२०६२/६३ को १९ दिने जनआन्दोलनपछि संसद् पुन:स्थापना भयो । लगत्तै नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो । सरकारमा म गृहमन्त्री, एमालेका नेता केपी शर्मा ओली उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुनुभयो ।
पुन:स्थापित संसद्मा साविकका सबै दलको सहभागिता थियो । दलबीच गिरिजा बाबुलाई नै प्रधानमन्त्री बनाउने सहमति भयो । संसद्मा रहेका सबै दल सरकारमा सहभागी हुने भए । सोही क्रममा एमालेबाट ओलीको नेतृत्वमा मन्त्रीहरू सहभागी थिए ।
नेपालले अख्तियार गरेको ‘वेस्ट मिनिस्टरियल’ प्रणाली हो जसमा प्रधानमन्त्री कार्यकारी हुन्छ । यो विषय ओलीले बुझ्नुभएको थियो । उहाँले प्रधानमन्त्री कोइरालाको हरेक कदममा साथ दिनुभयो । द्वन्द्वरत माओवादीले हतियार बिसाएका थिए । तर, वृहत् शान्ति सम्झौता भइसकेको थिएन । त्यसो हुँदा त्यस बेलाको मुख्य जिम्मेवारी माओवादीलाई शान्ति वार्तामा ल्याउने र १० वर्षदेखि विद्यमान गृहयुद्ध सधैँका लागि अन्त्य गर्ने थियो ।
सरकारले वार्ता टोली गठन गर्यो । टोलीको संयोजक म आफैँ थिएँ । त्यसमा तत्कालीन उपप्रधानमन्त्री ओलीको सधैँ सकारात्मक भूमिका रह्यो । मन्त्रिपरिषद्मा उहाँले एमालेको नेतृत्व गर्नुभएको थियो । पार्टी फरक भए पनि उहाँले प्रधानमन्त्री कोइरालालाई असहयोग गरेको मैले कहिल्यै पाइनँ ।
उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको हैसितमा उहाँ करिब ९ महिना सरकारमा रहनुभयो । मेरा बुझाइमा उहाँ असल कूटनीतिक नेता हो । नेपालको सम्बन्ध बाह्य मुलुकमा सुदृढीकरण गर्ने सन्दर्भमा क्षमता भएको नेता मध्येमा पर्नुहुन्छ, ओली ।
प्रधानमन्त्रीका हरेक कदममा ओलीको बलियो साथ रह्यो । सरकारको स्वरूप ‘कोलिसन’को थियो जसको मर्मलाई ओलीले बुझ्नुभएको थियो । ओली सक्षम हुनुहुन्थ्यो, अनि इमानदार पनि ।
०६२/६३ को आन्दोलनपूर्व तत्कालीन सात राजनीतिक दल र द्वन्द्वरत माओवादीबीच १२ बुँदे सहमति भयो । यही पृष्ठभूमिमा जनआन्दोलन भयो । आन्दोलन सफल भयो । संसद् पुन:स्थापनालगत्तै तत्कालीन राजा ज्ञानेन्द्रको वक्तव्य आयो । त्यो दलबबीच भएको सहमतिकै आधारमा आएको हो । किनभने राजा ज्ञानेन्द्रबाट २०६३ वैशाख ८ गते वक्तव्य जारी भएको थियो । तर, आन्दोलनरत दलले त्यसलाई मानेनन् । त्यसको तीन दिनपछि अर्थात् ११ वैशाख ०६३ मा अर्को वक्तव्य आयो । वक्तव्यमा आन्दोलनलाई पूर्ण तवरले सम्मान गरिएको थियो । त्यसलाई मात्रै दलले स्वीकार गरेको हो ।
वास्तवमा राजा ज्ञानेन्द्रको त्यही वक्तव्य गणतन्त्रमा जाने कोर्स थियो । संसद् पुन:स्थापनालगत्तै बसेको संसद्को पहिलो बैठकले राजारानीको फोटो हटाउने निर्णय गर्यो । नीति कार्यक्रम पढ्न जाँदा बस्ने कुर्सी संसद्मा सधैँ रहने गर्थ्यो । त्यसलाई हटाउने निर्णय भयो ।
त्यसो हुँदा गणतन्त्रको प्रारम्भिक दिनदेखि नै एमालेको सकारात्मक भूमिका रह्यो । गणतन्त्रको नयाँ कोर्समा हामी भर्खर मात्रै गएका थियौँ । यसको संस्थागत विकासका लागि प्रधानमन्त्रीलाई सघाउनु महत्त्वपूर्ण कार्य थियो । माओवादीलाई वार्तामा ल्याउनुपर्ने थियो । त्यसका लागि विश्वासको वातावरण निर्माण गर्नुपर्ने चुनौती थियो । यी सबै कदममा ओलीले महत्त्वपूर्ण भूमिका खेल्नुभयो । प्रधानमन्त्री कोइरालाका लागि सधैँ सहयोगी रहनुभयो । त्यसो हुँदा ओली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सबभन्दा मनपरेको नेता हुनुहुन्थ्यो ।
२०६३ मङ्सिर ५ गते सरकार र माओवादीबीच बृहत् शान्ति सम्झौता भयो । त्यसैको जगमा मुलुकमा अन्तरिम संविधान जारी भयो । द्वन्द्वरत माओवादी संसद्भित्र आइपुगे । मुलुकमा दीर्घकालीन शान्ति स्थापनाको खातिर खेलिएको त्यो वास्तवमै जोखिमपूर्ण खेल थियो ।
२०६३ जेठ ४ मा नै संसद् जनताको सर्वभौम संस्था रहेको निर्णय लिइसकेको थियो । त्यसो हुँदा संसद्ले स्वतन्त्रतापूर्वक जनताको हितमा निर्णय लिन सक्थ्यो । त्यस बेलाको संसद्ले मुलुकको संविधान समेत आफैँ बनाउन सक्थ्यो । मुलुकको राजनीतिक कोर्स परिवतर्नको सन्दर्भमा त्यो अति नै महत्त्वपूर्ण निर्णय थियो । माओवादी त्यस बेलासम्म पनि वार्तामा आइसकेका थिएन ।
कम्युनिस्ट र कांग्रेसको पृष्ठभूमि अलग छ । सिद्धान्त फरक छन् । हामीबीच मूल्य मान्यता मिल्दैनन् । हामीले तय गरेको गन्तव्य पनि भिन्न नै छन् । हामीबीच केही साझा दृष्टिकोण पनि छन् जसलाई हामीले संविधानमार्फत अभिव्यक्त गरेका छौँ । संविधान हामी सबैले मिलेर ल्याएको हो । संविधान निर्माणका क्रममा ओली र मबीचको सम्बन्ध उत्तिकै घनिष्ठ रह्यो ।
पछि सरकार र माओवादीबीच वृहत् शान्ति सम्झौता भयो । सात राजनीतिक दल र माओवादीबीच भारतको दिल्लीमा भएको १२ बुँदे सहमतिको मर्मलाई वृहत् शान्ति सम्झौताले बोकेको थियो । त्यसलगत्तै मुलुकमा अन्तरिम संविधान जारी भयो । सोही संविधानले गणतन्त्रमा पुग्ने निर्णय गर्यो । त्यो राजनीतिक कोर्समा एमालेको त महत्त्वपूर्ण भूमिका रह्यो नै, त्यसमा ओलीको खास भूमिका थियो । अन्तरिम संविधान जारी भएलगत्तै माओवादी पनि सरकारमा सहभागी भयो । अनि, एमालेबाट सरकारको नेतृत्व सहाना प्रधानले गर्नुभयो । त्यसपछिको सरकारमा ओली रहनुभएन । तर, राजनीतिक परिवर्तनको मूल कोर्स पूरा भइसकेको थियो । परिवर्तनले आफ्नो बाटो समाति सकेको थियो ।
असल कूटनीतिक नेता
उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको हैसितमा उहाँ करिब ९ महिना सरकारमा रहनुभयो । मेरा बुझाइमा उहाँ असल कूटनीतिक नेता हो । नेपालको सम्बन्ध बाह्य मुलुकमा सुदृढीकरण गर्ने सन्दर्भमा क्षमता भएको नेता मध्येमा पर्नुहुन्छ, ओली । नेपाल त्यसबेला परिवर्तनको सँघारमा उभिएको थियो । त्यसका लागि विश्वभरबाट समर्थन जुटाउनु पर्ने थियो । छिमेकी मुलुक भारत होस् या चीन, या त्यसबाहेकका अन्य मुलुक, नेपालले सन्तुलित भूमिका खेल्नुपर्थ्यो । यस सन्दर्भमा ओलीले सफलता हासिल गरेकै हो । परराष्ट्र मन्त्रालयको जिम्मेवारी उहाँको व्यक्तित्वमा पनि आयामिक बन्यो होला ।
१२ बुँदे सहमति क्षणभरमै गरिएको सहमति होइन । यसका लागि अनेक गृहकार्य भएका छन् । बृहत् शान्ति सम्झौतापछि अनेक गृहकार्य भएका छन् । त्यसो हुँदा मुलुकले एकै पटक गणतन्त्रको कोर्स समातेको होइन । यस्ता कार्यमा औपचारिक ढङ्गले देखिने एउटा कार्य हुन्छ । तर, पृष्ठभूमिमा अनेक खालका अनौपचारिक परिघटना भएका हुन्छन् । यी सबै पक्ष सार्वजनिक गर्न उपयुक्त नहोला ।
त्यसबेलाको राजनीतिक कोर्सले तय गरेको बाटोमा पुग्न अझै बाँकी छ । यस क्रममा अनौपचारिक ढङ्गले भएका गतिविधि सार्वजनिक गर्दा कतिपय सन्दर्भमा न्यायसङ्गत हुँदैन । किनकि द्वन्द्वका अवशेष अझै बाँकी छन् । यद्यपि टीआरसी विधेयक संसदबाट पारित भयो । तर, विरोधाभास अझै सकिएको छैन । त्यसो हुँदा दलबीचअझै पनि सहमतिको खाँचो छ । सहमतिविना तय गरिएको गन्तव्यमा पुग्न दलहरू अझै सक्ने अवस्थामा छैनन् । यी विषय मनन गर्ने सन्दर्भमा त्यस बेलाको ओली काबिल नेता हो ।
वृहत् शान्ति सम्झौतापछि माओवादी शिविरमा आएर बसेका थिए । तर, उनीहरूका गतिविधि शान्तिपूर्ण थिएनन् । उनीहरू युद्धरत मानसिकताबाट मुक्त भइसकेका थिएनन् । तर, हामीसँग समय थिएन । हामीले सबै काम द्रुत गतिमा सम्पन्न गर्नुपर्ने थियो । ढिलाइ गर्दा कोर्स अन्यत्रै मोडिन सक्ने खतरा उत्तिकै थियो । त्यसो हुँदा सबैभन्दा पहिले माओवादीलाई निःशस्त्रीकरण गर्नु थियो । यसमा ओलीको भूमिका मननयोग्य रह्यो ।
सात राजनीतिक दल र माओवादीबीच भारतको दिल्लीमा भएको १२ बुँदे सहमतिको मर्मलाई वृहत् शान्ति सम्झौताले बोकेको थियो । त्यसलगत्तै मुलुकमा अन्तरिम संविधान जारी भयो । सोही संविधानले गणतन्त्रमा पुग्ने निर्णय गर्यो । त्यो राजनीतिक कोर्समा एमालेको त महत्त्वपूर्ण भूमिका रह्यो नै, त्यसमा ओलीको खास भूमिका थियो ।
२०६४ चैत २८ गतेको पहिलो संविधानसभाको निर्वाचन वास्तवमै अनौठो ढंगले भएको थियो । मधेसमा सङ्घीयताको पक्षमा आन्दोलन भयो । त्यसको सम्बोधनबिना निर्वाचनमा जान सक्ने अवस्था थिएन । जनता मर्ने क्रम रोकिएको थिएन । यो क्रम निर्वाचनको ‘नोमिनेसन’ सम्म चल्यो । त्यसो हुँदा कतिपय ठाउँमा हामीले निर्वाचनमा सहभागी नभएका दललाई दोस्रो पटक ‘नोमिनेसन’ गराएर भए पनि सहभागी गरायौँ । एउटै निर्वाचनमा दुई पटक ‘नोमिनेसन’ हुने अवस्था दुनियाँ कहीँ छैन । तर, हामीले गर्यौँ ।
माओवादी लडाकु शिविरमा थिए । उनीहरू अनमिनको मोनिटरिङमा त थिए, तर पूर्ण मोनिटरिङमा थिएनन् । यसको जानकारी सरकारलाई नभएको होइन । कतिपय अवस्थामा आँखा चिम्ली दिनुपर्ने अवस्था भयो । किनकि हामी अप्ठ्यारो परिस्थितिमा थियौँ, जसरी पनि संविधानसभाको निर्वाचन गराउनु थियो । हाम्रो लक्ष्य गणतन्त्रमा पुग्नु थियो । ढिलाइ हुँदा समस्या सुल्झने नभई बल्झने खतरा थियो ।
मुलुकमा संविधानसभाको निर्वाचन भयो । संविधानसभाको पहिलो बैठकले गणतन्त्रको प्रस्ताव पारित भयो । त्यसको १५ दिनपछि तत्कालीन राजा ज्ञानेन्द्रलाई नारायणहिटी दरबारबाट बिदा गर्यौँ । नारायणहिटी सङ्ग्रहालयको रूपमा घोषणा भयो । नारायणहिटीबाट राजाको झन्डा झिकियो । त्यसको ठाउँमा राष्ट्रिय झन्डा फहराउने काम भयो । यो कोर्स पूरा गर्दा ओलीमाथि मात्रै किन, पार्टीभित्रबाट ममाथि नै अनेक खालका अवरोध आए । तर, हामीले त्यसबेला केही विषयमा आँखा चिम्लिदिँदा मुलुक गणतन्त्रमा प्रवेश गर्यो । माओवादीको हातबाट बन्दूक पनि छुट्यो । आजको अवस्थासम्म देश आइपुग्यो । केही प्राप्त गर्न केही गुमाउनु पर्छ भन्ने मानसिकताले गिरिजाबाबुले जोखिम मोलेरै मुलुकलाई संविधानसभाको निर्वाचनमा लगेकै हो ।
मावली नाता र प्रतिस्पर्धा
ओली र मेरो गृह जिल्ला हो, झापा । पहाड घर पनि हाम्रो एकै ठाउँ हो- तेह्रथुम । नातामा उहाँ मेरो मावली । खासमा ओली मेरो मामाको छोरा हो । तर, वैचारिक रूपमा हामी अलग पार्टीमा छौँ । उहाँ अहिले कम्युनिस्ट पार्टीको नेता, म काँग्रेस । पार्टी अलग भएको हुँदा उहाँ र मेरो बीचमा गहिरो प्रतिस्पर्धा पनि छ । झापा-३ मेरो निर्वाचन क्षेत्र हो । उहाँ र मेरो बीचमा रोचक के छ भने, निर्वाचनमा उहाँ सधैँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई बोक्नुहुन्छ । त्यो किन थाहा छ ? मलाई हराउन ! २०७२ सालमा नयाँ संविधान जारी भएपछि मैले कम्युनिष्टसँग निर्वाचन लड्नु परेको छैन । तर, निर्वाचनका बेला भए जति सबै कम्युनिष्ट एक हुन्छन् र, राप्रपाका उम्मेदवार बोक्छन् । त्यसो हुँदा प्रतिस्पर्धा हामीबीच गहिरो छ । तर, व्यक्तिगत सम्बन्ध म र ओलीबीच अत्यन्तै राम्रो छ ।
कम्युनिस्ट र कांग्रेसको पृष्ठभूमि अलग छ । सिद्धान्त फरक छन् । हामीबीच मूल्य मान्यता मिल्दैनन् । हामीले तय गरेको गन्तव्य पनि भिन्न नै छन् । हामीबीच केही साझा दृष्टिकोण पनि छन् जसलाई हामीले संविधानमार्फत अभिव्यक्त गरेका छौँ । संविधान हामी सबैले मिलेर ल्याएको हो । संविधान निर्माणका क्रममा ओली र मबीचको सम्बन्ध उत्तिकै घनिष्ठ रह्यो ।
सुशीललाई ओलीको समर्थन
२०७१ मा सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । ओलीकै समर्थनमा उहाँ प्रधानमन्त्री बन्नुभएको हो । त्यसको एक ‘आर्किटक्चर’ मै हुँ । संविधान जारी भएपछि ओलीलाई नै प्रधानमन्त्री बनाउने सहमति हामीबीच थियो । तर, त्यो सहमति शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताले मान्नुभएन । त्यसो हुँदा मैले त्यो सहमति कार्यन्वयन गर्न सकिनँ ।
तर, पछि ओलीले संसद्मा बहुमत जुटाउनुभयो । २०७२ असोज २५ गते अन्य पार्टीको समर्थनमा प्रधानमन्त्री बन्नुभयो । काँग्रेस र एमालेबीचको सम्बन्ध बिग्रँदै गएको त्यही बिन्दुबाट हो । ओली मसँग रिसाएर झापामा अरू पार्टीका नेता बोकेको पनि यही घटनाले गर्दा हो भन्ने मलाई लाग्छ । घटनाको नौ वर्षपछि ओली कांग्रेसकै समर्थनमा प्रधानमन्त्री बन्नुभएको छ । यस मानेमा म अत्यन्तै खुसी छु, मैले आफ्नो प्रतिबद्धता नौ वर्षपछि भए पनि पूरा गरेँ । त्यसो हुँदा मैले पैँचो तिर्न मौका पाएँ । अब ओली र मबीच बाँकी केही पनि छैन ।
यसबीच वाम गठन्धनको समर्थनमा ओली प्रधानमन्त्री बन्नुभयो । पछि माओवादी र एमालेबीच एकता नै भयो । मेरो दृष्टिकोणमा ओलीको त्यो कार्यकाल सन्तोषजनक रहेन । उहाँले संसद् विघटन गर्नुभयो । संसद् विघटन गर्नुअघि सुवास नेम्वाङ, अग्नि खरेलजस्ता नेताले पनि सही सल्लाह दिनुपथ्र्यो । संसद् विघटनका दिन कोभिड–१९ को सङ्क्रमणका कारण म अस्पतालमा थिएँ । यस सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा पर्यो । सोही सेरोफेरोमा उहाँले मलाई भेट्न बोलाउनुभएको थियो । हामीबीच लामै बहस चल्यो ।
वास्तवमा राजा ज्ञानेन्द्रको त्यही वक्तव्य गणतन्त्रमा जाने कोर्स थियो । संसद् पुन:स्थापनालगत्तै बसेको संसद्को पहिलो बैठकले राजारानीको फोटो हटाउने निर्णय गर्यो । नीति कार्यक्रम पढ्न जाँदा बस्ने कुर्सी संसद्मा सधैँ रहने गर्थ्यो । त्यसलाई हटाउने निर्णय भयो ।
कांग्रेसको समर्थनमा उहाँ यसपालि प्रधानमन्त्री बन्नुभयो । उहाँलाई यति बेला सहयोगको खाँचो छ । सहयोग गर्नुपर्छ । काम गर्दै जाँदा बिग्रन सक्छ । चित्त बुझेन भने सुझाव दिने हो ।
पार्टीभन्दा अलग रहेर व्यक्तिगतरूपमा हेर्नुपर्दा ओली राम्रो नेता हो । मैले पहिले नै भनेँ, हाम्रो पहाड घर तेह्रथुममा एकै ठाउँ हो । मधेसमा झरेर पनि एकै ठाउँ नै रह्यौँ । उहाँले सानैदेखि कठिन सङ्घर्ष गर्नुभयो । १४ वर्ष जेल बस्नुभयो । राजनीतिकरूपमा हामी तीव्र प्रतिस्पर्धी भए पनि व्यक्तिगत रूपमा अत्यन्तै नजिकको शुभेच्छुक हौँ । राजनीतिमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो । किनकि हामी दुई अलग पार्टीमा छौँ ।
उहाँ उपप्रधानन्त्री हुँदा सँगै बसेर काम गरियो । उहाँको कार्यशैली अत्यन्तै अलग थियो । कार्यशैली ‘डाइनामिक’ लाग्थ्यो । अहिलेको कार्यकालमा मैले खोजेको त्यही ओली हो । मैले बुझेको र चिनेको हिजोको उपप्रधानमन्त्रीझैँ अघि बढ्न सके उहाँले मुलुकका लागि धेरै काम गर्न सक्नुहुन्छ । त्यस बेलाको दयालु ओली म आज पनि चाहन्छु- जनताका लागि ।
(पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको अंश, पुस्तक फागुन १९ गते लोकार्पण हुँदैछ)

Leave a Reply