दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकपको उपाधि मछिन्द्रलाई

रुपन्देही । दोस्रो मुख्यमन्त्री कपिलवस्तु (तिलौराकोट) गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब, काठमाडौंले जितेको छ ।

बिहीबार सम्पन्न भएको फाइनलमा मच्छिन्द्रले थ्रीस्टार क्लब, ललितपुरलाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो ।

मच्छिन्द्रको जितमा देवेन्द्र तामाङले निर्णायक गोल गर्दै मच्छिन्द्रलाई विजयी बनाएका थिए । उनले खेलको ६२ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई उपाधिको नजिक पुर्‍याएका थिए ।

विजेता मच्छिन्द्र फुटबल क्लबलाई नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित उपाधि प्राप्त भयो। उपविजेता थ्रीस्टार क्लबलाई ५,लाख ५५ हजार ५५५ रुपैयाँ नगद र ट्रफी, मेडलसहित सम्मानित गरियो ।

प्रतियोगितामा विशेष पुरस्कारहरू पनि वितरण गरिएको थियो । जय अन्तर्गत उत्कृष्ट गोलरक्षकको पुरस्कार मच्छिन्द्रका सन्तोष महतलाई, उत्कृष्ट डिफेन्डरको पुरस्कार मच्छिन्द्रका सिमोन डेनियललाई, उत्कृष्ट मिडफिल्डरको पुरस्कार मच्छिन्द्रका अनिल खड्कालाई र उत्कृष्ट फरवार्डको पुरस्कार थ्रीस्टारका आशिष गुरुङलाई प्रदान गरियो। यी उत्कृष्ट खेलाडीहरूलाई जनही ३० हजार रुपैयाँ र ट्रफी पुरस्कारका रूपमा प्रदान गरियो।

कपिलवस्तु गोल्डकपको सर्वश्रेष्ठ खेलाडीको सम्मान मच्छिन्द्रका सौरभ सुब्बाले जिते। उनले आफ्नो उत्कृष्ट प्रदर्शनको उपाधि नगद ५०,००० रुपैयाँ र ट्रफी प्राप्त गरेका थिए ।

थ्रीस्टार क्लबका प्रशिक्षक गंगाराम देउजालाई उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्रदान गरियो।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भएको यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको रहे पनि नेपालका प्रमुख फुटबल क्लबहरू सहभागी थिए। प्रतियोगिताले नेपालको फुटबल विकासमा योगदान पुर्‍याउने मात्र होइन, देशका उत्कृष्ट क्लबहरूको सहभागिता र प्रतिस्पर्धाले स्थानीय खेलाडीहरूलाई थप प्रेरणा दिएको थियो ।

कपिलवस्तु गोल्डकपको सफल आयोजनाले आगामी वर्षहरूको लागि नेपाली फुटबलको स्तर अझ उच्च बनाउने अपेक्षा गरिएको प्रदेश सांसद विष्णु पन्थीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *