काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजिन लिग आइतबार सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने प्रतियोगिता सिंगल राउन्ड रोविनका आधारमा हुनेछ । प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कुल ९१ खेल हुनेछन् ।
प्रतियोगितामा देशभरका १४ क्लबले सहभागिता जनाएका छन् । सहभागी हुने टोलीमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, व्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ बस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ व्वाइज युनाइटेड छन् ।
एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
प्रतिगोगिताको टिकट दशरथ रंगशालामा सामान्यतर्फ १००, भीआईपीतर्फ ३०० र एन्फा कम्प्लेक्स सातदोबाटोमा सामान्य १०० कायम गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० रुपैयाँ पाउनेछन् । तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । फेयर प्ले टीम र सर्वोत्कृष्ट खेलाडीलाई समान एक लाख प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५० हजार पाउनेछन् ।
प्लेयर अफ द म्याचले ७ हजार ५०० र प्रत्येक खेलको विजेता हुने टोलीले २५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको कुल बजेट ३ करोड ९३ लाख एक हजार ८१३ रुपैयाँ छ ।

Leave a Reply