पोखरा । नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ ।
आयोजक बुकवर्म फाउन्डेसनले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव हुने जानकारी दिएको हो ।
‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको यो संस्करणको मुख्य प्रस्तुतकर्ता एनसेल फाउन्डेसन हो ।
सेसन कक्ष र स्टल तयारीको काम अन्तिम चरणमा पुगेको फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले जानकारी दिए । फेस्टिभलमा ५० भन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ ।
देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ ।
यसपटक प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाको विद्वत प्रवचनसँगै फेस्टिभल सुरू हुने कार्यकारी निर्देशक भारीले जानकारी दिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटी (आईजीएओयू)को प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपतिसमेत हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए ।
विद्वत् प्रवचनलगत्तै अध्यात्म र संघर्षमाथि अभिनेत्री मनीषा कोइराला र पत्रकार विजय कुमारको विशेष संवाद हुनेछ । यसैगरी महानायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’को आवरण तथा पुस्ताकांश लोकार्पण पनि विविध विशेष सत्रमध्ये एक हो । हमालको पुस्तक प्रकाशोन्मुख छ ।
फेस्टिभलमा उद्यमी एव लेखक जीवा लामिछानेको बहुप्रतीक्षित पुस्तक ‘अक्षत अन्टार्कटिका’को लोकार्पण हुने आयोजकले जनाएको छ । नेपाली क्रिकेटका ढुकढुकी पारस खड्का हुन् या साहित्यानुरागीबीच चर्चित भूषिता वशिष्ठ, समाजसेवालाई आफ्नो कर्म बनाएका डा. भगवान कोइरालादेखि म्यागी डोएनसम्मको प्रेरणादायी संवाद फेस्टिभलमा रहनेछन् ।

म्यागी अमेरिकन समाजसेवी हुन् । सुर्खेतस्थित एक बालगृहको सहसंस्थापक उनी सन् २०१५ को सीएनएन हिरो हुन् ।
नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता फेस्टिभलका दुई सत्रमा रहनेछ । उनको छोटो कथा संग्रह, ‘लिच एण्ड अदर स्टोरीज’माथि उनी र भूषिता वशिष्ठबीच संवाद हुनेछ ।
उनका कथा र लेखहरू स्टोरी क्वार्टरली, द न्यू योर्क टाइम्स, हफी पोस्ट, द साल्ट लेक ट्रिब्यून, लगायतमा प्रकाशित छन् । उनी वेस्टमिन्स्टर विश्वविद्यालय, साल्ट लेक सिटी र युटामा रचनात्मक लेखनविधि पढाउँछन् ।

Leave a Reply