नेपाल टेलिकमकाे ‘ब्रान्ड एम्बेसडर’ बनिन् स्वस्तिमा

काठमाडौं । नेपाल टेलिकमले चलचित्रकर्मी स्वस्तिमा खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा  आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै कलाकार स्वस्तिमा खड्काले हस्ताक्षर गरिन् । सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रवर्द्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीसँग आबद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरे ।

कार्यक्रममा ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्काले नेपाल टेलिकम जस्तो गरिमामय एवम् सुपरिचित संस्थासँग आबद्ध हुन पाउँदा खुशी व्यक्त गरिन् । उनले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

यस सम्झौतापछि ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाहरुको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नेछ । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्था समेत सम्झौतापत्रमा उल्लेख रहेको छ ।

नेपालको कलाकारिता क्षेत्रमा सफल तथा लोकप्रिय अभिनेत्रीको पहिचान बनाउन सफल ब्रान्ड एम्बेसडरको संलग्नताबाट ग्राहकवर्गलाई कम्पनीका सेवा सुविधा सम्बन्धमा सहज रुपले जानकारी प्रदान गर्न सकिने र आफ्ना सेवाहरुको प्रवर्द्धन मार्फत सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *