रुपन्देही । नेपाली कांग्रेसले देशभरका प्रतिनिधि सभाअन्र्तगत क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुलाई रुपन्देहीको भैरहवामा दिइएको २ दिने प्रशिक्षण तथा अभिमुखीकरणमा सरकारको प्रभावकारिता र पार्टीको रणनीतिबारे मुख्य चासो रह्यो । दुई दिने प्रशिक्षणमा सहभागीहरुले नयाँ ऊर्जाको सञ्चार गरेको प्रतिक्रिया दिएका छन् ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका अधिकांश शीर्ष नेताहरु, अधिकांश केन्द्रीय सदस्यहरु तथा प्रतिनिधिसभा अन्तर्गतका १३० जना क्षेत्रीय सभापति सोही संख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरु तथा एक वटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेश सभा अन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी ३ सय ३० जनाको सहभागिता रहेको थियो ।
कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरेको यो कार्यक्रममा वातावरणीय संरक्षणमा पनि योगदान गर्ने उद्देश्यले माला र खादाको प्रयोग गरिएको थिएन भने ब्याच वितरण पनि गरिएन ।
प्रशिक्षणमा पार्टीसंग जोडिएका बिषयहरु, पार्टीका महत्वपूर्ण कामहरु, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधारका कामहरु, मुलुकको संविधान, संघीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी संगठनसंग जोडिएका विषयहरु र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रहरुसंग जोडिएका अन्र्तसम्वन्धका विषयबारे मुख्य प्रस्तुती नेताहरुको थियो । समूहगत रुपमा विभाजित भएका नेताहरुले सोही अनुसार बसाईको प्रबन्ध गरेका थिए ।
समसामायिक विषय वस्तुहरुसंग जोडिएका गरि विभिन्न ६ वटा विषयमा प्रस्तुतीकरण गरी छलफल गरिएको र यसलाई ७ वटा समूह विभाजन गरी सहभागीहरुले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्याका विषयमा छलफल गरेर सुझाव प्रदान गरेका छन् ।
उनीहरुले सरकार सञ्चालनमा विषयमा पनि कुराहरु उठाएका छन् । छलफलका सहभागी भएका कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले पार्टी सरकारका काम कारबाहीबारे सन्तोष नभएको जनाए । उनले दुई दलबीच भएका सहमतिअनुसार सरकारले नतिजा दिन नसकेको बताएका थिए ।

कार्यक्रमको पहिलो दिन सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशनसहितको धारणा राखे भने प्रतिष्ठानका संयोजक रहेका नेता पूर्णबहादुर खड्काले यसको उद्देश्यबारे प्रकाश पारेका थिए । महामन्त्री गगन थापाले क्षेत्रीय कार्यसमितिहरुको काम कर्तव्य र अधिकारसहित पार्टीका संरचनाबारे सहजीकरण गरेका थिए भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले संगठन र समुन्नतीका लागि समय, संयम, सम्प्रेषण र सहकार्य तथा डा.जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवादः नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यासको बिषयमा सहजीकरण गरेका थिए ।
महामन्त्री थापाले पार्टी संगठन, सदस्यता अभियान, केन्द्र र प्रदेशबीचको अन्तरसम्बन्धका विषयमा प्रशिक्षण दिँदै पार्टीलाई थप बलियो र सशक्त बनाउन संगठन विस्तारसहित सदस्यता नविकरणमा खटिन सबैलाई आग्रह गरे । त्यस्तै, अर्का महामन्त्री शर्माले वर्तमान सन्दर्भमा समसामयिक मुद्वाहरुका विषयमा प्रशिक्षण दिँदै कांग्रेसले गरेका राम्रा काम, सरकारमा सहभागी मन्त्रीहरुले गरेका राम्रा कामका विषयमा नागरिकमाझ लैजान नसकिएको बताए ।
कांग्रेसले गरेका काम मात्रै पनि नागरिकस्तरमा पुर्याउन सके पार्टीप्रति नागरिकको आशा र भरोसा बढ्दै जाने र निर्वाचनमा पार्टीलाई ठुलो सहयोग पुग्ने उनको तर्क छ । प्रतिष्ठानका निर्देशक डा.जगदीशचन्द्र पोखरेलले लोकतान्त्रिक समाजवाद, कांग्रेसका आर्थिक नीति र अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पार्टी सभापति देउवासहित पार्टी पदाधिकारी, पूर्व पदाधिकारी, सरकारमा सहभागी मन्त्रीको सहभागितामा भएको कार्यक्रममा पार्टीको नीति, संगठन, सदस्यता अभियान, समसामयिक मुद्वासहित आर्थिक, सामाजिक र राजनीतिक विषयसहित पार्टीको आगामी यात्राका विषयमा प्रशिक्षण दिइएकाले पनि धेरै सहभागीले यसलाई राम्रो भएको बताएका छन् ।
प्रतिष्ठानका सदस्य विश्वदीप लामिछानेले कांग्रेसको संगठन विस्तारमा प्रविधिको प्रयोग र प्रभावका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । पछिल्लो समय नेपाली कांग्रेसले प्रविधिलाई पछ्याउदै आएको उल्लेख गर्दै सदस्य लामिछानेले यसको प्रयोग प्रशिक्षण कार्यक्रममा पनि गरिएको बताए । कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले नेपालमा संघीयता कार्यान्वयनको अवस्था र कांग्रेसको दायित्वका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै, प्रतिष्ठानका अर्का सदस्य डा. कृष्णप्रसाद पौडेलले कांग्रेसको नेतृत्वमा भएका आर्थिक, सामाजिक विकास तथा तहगत संगठनका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

मंगलबार समुह विभाजन गरी सोमबार प्रस्तुत गरिएका विषयहरु सम्बन्धमा छलफल गरी प्रतिवदेन तयार पारियो भने क्षेत्रीय पार्टी संगठन एवं प्रशिक्षणसँग सम्बन्धित समस्यालगायतका विषयमा छलफल तथा समाधानसहितको सुझाव प्रतिवेदन तयार पारिएको कांग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्ण बहादुर खड्काले जानकारी दिएका छन् ।
प्रशिक्षणमा सहभागी उदयपुरका केसबहादुर मगरले प्रशिक्षण कार्यक्रमले आफूहरुलाई बल्ल नेता बनाएको जनाएका छन् । ‘देशको नेता बन्न पहिला आफूबाट सुध्रिनुपर्छ, आफू जुन पार्टीमा उभिएको छ सबैभन्दा पहिला त्यसको नीति र बिधि मानेर अनुशासित भएर हिडियो भने मात्र अनुकरणीय हुन्छ ।” मगरले भने “कार्यक्रमले हाम्रो इच्छाशक्ति बढाएको छ, यसले हाम्रो जिल्ला र क्षेत्रमा गएर पार्टीका नीति र विधानअनुसार आफू संयमित भएर फेरि उठ्न सक्छौ भन्ने विश्वास जागेको छ ।’
यस्तै नुवाकोट क्षेत्र नम्बर १ का रामजी पौडेलले २ दिने कार्यक्रम अत्यन्तै उपलब्धिमूलक भएको जनाएका छन् । ‘पार्टी सञ्चालनको सम्बन्धमा हामीले गर्नुपर्ने दैनिक कामदेखि लिएर नयाँ आएको परिस्थिति, प्रविधिको प्रयोगदेखि लिएर राष्ट्रिय राजनीतिक मुद्दाहरुलाई जनस्तरका कसरी लैजान सक्छौं भन्ने सिकाई भएको छ’, उनले भने, ‘पार्टी संयन्त्रलाई त्यसमा कसरी व्यस्थित रुपमा परिचालित गर्नसक्छौं भन्ने विषयमा धेरै ज्ञान पाइयो ।’
रुपन्देही क्षेत्र नं २ का सभापति प्रजापाल गिरीले दुई दिने कार्यक्रममा पार्टीको ऐतिहासिक पक्षको उजागर तथा आगामी रणनीतिका विषयमा छलफल भएको बताए । ‘पार्टीको स्थानीय तहका संरचनालाई कसरी चलायमान र प्रशिक्षित बनाउने, कसरी बलियो र अनुशासित बनाउने, भन्ने विषयमा अभिमुखीकृत भयौं’, उनले भने ।
सहभागीका विषयलाई कांग्रेसका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले जवाफ दिएका थिए ।
सहभागीहरुले उठाएको सवालमा जवाफ दिदै परराष्ट्र मन्त्री आरजु राणा देउवाले अहिले बढ्दै गएको निराशा हटाउने दायित्व आफूहरुको भएको भन्दै विदेशमा जाने युवाहरुलाई ज्ञान दिएर पठाउनुपर्ने र उता भएकाहरुलाई पनि यता फर्काएर लगानीको वातावरण बनाउनुपर्ने बताएकी थिइन् ।
‘हामीले नगरे कसले गर्छ, हामीले नेतृत्व गर्छौ र अगाडि बढाउँछौं, हाम्रो पार्टीभित्रको कुराहरु हामीले नै सुधार गर्नुपर्छ, समस्याको समाधान गर्ने हामीले हो, अहिले बढेको निराशा हटाएर जानुपर्छ’, राणाले भनिन् ।
नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार गठनको बाध्यतालाई बुझेर सबैको समन्वयमा काम गरिरहेका बताए । उनले अहिले सबै क्षेत्रमा देखिएको निराशालाई चिर्दै सरकारले बिस्तारै लयमा फर्काइरहेको उनले बताए ।
‘सरकारले गरेका राम्रो काम, पार्टीको कमाण्डमा भएका मन्त्रालयमा भएका राम्रा काम जनतासँग लैजानुपर्ने छ, अब धेरै काम भइरहेको छ, त्यो जनतालाई बुझाउनुपर्यो’ उनले भने, ‘कांग्रेस मात्रको सरकार नभएको कारण हामीले भनेको सबै हुनैपर्छ भन्ने मानसिकता राख्नुहुँदैन, कहि कांग्रेसले मान्नुपर्छ कहि एमालेले मान्नुपर्छ, यसैगरी मिलाएर लैजानुपर्छ ।’
यसैगरी गृहमन्त्री रमेश लेखकले मुलुकमा दिगो शान्तिको स्थापना, विकासको गति अगाडि बढाउँदै सुशासन कायम गर्ने र आर्थिक समृद्धिका साथ अगाडि बढाउने उद्देश्यका साथ नेकपा एमाले र कांग्रेसलगायत अन्य दलको गठबन्धन बनेको बताए ।
‘यो एक विशिष्ट अवस्था भएकोले यो सरकारलाई नेपाली कांग्रेसका तर्फबाट समस्या उत्पन्न भयो र हामी ठिक ठाउँमा पुग्न सकेनौ भने यसको दोष नेपाली कांग्रेसले लिनुपर्छ’, लेखकले भने, ‘मुलुकमा अस्थिरता हुने दोष नेपाली कांग्रेसले बोक्नुपर्ने हुनाले इमान्दारीपूर्वक गठबन्धनलाई साथ लिन जरुरी छ ।’
उनले व्यवसायिक वातावरण निर्वाह गर्न र दैनिक नागरिकका सेवाहरुलाई सरल ढङ्गले सुचारु गर्नको लागि केही अध्यादेशहरु ल्याएको सहभागीहरुलाई जानकारी गराए ।
‘मेरो प्राथमिकता भनेको अहिलेलाई सबैभन्दा पहिला कानुनी जटिलताको सुधार, मुलुकको आन्तरिक सुरक्षा र शान्तिको स्थितिलाई सुनिश्चित गर्नु हो’, गृहमन्त्रीले भने, ‘त्यस अर्थमा यता केही महिनामा नेपाल प्रहरी ऐन, सशस्त्र प्रहरी ऐन, नागरिकता सम्बन्धि विधेयक पेश भएको छ । यी विधेयकहरुलाई तत्काल संसदमा लैजाने हाम्रो प्रयास छ ।’
यो कार्यक्रम सकिएसँगै मंगलबार नै देशैभरका कांग्रेस नेताहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् । कांग्रेस सहमहामन्त्री जीवन परियारले यस खालको कार्यक्रमले केन्द्रीय नेता र जिल्ला तहका नेताहरुबीच समन्वय बढेको र थप रणनीति तयार गर्न सहज भएको बताए ।

Leave a Reply