राष्ट्रिय मुक्ति पार्टी संगठन विस्तारमा केन्द्रित हुने, नेताहरुलाई १५ दिनभित्र सम्पत्ति विवरण पठाउन निर्देशन (भिडिओ)

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले अब द्रुत गतिमा पार्टी विस्तारको कार्यलाई अगाडि बढाउने निर्णय गरेको छ। हालै बसेको केन्द्रीय समिति बैठकले चैत १ गते देखि वैशाख १५ गतेसम्म संगठन विस्तार अभियान, प्रशिक्षण कार्यक्रम र अर्थ संकलन अभियान चलाउने निर्णय गरिएको अध्यक्ष राजेन्द्र महतोले बताए।

अभियान अन्तर्गत पार्टीलाई गाउँ गाउँसम्म पुर्‍याइने लक्ष्य लिएको उनले बताए। बैठकले पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई १५ दिनभित्र सम्पत्ति विवरण भरि केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन गरिएको समेत बताए।

देशमा विद्यमान चलिरहेको विभिन्न खाले संघर्षहरु जस्तै मुकुम्लुङमा नो केबलकार, बोझेनी सांखुको सबस्टेशन विरुद्धको संघर्ष, उपत्यकामा गैरन्यायिक सडक विस्तार तथा खोलानदीको मापदण्ड विरुद्धको संघर्ष, स्वर्गद्वारी गुठीको संघर्ष, सहकारी पीडितहरुको संघर्ष, लघुवित्त पीडितहरुको संघर्ष, बिटौरी जग्गा सम्बन्धि देशभर रहेको समस्या विरुद्धको संघर्ष, दलित(शिल्पी) समुदायद्वारा जारी रहेको संघर्ष, कवाड व्यसायीहरुको संघर्ष, ढोरपाटन सिकार आरक्ष विरुद्धको संघर्ष, केन्द्र सरकार र प्रदेश सरकारहरुको वेथिती विरुद्धको संघर्ष लगायत देशवासीले भोगिरहेका सबैखाले संघर्षहरुको विरुद्धमा संघर्ष गर्नु आवश्यक देखिएको निष्कर्ष निकालिएको बताए।

उनले भने, ‘साथै राज्यको एकल नश्लिय चरीत्रलाई बदलेर बहुल राष्ट्रिय चरित्रको देश बनाउन र स्वशासनको अभ्यास गर्न सबै मिली राष्ट्रिय मुक्ति क्रान्ति गर्नु आवश्यक रहेकोले आन्दोलन र संघर्षको निम्ति समान धारणा र विचार मिल्ने पार्टीरसंगठन हरुसंग बृहत मोर्चाबन्दी गर्ने निर्णय गरिएको छ।’

उनले कांग्रेस र नेकपा एमाले लगायत गठबन्धन दलहरु आफ्नो निहित स्वार्थ रक्षार्थ अगाडी बढेकोले संकट समाधान गर्नु त परको कुरा भयो आन्तरिक रुपमा झन् विभाजन पैदा गरेको आरोप लगाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *