प्यूठानमा दम्पतीको घनले हानेर हत्या गरिएको पुष्टि, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर झिकाइयो

रुपन्देही । प्युठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा मृत फेला परेका दम्पतीको हत्या भएको खुलेको छ।

प्रहरीले परियार दम्पतीमाथि घन प्रहार भएको जानकारी दिएको छ। घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन भेटिएको जिल्ला प्रहरी प्रमुख दीपेश बस्यालले जनाए ।

शनिवार दिउँसो ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमती हुकुमा परियार घरमै मृत फेला परेका थिए।

फागुन ९ गते राती घरमा खाना खाई सुतेका उनीहरूको बिहान अबेरसम्म नउठेपछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी प्रमुख बस्यालका अनुसार भारतमा रहेका छोराहरू आउँदै गरेको र उनीहरू आएपछि मात्रै पोष्टमार्टम गरिने भएको छ । ‘दुवै जनाको टाउकोमा हानेर क्षतविक्षत बनाइएको अवस्था छ, हिजोदेखि म आफै यहाँ आएर अनुसन्धान गरिरहेको छु केही पत्तो लागेको छैन, आशंका लागेकालाई सोधपुछ गरिरहेका छौं, छोराहरू भारतबाट आउँदै छन् उनीहरू आएपछि मात्रै पोष्टमार्टम गरिने छ’ उनले भने ।

प्रहरीले दम्पतीको शरीरमा गहिरो चोट लागेको बताएको छ। थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ।

उनीहरूका चार छोराहरू भारतमा रहेको र ३ छोरीहरूको विवाह भइसकेको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *