ताप्लेजुङ । पाथीभरामा केबलकार बनाउन पाइँदैन भनेर आन्दोलन गर्ने १२ वटा जातीय संस्थाहरूलाई अहिलेसम्म ८ वटा राजनीतिक पार्टीले औपचारिकरूपमा समर्थन जनाएका छन् ।
फागुन ७ गते जारी गरिएको वक्तव्यमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिरक, पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावती,जसपाका रमेश राई र संजय राई,नागरिक उन्मुक्ति पार्टीका प्रदेश अध्यक्ष धनवहादुर पन्चाक,नेपाल जनमुक्ति पार्टीका उपाध्यक्ष भक्त खेवा,मंगोल नेशनल अर्गनाइजेशनका नयन्द्र चाम्लिङ र नेपाल कम्युनिस्ट पार्टीका किरात लिम्बूवान अध्यक्ष गजेन्द्र पालुङ्वा छन् ।
पाथीभरामा केबलकार बनाउन हुन्न भन्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि औपचारिक वक्तव्य दिएको छ । तर, आन्दोलनको मोर्चामा पनि राप्रपा छैन । रास्वपाले संस्थागतरूपमा केही बोलेको छैन, तर सुमना श्रेष्ठले केबलकार बन्न नहुने अभिव्यक्ति दिएकी छन् । त्यसो त माओवादी केन्द्रका केही नेताले केबलकारको विरोधमा बोले पनि जिल्लाका नेता र जनप्रतिनिधि केबलकारको पक्षमा उभिएका छन् ।
नो केबलकार पक्षको आन्दोलनको इपिसेन्टर यतिबेला ताप्लेजुङ बनेको छ । उनीहरूले पाथीभरामा पदयात्रा समेत गरेका छन्,जुन पदयात्रामा ताप्लेजुङभन्दा बाहिरका मान्छेको अधिक बाहुल्य छ । ताप्लेजुङका लिम्बूले केबलकारको विरोध गरे भनेर पहिचानवादी आन्दोलनकारी र उनका समर्थक दलले कालोमोसो समेत दल्न थालेका छन् । तर, ताप्लेजुङमै स्थानीय समुदाय र व्यवसायीले केबलकारको पक्षमा बुधवार र्याली नै निकाले ।

नो केबलकार आन्दोलनकारी पदयात्रीले प्रधानमन्त्री केपी शर्मा ओली, ताप्लेजुङका सांसद योगेश भट्टराई र फुङलिङका मेयर अमिर मादेनविरुद्ध उत्तेजक नाराबाजी गर्दै पहिचानको आन्दोलन चर्काउन खोजेका छन् । तर, आन्दोलनको इपिसेन्टर ताप्लेजुङको फुङलिङमै नो केबलकार आन्दोलनकारी दल र पहिचानवादीको जनमत भने दयनीय देखिएको छ ।
आवधिक निर्वाचनमा कुन दल वा पक्षको जनमत कति छ भनेर मापन गर्ने भनेको ५ वर्षको निर्वाचन नै हो । ताप्लेजुङका बहुसंख्यक जनताको साथ छ भनेर पहिचानवादी समूह र राजनीतिक दलले गरिरहेको आन्दोलनमा वास्तविक जिल्लाबासीको समर्थन कति हो त ? यसका लागि २ वर्षअघि सम्पन्न आम निर्वाचनको समानुपातिक मत सबैभन्दा बलियो आधार हो ।
ताप्लेजुङमा २०७९ मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा नेकपा एमालेका योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले कांग्रेस, माओवादी, नेकपा एससहित ५ दलीय गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाथोकीलाई जम्मा २०८ मतको अन्तरले पराजित गरेका थिए । भट्टराईले २१ ह्जार ९४३ मतका साथ जित निकाल्दा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बुढाथोकीले २१ हजार ७३५ मत पाएका थिए ।
तेस्रो स्थानमा आएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फेले ९४१ मत पाएका थिए भने जसपा नेपालका चन्द्र मादेन ६२८ मत पाएका चौथो स्थानमा थिए । त्यस्तै पहिचानवादी समूहकै मंगोल नेशनल अर्गनाइजेशनका बिक्रम लिम्बूले १३४ मत पाएका थिए भने राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बूले २६६ मत पाएका थिए ।
त्यस्तै दलगत आधारमा प्राप्त भएको मत अर्थात समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै १९ हजार ६०४ मत पाएको थियो । दोस्रो भएको कांग्रेसले एमालेभन्दा ४ हजार कम अर्थात १५ हजार ७३५ र माओवादी केन्द्रले ५ हजार १६२ मत पाएका थियो । नेकपा एसले १५ सय ४५ मत पाएको थियो । रास्वपाले ९७८ मत पाएको थियो ।
पाथीभरामा केबलकार बनाउन पाइँदैन भनेर आन्दोलन गर्ने १२ वटा जातीय संस्थाहरूलाई अहिलेसम्म ८ वटा राजनीतिक पार्टीले औपचारिकरूपमा समर्थन जनाएका छन् ।
अर्कोतर्फ अहिले पाथीभरामा नो केबलकार आन्दोलन चर्काइरहेका पहिचानवादी राजनीतिक दलको मत कति थियो त ? यो अझ रोचक छ । पहिचानवादी पार्टीमध्ये सबैभन्दा धेरै मत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९३२ पाएको निर्वाचन आयोगको रेकर्डमा छ । यो मत रास्वपा भन्दा पनि कम हो ।
त्यस्तै जसपा नेपालले ७२२ मत पाएको थियो भने राष्ट्रिय जनमुक्ति पार्टी ३३०, मंगोल नेशनल अर्गनाइजेशन १२५, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल १३, नागरिक उन्मुक्ति पार्टीले जम्मा ४ मत पाएका थिए । नो केबलकारको पक्षमा उभिएको राप्रपाले ६३७ मत पाएको थियो ।
त्यसअघि भएको स्थानीय तह निर्वाचनमा जिल्लाका ९ वटै तहमा यी दलको अस्तित्व ३ सय मतभन्दा माथि कतै थिएन । स्थानीय तह निर्वाचनमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा थिए । प्रदेशसभामा एउटा एमालेले र एउटा कांग्रेसले जित निकालेको थियो ।
अहिले आन्दोलनको इपिसेन्टर बनेको फुङलिङ नगरपालिकामा गठबन्धनबाट कांग्रेसले मेयर जितेको थियो भने एक्लै लडेको एमालेले उपमेयर जितेको थियो । अहिलेको आन्दोलन ताप्लेजुङबासीको नभएर इलामको उपनिर्वाचनमा असफल भएका पहिचानवादीहरूको बाह्य समूहले ताप्लेजुङमा अशान्ति मच्चाउनका लागि गरेको आरोप फुङलिङका मेयर अमिर मादेनको छ ।

Leave a Reply