भलमन्सा संघको केन्द्रीय अध्यक्षमा दोहोरिए पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी

रुपन्देही । मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी पुनः दोहोरिएका छन् ।

दंगीशरण गाउँपालिका –३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर), महासचिवमा मथुराप्रसाद थारु (बर्दिया), सचिवमा केशव थारु (बाँके) चयन भएका छन् ।

यस्तै, सदस्यमा आशाराम थारु कपिलवस्तु, रामबलि चौधरी रुपन्देही, सुनिता डंगौरा कञ्चनपुर, कैलालीबाट यज्ञराज चौधरी, विमला डंगौरा र गणेश चौधरी, बाँकेबाट सुशील चौधरी र फुलकुमारी चौधरी, दाङबाट चन्द्रप्रसाद चौधरी, मनकुकमारी चौधरी, जगवीर चौधरी र यमबहादुर चौधरी, दुर्गाबहादुर थारु सुर्खेत, बर्दियाबाट लखनप्रसाद वैद्य, माघुराम थारु तथा मोतिराम चौधरी निर्वाचित भएका छन् । एक उपाध्यक्ष, कोषाध्यक्ष र सचिव पदमा भने संघको बैठकबाट मनोनित गर्ने संघका नवनिर्वाचित अध्यक्ष चौधरीले जनाएका छन् ।

संघको भेलालाई पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । थारु सांस्कृतिक संग्रहालयमा गरिएको कार्यक्रममा सांस्कृतिक तथा रैथाने खाना महोत्सव पनि गरिएको थियो ।

महोत्सवमा दाङ र नवलपरासीको थारु समुदायको बर्का नाच, कैलालीको मुङ्ग्रहवा र चितवनको नाच प्रस्तुत भएको थिया भने मघौटा, छोक्रा, हुर्डुंग्या लगायत चार दर्जनभन्दा बढी नाच प्रस्तुत गरिएको थियो ।

थारु परिकारमा ढिक्री, अनदी चामलको भात, रोटी, अनदीको झोल, सुंगुरको सेकुवा, सिन्कीका परिकार, आलुको अचार लगायत जनजातिहरुको रैथाने परिकार बिक्री वितरण गरेर राखिएको थियो ।

महोत्सवमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थारुहरु मौलिक भेषभूषासहितका सांस्कृतिक झलकहरू प्रस्तुत गरेका थिए।

महोत्सवमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्लाबाट हजारौं मटावाँ, बरघर (भलमन्सा), ककन्डर्वाहरूलगायत थारु समुदायको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *