जापानी अनलाइनका प्रधानसम्पादक गौतमलाई धम्की दिनेमाथि कारबाही गर्न महासंघको माग

काठमाडौं । नेपाल पत्रकार महासंघले जापानबाट सञ्चालित अनलाइन क्योउदाईन्यूजका प्रधानसम्पादक दीपक गौतमलाई धम्की दिनेमाथि कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउन माग गरेकाे छ ।

समाचारको विषयलाई लिएर क्योउदाईन्यूजका प्रधान सम्पादक दीपक गौतमलाई केबीएल इन्टरनेसनल कम्पनीका अध्यक्ष कुमार कार्कीले धम्की दिएको घटनाप्रति महासंघले ध्यानाकर्षण गराएको हो ।

महासंघ जापान शाखाका अनुसार उक्त कम्पनीले नक्कली सिओइ बनाइ नेपालबाट जापान मान्छे पठाउने गरेको विषयमा क्योउदाईन्यूजमा समाचार प्रकाशित भएको थियो ।

सोही निहुँमा फागुन १२ गते सोमवार कम्पनीका अध्यक्ष कार्कीले महासंघ जापान शाखाका सल्लाहकारसमेत रहेका गौतमलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र भौतिक कारवाहीको धम्की दिँदै भ्वाइस मेजेस पठाएको शाखाले जनाएको छ ।

प्रकाशित समाचारमा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रचलित अभ्यासविपरीत पत्रकारलाई यसप्रकारले धम्क्याउने कदमलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहारको रुपमा महासंघले लिएको छ।

महासंघले प्रेस स्वतन्त्रताविरोधीको हर्कतको भर्त्सना गरेको छ । महासंघले धम्की दिनेमाथि कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइ संविधानप्रदत्त प्रेसको अधिकारको पूर्ण र सुरक्षित उपभोगको वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गरेको छ ।

नेपाल पत्रकार महासंघ जापानले पनि  धम्की दिनेलाई कारवाही गर्न माग गरेकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *