आइटी पढ्ने विद्यार्थीहरुले अनलाइनबाटै ३ अर्ब ठगे ! दुई भारतीयसहित सातजना पक्राउ

काठमाडौं । अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २ भारतीयसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कम्युटर इन्जिनियरिङ पढ्दै गरेका उनीहरूले डेढ वर्षदेखि ठग्दै आएको खुलासा भएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यस्तो काममा संलग्न कैलालीका २२ वर्षीय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनीलाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार यो घटनामा भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमार पक्राउ परेका छन् । शाहीका अनुसार हालसम्म प्राप्त डिजिटल फरेन्सिक अनुसन्धानको रिपोर्ट अनुसार उनीहरूले ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेका छन् ।

उनीहरूले विभिन्न व्यक्तिहरुलाई परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको सीआईबीले बताएको छ । उनीहरूविरुद्ध प्रहरीले संगठित रूपमा ठगीका साथै अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको कसुरमा अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ ।

उनीहरूले विभिन्न बैंक र डिजिटल वालेट प्रयोगकर्तालाई आफूहरू सोही बैंक र वालेटबाट बोलेको भन्दै फोन गरी सिस्टम अपडेटका नाममा ओटीपी मागेर खाताबाट पैसा चोरी गर्दै आएका थिए ।

सामाजिक सञ्जालहरूमा अनलाइन जब गर्न सकिने भनेर मानिसहरूको माग गरेर उनीहरूको बैंक तथा वालेट आफैंले प्रयोग गर्ने र त्यसरी आएको रकम संकलन गर्ने गरेको शाहीले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *