काठमाडौं । रास्वपाका नेता शिशिर खनालले पार्टी सभापति रवि लामिछाने सबै जनतामाझ पुग्ने गरी राष्ट्रव्यापी अभियानका साथमा सक्रिय राजनीतिमा फर्किने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सभापति लामिछानेको आत्मविश्वास नघटेको बताए ।
उनले भने, ‘रवि लामिछानेले हिरासतमा बस्दा पनि आत्मविश्वास गुमाउनुभएको छैन । अब आउँदा पनि एउटा राष्ट्रव्यापी अभियानका साथमा जनतामाझ पुग्ने गरी आउँदै हुनुहुन्छ ।’
सांसद खनालले सभापति लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको कुरा स्थापित भइसकेको बताए ।
उनले थपे, ‘आजको दिनमा आइपुग्दा उहाँमाथि राजनीतिक प्रतिशोध हो भन्ने कुरा स्थापित भइसकेको छ । आमजनताले बुझिसक्नु भएको छ । त्यसैले अब उहाँले त्यसमा धेरै मेहनत गरिराख्नुपर्ने छैन । तैपनि उहाँ आए पनि आफ्नो कुरा राखिहाल्नुहुन्छ । उहाँ नेपाल र नेपाली जनताको आशाको केन्द्रको रूपमा रहनुभएको छ, देशलाई अगाडि बढाउन रास्वपालाई प्रमुख लोकतान्त्रिक पार्टीको रूपमा स्थापित गर्ने गरी आउनुहुन्छ ।’

Leave a Reply