विराटनगर । धरानका मेयर हर्क साम्पाङ्गले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भोगचलन गर्दै आएको जग्गामा तरकारी बजार शिलान्यास गरेपछि विवाद सिर्जना भएको छ ।
मेयर राईले धरान-१८ स्थित ‘पालिका तरकारी बजार’ का लागि भवन शिलान्यास गरेपछि यो विषय विवादित बनेको हो । प्रतिष्ठानले तरकारी बजारका लागि भवन शिलान्यास गरेकोमा आपत्तिसमेत जनाएको छ ।
विहीबार मेयर राई शिलान्यास गर्न पुगेपछि प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला प्रतिष्ठानको जग्गा भएको भनेर जानकारी गराउन पुगेका थिए । सो क्रममा मेयर राईले जनप्रतिनिधिसँग बोल्ने हैसियत नभएको भन्दै थर्काएका थिए ।
मेयर राईले सङ्ग्रौलालाई गाली गरेपछि शिलान्यासस्थलमा केहीबेर विवाद भयो ।
यसैबीच प्रतिष्ठानले आफ्नो क्षेत्राधिकारभित्र रहेको स्थानमा भवन निर्माण रोक्न आग्रह गरेको छ । प्रा. डा. सङ्ग्रौलाले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको भोगाधिकार रहेको जग्गामा तरकारी बजार बनाउन नदिने बताएका छन् । उनले कानूनी लडाँइमा समेत जाने बताएका छन् ।
प्रतिष्ठानले भविष्यमा हुने निर्माण, अस्पताल क्षेत्रको वरिपरि राख्नु पर्ने हरित वातावरणीय अवस्था तथा भैपरी आउन सक्ने विपत्ति, प्रकोप तथा आपत विपतको अवस्थामा रहनु पर्ने आवश्यक खुल्ला क्षेत्रको मापदण्डलाई मध्यनजर गरी उक्त क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्न नहुने बताएको छ ।


Leave a Reply