ताप्लेजुङ घटना : असन्तुष्ट पक्षसँग वार्ता गरिने, सांसद र गृहमन्त्रीबीच के भयो छलफल ?

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनका असन्तुष्ट पक्षका विषयलाई वार्तामार्फत समाधान गर्न गृह मन्त्रालयले पहल थालेको छ ।

उक्त विषयमा मंगलबार पूर्वी पहाडका सांसदहरूसँग गृहमन्त्री रमेश लेखकले छलफल गरेका छन् ।

लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसभा सांसदहरुसँग छलफलका क्रममा सरकार अभिभावक भएको हिसाबले दुवै पक्षलाई मिलाएर अघि बढ्ने बताए ।

घटनाका विषयमा र समाधानका लागि असन्तुष्ट पक्षसँग वार्ता गर्न समिति निर्माण गर्ने निर्णय भएको बताइएको छ । त्यस्तै, छलफलको निर्णयमा यस घटनालाई राजनीतिक रुपले भन्दा पनि सामाजिक हिसाबले लिएर समाधान गर्ने तथा घाइतेहरुको उपचार चाहिँ सरकारले गर्नेबारे छलफल भएको जनाइएको छ ।

छलफलमा उक्त क्षेत्रबारे गम्भीररुपमा उठेका र त्यसको समाधानका लागि सहमति, सहकार्य र वार्ताबाटै अगाडि बढ्ने बताइएको छ । यसै विषयमा भोलि पनि पर्यटन मन्त्रीसँग छलफल गर्ने बताइएको छ ।

छलफलमा गृहमन्त्री लेखकसहित वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, सांसदहरु योगेश भट्टराई, उर्मिला थेबे, सुहाङ नेम्वाङलगायत रहेका थिए ।

शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *