काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे भारतको ओडिसास्थित मुख्यमन्त्री मोहन चरण माझीसँग फोनमा वार्ता गरेकी छन् ।
वार्तामा लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको फेशबुकबाट जानकारी गराएकी छन् ।
उनले लेखेकी छन्
भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे आज मैले ओडिसाका मुख्यमन्त्री श्री मोहन चरण माझीसँग फोनमा कुराकानी गरेँ । उहाँसँग मैले लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेकी छु ।
नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रुपमा नै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि मैले उहाँलाई आग्रह गरेँ । यस विषयमा कलेजको पनि समिति बनेको र त्यहाँ नेपाली राजदूताबास नयाँ दिल्लीबाट कूटनीतिक कर्मचारी खटिरहनुभएकोले उहाँहरुको समन्वयका लागि पनि मैले मुख्यमन्त्री श्री माझीसँग आग्रह गरेँ ।
उहाँले यस घटनालाई ओडीसा राज्यले नै गम्भीर रुपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानविन समिति गठन गरेर काम सुरु गरिएको जानकारी मलाई गराउनुभयो । साथै उहाँले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि ओडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिनुभयो ।
यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास नयाँ दिल्लीले ओडिसा सरकार, विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।

Leave a Reply