रुपन्देही । नेपालका नम्बर वन लन टेनिस खेलाडी प्रदीप खड्काले बुटवल लन टेनिसको उपाधि प्राप्त गरेका छन् । यो जितसँगै उनले आफ्नो १५ औं उपाधि तथा बुटवल खुला लन टेनिसमा हयाट्रिकको किर्तिमानी राखेका हुन् ।
आज रुपन्देहीमा सम्पन्न बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ को फाइनलमा बुटवलका रितिक रानालाई ट्राइबेकरमा पराजित गर्दै उनले लगातार तेस्रो पटक उपाधि चुमेका हुन् । उपाधिसंगै उनले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र पाएका छन् ।
रुपन्देहीको प्रतियोगिताको पहिले संस्करणमा प्रणव खनाल विजेता थिए । दोस्रोमा प्रदीप खड्का बने, त्यसपछि तेस्रो र चौथो संस्करणमा रितिक राना विजेता बने भने पछिल्लो ३ वर्ष लगातार प्रदीपले उपाधि आफनो नाममा गर्न सफल भएका छन् ।
देविनगरस्थित टेनिस कोर्टमा भएको फाइनल खेलमा रितिकले ६–३ अंकसहित पहिलो सेट जित निकाले । तर दोस्रो सेट भने ७–६ ले प्रदीपले आफ्नो पक्षमा पारेका थिए । निर्णायक अन्तिम सेटमा प्रदीप कम ब्याक गर्दै ६–१ को अंकले जित निकाल्दै उपाधि कब्जा गरे ।
प्रदीपले यो वर्ष भएको पहिलो खेलमा जित निकाल्न पाएकोमा निकै खुसी भएको बताए । रयाकेट चेन्ज गर्दा पहिलो सेटमा समस्या भएको उनले बताए । अर्कोतर्फ मौसम पनि बाधक भएको उनले बताए । यहाँ खेल्दा धेरै सपोर्ट पाउने गरेको भन्दै उनले बुटवल आफ्नो दोस्रो घर भएको बताए । जीवनकै पहिलो टाइटल बुटवलमै जितेको साथै अहिले १५ औ उपाधि चुम्दा धेरै हर्षित भएको उनको भनाइ छ ।
शुक्रबार नै भएको ३५ प्लस सिगलको उपाधि जितेन्द्र परियारले चुमेका छन् । फाइनलमा सन्तोष खत्रीलाई ६–४, ६–१ को सेटमा पराजित गदैै उपाधि चुमे । ४५ प्लस सिगलमा भने कमल बहादुर भण्डारीले देव क्षेत्रीलाई ।६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन् ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, बागमती टेनिस संघका अध्यक्ष मनोज सम्शेर राणा, कास्की लनटेनिस संघका अध्यक्ष राजकुमार गुरुङ, कर्णेल मछिन्द्र थापा, संघका संस्थापक अध्यक्ष अशोक गुरुङ, प्रतियोगिताका सुपरभाइजर राजन पौडेलले प्रतियोगिता विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन् ।
प्रतियोगिताको एकलतर्फ पुरुष/महिला एकलको विजेताले नगद ६०/६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतीय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । यसैगरी पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमश ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरियो ।
यसैगरी पुरुष डबल्स, महिला डबल्सको विजेताले नगद २० हजार रुपैयाँ, उपविजेताले १० हजार र तृतीयले नगद १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसका विजेतालाई जनही नगद १५ हजार, उपविजेतालाई १० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने गरियो ।
प्रतियोगितामा एकलतर्फ पुरुष/महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरी ६ विधा र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरी पाँच विधा गरी कुल ११ विधामा प्रतियोगिता आयोजना भएको थियो ।

Leave a Reply