शिवशिखर सहकारीका सञ्चालक राजभण्डारीले तिर्न सकेनन् धरौटी, नख्खु कारागार पठाइयो

चितवन । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका संचालक समिति सदस्य अमिस राजभण्डारी धरौटी रकम तिर्न नसकेर कारागार चलान भएका छन् । कास्की जिल्लामा मुख्य कार्यालय रहेको सहकारीको चितवनमा तीनवटा सेवा केन्द्र थिए ।

भरतपुर, टाँडी र मुग्लिन गरी तीनवटै सेवा केन्द्रबाट ६६ करोड १४ लाख २४ हजार १२४ रूपैयाँ हिनामिना भएको जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको थियो ।

एक हजार ८९१ जनाको बचत रकम हिनामिनाको आरोपमा मुद्दा दायर भएकामध्ये एक सञ्चालक अमिस राजभण्डारी अदालतले मागेको धरौटी रकम तिर्न नसकेपछि कारागार चलान भएका हुन् ।

जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार गत सोमबार अदालत हाजिर हुन आएका राजभण्डारीको थुनछेक बहस सकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले राजभण्डारीलाई ५८ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

विश्वकर्माका अनुसार राजभण्डारीले धरौटी राख्न नसकेपछि उनलाई कारागार पठाइएको हो । सहकारी ठगीकै मुद्दामा नख्खु कारागारमा रहेका राजभण्डारी चितवनमा ठगी गरेको मुद्दाको बयान दिन अदालत उपस्थित भएका थिए ।

अदातलले भनेको धरौटी रकम तिर्न नसकेपछि उनलाई पुनः नख्खु कारागार नै लगिएको चितवनका प्रहरी प्रमुख एसपी राजन लिम्बुले जानकारी दिए ।

गत बैशाख २७ गते शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मासहित १४ जनाविरूद्ध चितवन जिल्ला अदालतमा ठगी अभियोजन लगाएर जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा ठगी आरोप लाग्नेहरुमा केदारनाथ शर्मा, सुशील बानियाँ, लीलानाथ गौतम, गीता शर्मा, तेजबहादुर तामाङ, अमिस राजभण्डारी, राजु शाखकर्मी, दीपकबहादुर ऐर, पुष्कर मल्ल, युवराज थापा, भोजराज पौडेल, रविचन्द्र सुवेदी, सुवाषचन्द्र सुवेदी र जुयस भट्टराई रहेका जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

मुद्धा दर्ता भएका मध्ये १० जना अझै फरार छन् भने सहकारीका सञ्चालक शर्मा र सञ्चालक समितिका सदस्य पुष्कर मल्ल नख्खु कारागार र सञ्चालक शर्माकी श्रीमती गीता शर्मा केन्द्रीय कारागार सुन्धारामा छिन् ।

शिवशिखर सहकारीमा नारायणगढ, टाँडी र मुग्लिङ तीनवटै सेवा केन्द्रका कूल १३ हजार १ सय ९९ बचतकर्ता छन् । उनीहरु मध्ये लक्ष्मी न्यौपाने समेतका १ हजार ८ सय ९१ जना जाहेरवालाहरुले जाहेरी दर्ता गरेका थिए । उनीहरुको जम्मा रकम ६६ करोड १४ लाख २४ हजार १ सय २४ रकम हिनामिना गरी ठगी गरेको उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *