अस्मिता र महेशको मेहेन्दी-हल्दीमा यस्तो धुमधाम, भोलि बिहे

काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले भोलि लगनगाँठो कस्न लागेका हुन् । यो जोडीको हिजो मंगलबार मेहेन्दी समारोह भएको छ । दुवैले आफ्नो मेहेन्दी समारोहको तस्विरहरु सामाजिक सञ्जालमा साझा गरेका छन् ।

गत महिना कन्सर्टको सिलसिलामा यूएईको दुबई पुगेका बेला यी दुईले त्यही इन्गेजमेन्ट गरेका थिए । संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेको तस्विर सामाजिक सञ्जालमा साझा गर्दै उनीहरूले गायनसँगै जीवनको सहयात्रा सुरू गरेको जानकारी दिएका थिए ।

नेपाल आइडलबाट गायन सुरू गरेकी अस्मिताका थुप्रै गीत हिट छन् । रेकर्डिङदेखि स्टेज कार्यक्रमसम्म उनको लोभलाग्दो माग छ ।

महेश काफ्लेले पनि थुप्रै गीत ल्याइसकेका छन् । उनले सानो उमेरमै गाएको ‘सौतेनी आमा’ बोलको गीत चर्चित भएको थियो । उनी पनि स्टेज कार्यक्रमका लागि खोजिने गायकमा पर्छन् । यी दुईले केही गीतमा सहकार्यसमेत गरेका छन् ।

अस्मिता र महेशले झण्डै चार वर्षअघि ‘लज्जावती झार’ गीतबाट सांगीतिक सहकार्य गरेका थिए । त्यसपछि अन्य केही गीतमा यी दुईले सहकार्य गरिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *