काठमाडौं । फागुन १६ र १७ गते तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता हुने भएको छ । नेपाल डोरी तान संघको आयोजनामा भक्तपुरको एसबोएस हर्मन माइनर स्कूलको खेल मैदानमा राष्ट्रिय डोरी तान प्रतियोगिता हुन लागेको संघका महासचिव बिमल पौडेलले जानकारी दिए ।
प्रतियोगितामा ७ प्रदेशसहित ३ विभागीय टोलीले सहभागिता जनाउनेछन् । पुरुषतर्फ १० टोली र महिलातर्फ ८ टोलीबिच प्रतिष्पर्धा हुने महासचिव पौडेलले बताए । पुरुषतर्फ ६४० केजी तौल समुह र महिलातर्फ ५८० केजी तौल समुहमा खेल खेलाइने छ । १६८ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नेछन् ।
नेपालको पुरानो खेल भएपनि लामो समयदेखि ओझेलमा परेको डोरीतान खेलको विकास, विस्तार र प्रवर्धन गर्न यो प्रतियोगिता आयोजना गरिएको संघका महासचिव पौडेलले बताए ।
प्रतियोगितामा पुरुषतर्फ विजेता टोलीले १ लाख र उपविजेता टोलीले ५० हजारसहित नगद, मेडल, शिल्ड तथा प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेता टोलीलाई ६० हजार र उपविजेता टोलीलाई ४० हजारसहित नगद, मेडल, शिल्ड, प्रमाणपत्र प्रदान गरिनेछ ।

Leave a Reply