नक्कली भुटानी शरणार्थी काण्डमा निलम्बित सचिव पाण्डे जेलबाटै अनिवार्य अवकाशमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डमा निलम्बित नेपाल सरकारका सचिव टेकनारायण पाण्डे जेलबाटै अनिवार्य अवकाशमा गएमा गएका छन् । काण्डमा संलग्न रहेको अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका पाण्डे जेलबाटै अनिवार्य अवकाशमा गएका हुन् ।

५ वर्ष अघि २०७६ फागुन १२ मा सहसचिवबाट सचिवमा बढुवा भएका पाण्डे पाँच वर्षे सेवा अवधि पूरा गरेसँगै अनिवार्य अवकामा गएका छन् । पाण्डे गृह सचिव रहेका बेला नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि अहिले केन्द्रीय कारागार सुन्धारामा रहेका छन् ।

तत्कालिन शिक्षा सेवाका सहसचिव पाण्डे सचिवमा बढुवा भइसकेपछि लुम्बिनी प्रदेश सरकारको प्रमुख सचिवमा पदस्थापन भएको थियो । त्यसपछि उनी कर्णाली प्रदेश सरकारको प्रमुख सचिव हुदैँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सरुवा भएर आएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालिन गृहमन्त्री बालकृष्ण खाणको रोजाइमा परेपछि भूमि मन्त्रालयबाट गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा पुगेका थिए । गृह सचिवकै कार्यकालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरी हिरासत हुँदै पुर्पक्षका लागि थुनामा पुगेका थिए ।

नेपाली काँग्रेसका नेता समेत रहेका तत्कालीन गृहमन्त्री खाँण धरौटीमा रिहा भइसके पनि सचिव पाण्डे भने जेलबाटै अवकाश भएका छन् । पाण्डे अनिवार्य अवकाशमा गएसँगै राजपत्रांकित बिशिष्ट श्रेणी अर्थात सचिवको एक पद रिक्त भएको छ । लोक सेवा आयोगका अध्यक्षतामा रहेको सचिव बढुवा समितिको आगामी बैठकले बरिष्ठतम तीन सहसचिवलाई सचिव पदमा बढुवाका लागि सिफारिस गर्नेछ ।

बरिष्ठताको आधारमा अहिले पहिलो नम्बरमा सहसचिव मदन भुजेल, दोस्रो नम्बरमा बिरेन्द्र यादव र तेस्रो नम्बरमा चन्द्रकला पौडेल रहेका छन् । भुजेल मधेश प्रदेश सरकारको कायममुकायम (कामू) प्रमुख सचिव रहेका छन् भने पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा छ । ३ जना मध्ये एक जना सचिवमा बढुवा हुने भए पनि भुजेल कामु प्रमुख सचिवको जिम्मेवारीमा गइसकेकाले उनी बढुवा हुने सम्भावना बढी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *