१० मिनेटको हिंसात्मक दृश्य काटेपछि भयो चलचित्र ‘ताण्डवम्’ को सेन्सर पास

काठ्माडौं । हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको चलचित्र ‘ताण्डवम्’ को सेन्सर पास भएको छ । काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम गहतराजले बताएका छन् ।

अब यो चलचित्र हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु पर्नेछ । चलचित्रमा अभिनेता समेत रहेका निर्देशक जुनिमले कथाको मर्म नमर्ने गरि चलचित्रको हिंसात्मक दृश्य काटिएको बताए ।

पहिलो पटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो चलचित्रले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ । पूरा चलचित्रबाट करिब १० मिनेट रनटाइम घटाइएको छ ।

‘हामीले राम्रो सिनेमा दर्शकलाई पस्किने प्रयास गरेका छौं । दर्शकले पनि मन पराउने विश्वास हामीलाई छ’, निर्देशक गहतराजले बताए ।

काँटछाँट गरिएको चलचित्रलाई समेत सेन्सर पदाधिकारीले रुचाएको उनले जानकारी दिएका छन ।

चलचित्रको सेन्सर पास भएसँगै आजै अग्रीम टिकट बुकिङ खोल्ने तयारी निर्माण टिमको छ । भोली शुक्रबार फागुन ९ गतेबाट चलचित्र देशभरका सिनेमा घरमा रिलिज हुनेछ ।

चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् ।

हरि घले लामाले खिचेको चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *