ । यस प्रणालीमा नागरिक सर्वोच्चता सबैभन्दा माथि हुन्छ । व्यवस्था र अवस्थामा परिवर्तनसँगै अब हामी विकासका सन्दर्भमा आधुनिक ढंगले अगाडि बढ्नुपर्छ । अहिलेको सरकारको ध्यान जनतालाई सूचना र प्रविधको सहायतामा सहज र सरल रूपमा सुविधा उत्पन्न होस् भन्नेमा छ । हामीले जनतालाई केन्द्रमा राखेर उत्पादन र उत्पादकत्व बढाउने हिसाबले जानुपर्छ । सातै प्रदेशसँगको संवाद र छलफलका आधारमा आगामी बजेटमा उचित सम्बोधन गरिनेछ ।’

प्रधानमन्त्री ओलीले ठूला दुई दल र अन्य सहयोगी दलको समर्थनमा संसदमा लगभग दुई तिहाइको जनमत रहेकाले आफूहरु समझदारीका साथ देशको समृद्धिका लागि काम गर्न तत्पर भएर सहकार्यमा जुटेकाले आगामी निर्वाचनसम्म यो सहयात्रा नटुट्ने उद्घोष गरे ।

उनले भने, ‘तपाईँहरु ढुक्क रहनुहोला, यो सरकार भिजनसहितको स्थिर सरकार हो । यही बाटोमा यो सरकार अघि बढ्छ ।’

विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको उनले स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर गरेकाले यसको रक्षा, कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताए ।

उनले कर्णाली आफ्नो हिसाबले विकासको सुन्दर सम्भावना बोकेको प्रदेश भएकाले यहाँका माथिल्लो कर्णाली, स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली करिडोर, राकम कर्णाली, भेरी बबई, दैलेखको पेट्रोल खानी आदि आयोजना निर्माण, विस्तार सञ्चालनका क्रममा रहेको अवगत गराउँदै स्रोत सुनिश्चितताविना नयाँ आयोजना बनाउने बेथितिमा सुधार ल्याइएको जनाए ।

कुनै आरोप प्रत्यारोपमा नलागी तीनै तहका सरकारको सहकार्यमा देशको विकास र समृद्धिका लागि जुट्न आह्वन गर्दै प्रधानमन्त्री ओलीले नयाँ कार्ययोजनाभन्दा थालिसकेका काम पूरा गर्ने आफ्नो संकल्प रहेको जनाए ।

प्रधानमन्त्री ओलीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई पूराका पूरा सहयोग गर्ने सोचका साथ काम गरिरहेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा असभ्यता प्रदर्शन गरेर नेपालीको सभ्यता र संस्कृतिलाई मास्ने प्रवृत्तिले जनताका बीचमा फाटो ल्याउने भएकाले तिनीहरुको अस्थिरताको प्रयास सफल नहुने स्पष्ट गरे ।

Comments

4 responses to “जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौँ: प्रधानमन्त्री ओली”

  1. bharat kumar thapa Avatar

    हामी स्वतन्त्र नागरिक हौ अव बन्दैनौ रैती जनताको छोराछोरी राष्ट्रपति हुने व्यवस्था अब्बल हो

    1. Mania Thompson Avatar
      Mania Thompson

      उखानेको लँगौटि

  2. Raj Avatar
    Raj

    छोटे दललाई प्रधानमन्त्री पद दिनु हुंदैन। जनताले नपत्याएका दल हुन्। पहिलो र दोस्रो हुने दलले प्रधानमन्त्री पद पाउनु पर्छ। जनादेश तेहि हो। अस्थिर सरकार बनाउने छुट कसैलाई छैन।

    1. Mania Thompson Avatar
      Mania Thompson

      दलहरुको झोले र🥄

Leave a Reply

Your email address will not be published. Required fields are marked *