काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेट गरेका छन् ।
अलैँची व्यवसायमा देखिएका समस्या समाधानका लागि मन्त्रालयमा आएर मन्त्रीसँग भेटेका हुन् ।
महासंघका अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले व्यवसायका विभिन्न नीतिगत र व्यवहारिक समस्याबारे जानकारी गराउँदै सरकारको सक्रिय पहल आवश्यक रहेको उल्लेख गरेको छ ।
उद्योग वाणिज्य मन्त्री भण्डारीले नेपालमै अलैँचीको खपत बढाउने नीति ल्याउने र निर्यातका क्रममा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले विशेष रूपमा ल्याब परीक्षण प्रक्रियामा देखिएको जटिलता हटाउने, व्यवसाय मैत्री नीति अवलम्बन गर्ने तथा अलैँची बिक्रीका लागि आवश्यक अनुमति प्रक्रिया सहज बनाउने विषयमा पहल गर्ने आश्वासन दिए ।
अलैँची उत्पादन पछिल्ला वर्षहरूमा घट्दै गएको भन्दै मन्त्री अधिकारीसँग बताएका छन् । पछिल्ला दुई वर्षमा क्रमशः ५० प्रतिशत र २० प्रतिशतले उत्पादन घटेको तथ्याङ्क प्रस्तुत गर्दै महासंघले उत्पादन वृद्धिका लागि प्रभावकारी रणनीति आवश्यक रहेको बताएको छ ।
मन्त्री अधिकारीले उत्पादन वृद्धिका लागि प्रविधि हस्तान्तरण, किसानलाई आवश्यक सहयोग, टिस्यु कल्चर प्रविधिको प्रवद्र्धन र सिँचाइ सुविधाको लागि सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनएका छन् ।
अलैँची व्यवसायीहरूले बिमा सहज नहुँदा थप समस्या भोग्नु परेको भन्दै महासंघले बीमा प्रक्रिया सरल बनाउन माग गरेको छ । हाल केही बीमा कम्पनीहरु अलैँची खेतीको बीमा गर्न अनिच्छुक रहेको उल्लेख गर्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको थियो ।
करिब १ लाख २५ हजार किसान अलैँची खेतीमा संलग्न छन् । जसबाट वार्षिक ५ देखि ८ अर्ब रुपैयाँसम्म वैदेशिक मुद्रा आर्जन भइरहेको छ ।
सरकारका दुई मन्त्रीसँग भएको छलफल सकारात्मक रहेको महासंघको निष्कर्ष छ । महासंघले अघि सारेका मागहरू पूरा हुने अपेक्षा गर्दै आगामी दिनमा ठोस कार्यान्वयनका लागि निरन्तर दबाब दिने जनाएको छ ।

Leave a Reply