बाबुआमाकै हातबाट मारिए छोरा, चोर ठानेर कुटेको बयान

हेटौंडा । मकवानपुरमा आफ्नै आमाबाबुको कुटाइबाट गम्भीर घाइते भएका छोराको उपचारको क्रममा ज्यान गएको छ । छोराको प्रतिकारमा बाबुआमा गम्भीर घाइते भएका छन् ।

फागुन १५ गते राती करिव ८ बजे इन्द्रसरोबर गाउँपालिका–३ अदुवाबारीमा घटना भएको हो । घरभित्रै भएको झडपमा ३९ वर्षीय भरतबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई प्रहरीले गम्भीर घाइते अवस्थामा चितवनको अस्पतालमा पुर्याएको थियो । उपचारका क्रममा आज मृत्यू भएको हो ।

बाबुआमा मीन बहादुर ब्लोन र देविमाया ब्लोन घाइते भएका छन् । उनीहरुलाई हेटौंडाबाट काठमाडौं रिफर गरिएको छ । बाबुको करङ्ग भाँचिएको छ भने आमाको हातसहित शरिरको विभिन्न भागमा चोट लागेको छ ।

ब्लोन दम्पतीले लामो समयपछि घर आएका छोरालाई चोर ठानेर कुटपिट गरेको बयान दिएका छन् ।

घरमा खाना खाँदै गर्दा एकजना अपरिचित व्यक्तिले आँखामा खुर्सानीको धुलो छर्किएर चोरी गर्न खोजेको उनीहरुको भनाइ छ । आफूहरुले निजलाई घरेलु हतियारले प्रहार गरेको र कुटाकुट भएको उनीहरुको बयान उद्वृत गर्दै प्रहरी स्रोतले बतायो ।

बुबाआमाको बयानले घटना शङ्कास्पद देखिएको प्रहरीको भनाई छ । स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

बाबुआमाले अपरिचित व्यक्ति भनेर बयान दिए पनि प्रहरीले अनुसन्धान गर्दा उनीहरुकै छोरा भएको खुलेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *