रामेछाप । फागुन १२ गते नेपालको इतिहासमा सम्झिइने नाम हो शहीद ऋषि देवकोटा ‘आजाद’ । नेपालको कम्युनिष्ट आन्दोलनलाई विशेषगरी रामेछाप, सिन्धुलीलगायतका जिल्लामा स्थापित गर्ने पहिलो पुस्ताका अगुवा क्रान्तिकारी ऋषि देवकोटालाई तत्कालीन पञ्चायती सत्ताले २०३७ फागुन १२ गते मध्यरातमा सिन्धुलीको भिमानमा पक्राउकै अवस्थामा गोली हानेर हत्या गरेको थियो ।
आजादको हत्या भएको ४४ वर्ष पुगे पनि उनको परिवारले उनले उठाएको क्रान्तिको झण्डा बोकेर अघि बढ्यो । आजादपत्नी गोमा देवकोटा पूर्वसांसद तथा हाल नेकपा एमालेको सल्लहकार परिषदमा छन् । त्यस्तै आजादका जेठा छोरा सुवास देवकाटा एमाले केन्द्रीय सदस्य छन् । छोरी कल्पना र जोशिला अमेरिकामा बस्छन् भने कान्छा छोरा सरोज आफ्नै पेशामा छन् ।
आजादसँग जोडिएका धेरै राजनीतिक प्रसंग र उनको पक्राउपछि हत्यासम्मका घटनाक्रमहरूको बारेमा धेरै नेता र उनका सहकर्मीहरूले लिखित दस्तावेजहरू बाहिर ल्याइसकेका छन् । यसपटक हामीले आजादबाट कम्युनिष्ट पार्टीको सदस्यता पाएका र अहिलेसम्म कसैले थाहा नपाएका किस्सा आफ्नै स्मरणमा राखेर बसेका ज्येष्ठ कम्युनिष्ट चतुरमान सुनुवारबाट आजादबारे केही नयाँ तथ्य सार्वजनिक गर्दैछौं ।
यो पनि पढ्नुहोस्- ऋषि देवकोटा ‘आजाद’ : गिरफ्तारी र हत्या अघिपछिका तीन दिन
४४ औं आजाद स्मृति दिवसकै दिन पारेर रामेछापका बयोवृद्ध कम्युनिष्ट नेता चतुरमान सुनुवारले आजाद मारिनुभन्दा १०-१२ अघिका केही स्मरण नेपाल प्रेसमार्फत सुनाएका छन् । २००७ सालको राणाविरोधी क्रान्त्रिको मोर्चामा नेपाली कांग्रेसको मुक्ति सेना बनेर बन्दुक बोकेका सुनुवार २००९ सालदेखि कम्युनिष्ट पार्टीमा लागेका थिए ।
उनलाई कम्युनिष्ट पार्टीको सदस्यता भने ऋषि देवकोटा आजादले दिएका रहेछन् २०२७ सालमा । सिन्धुली खुर्कोटमा जन्मिएका आजाद धेरैपटक रामेछाप सैपुस्थित चतुरमान सुनुवारको घरमा गएर बसेका थिए । सैपु र दुरागाउँमा आजादका सेल्टर थिए, जहाँ उनले रक्सी पिएर उठ्न नसकेका किस्सा पनि चतुरमानले सुनाए ।
आजादसँगका केही स्मृति ९३ वर्षीय चतुरमान सुनुवारको मानसपटलमा कसरी संग्रहित रहेछन् त ? प्रस्तुत छ,
ऋषि देवकोटा आजादको बारेमा अलि पहिले नै नाम सुनेको हो । म २००७ सालको क्रान्ति सम्पन्न भएपछि अरु मुक्ति सेनाबाट प्रहरीमा भर्ती हुन गए पनि म चाहिँ गइन । क्रान्ति सम्पन्न भएपछि कांग्रेसहरू नै गाउँ-गाउँमा लुटपाटमा उत्रिएको देखेर दिक्क लागे पार्टी छाडेँ । त्यसबेला सोभियत युनियन र चाइनमा कम्युनिष्टहरूले राम्रो गरे भन्ने हल्ला चल्यो । म कम्युनिष्टतिर लागेँ ।
यो पनि पढ्नुहोस्- ७० वर्षीया गोमाको स्मृतिमा ३७ वर्षका ‘आजाद’
कम्युनिष्ट पार्टीको सदस्यता चाहिँ २०२ सालमा ऋषि देवकोटाकै हातमा मैले पाएको हुँ । उनले ,अब तिमी सदस्य भयौ भनेका थिए । ऋषि देवकोटा भएपछि यहाँ के के गरेका छौं, सम्झिँदा पनि इतिहास लाग्छ । आजभोलि एउटा किताब छ मैले पढिसकेको छैन । मेरो बुढी भन्छे नि हामीले यति गर्यौं तर के भयो ? तर, म त भन्छु हामीले क्रान्ति गर्यौं फल पनि पायौं । यत्रो विकास भएको छ, लोकतन्त्र छ हामीले नै ल्याएको त हो ।
पोहोर अष्टलक्ष्मी शाक्यले संघर्षशील योद्दाहरू भन्ने किताब दिनुभएको थियो त्यसमा पनि आजादको बारेमा रहेछ । मैले धेरैसँग भेटेपछि ऋषि देवकोटा साँच्चिकै कम्युनिष्ट भन्ने थाहा पाइयो । हामी त्यसबेला २०२७/२८ सालतिर रामेछाप सदरमुकाम भँगेरीनजिक नारायणबाबु श्रेष्ठको घरमा जम्मा हुन्थ्यौं । त्यही घरमा ऋषि देवकोटाको पनि सेल्टर रहेछ । नारायाबाबु त रोगी मान्छ उनी सुतेपछि हामी रातभर गफ गरेर बस्थ्यौं । त्यहाँ ऋषि देवकोटालाई लुकाएर राख्दा रहेछन् । हाम्रा गफ ऋषि देवकोटालाई पनि मन पर्ने रहेछ । हामीले पनि ऋषिको धेरै प्रशंसा गर्ने । एकपटक त ऋषि देवकोटाले मेरो घरमा आउँदा थाङ्ने गुन्द्रीमा बन्दुक हालेर ल्याएछन् ।
गुन्द्रीमा बेरेर ल्याएको बन्दूक पूरै पड्कने होइन जोरगाँस गर्नका लागि भएको चीज पनि बिगारेर पक्रिहाले पनि एउटा डण्ठा मात्र पक्रिन्छ भन्ने ढंगले बोकेको रहेछन् । अहिले जनमोर्चाको साथीहरू कहाँ कहाँ पुगेका छन्, त्यसबेला सिन्धुलीको जिल्ला कमिटी मिटिङ मैले मेरै घरमा गरेको थिएँ । ऋषि देवकोटा आजादसहितको बैठकका बेला ३ दिनसम्म जंगलमा भात बोकेर खुवाएको मैले र मेरो परिवारले ।
संगठनमा हिँड्दा ऋषि देवकोटालाई कतिपटक मैले रक्सी र जाँड खुवाएर मताएको छु । जसको घरमा सेल्टर लिएर बस्यो उसले नखाने मान्छे मन नपराउने । सेल्टरवालाले भनेको मान्नै पर्ने । अनि त ऋषि देवकोटा पनि खाने पनि खाने गर्न थाल्यौं । तर जथभावी होइन सेल्टरमा बास बसेको बेलामात्र । एक दिन त दुरागाउँमा दवकोटालाई दिउँसै सेल्टर राखेको घरमा ज्ञानसिंह सुनुवार घरधनीले रक्सी खुवाएछन् । कहिल्यै नखाने मान्छेलाई अलिकति खाएपछि लागिहालेछ । उठाएर लैजानै गाह्रो भएको नि ।
त्यस्तो मान्छेलाई मैले धेरै दिन र रात मेरो घरमा राखेँ । हामीबीच भेटघाट नभएको केही वर्ष भएको थियो । उहाँले तत्कालीन नेकपा चौमबाट विद्रोह गरेर अब नेकपा माले (हालको एमाले) सँग एकता गर्ने निर्णय भयो भनेर खबर पठाउनुभएको थियो । तर, उहाँ र मेरो फेरि भेट भएन । हत्यारा शासकले उहाँको कायरतापूर्वक २०३७ साल फागुन १२ गते मध्यराति जेलबाट निकालेर जंगलमा लगेर हत्या गरेछन् । ती मेरा नेतालाई आजको दिनमा हार्दिक श्रद्धान्जली ।

Leave a Reply