काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसका अवसरमा प्रभातफेरि गरिएको छ । संगठन केन्द्रीय समितिको आयोजनामा मङ्गलवार बिहान सेन्टरको कार्यालय बबरमहलबाट प्रभातफेरि सुरु गरेर माइतीघर हुदै पुन संगठनको कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले कृष्णसेन इच्छुकले जनयुद्धमा गरेको बलदिानबाट आएको व्यवस्थामा बसेर जनयुद्धलाई हिंसा देख्नेको प्रतिवाद गरिने बताएका छन् । उनले ओली सरकारको उल्टो यात्राले माओवादीलाई फाइदा पुगिरहेको समेत बताए ।
पूर्व सभामुख समेत रहेका सापकोटाले हजारौँ जनयोद्धाको त्याग तपस्या र बलिदानको अवमूल्यन गर्ने षड्यन्त्र धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । आफूहरू केही समय जनताबाट टाढा रहँदा प्रतिगमनकारी सलबलाउने मौका मिलेको बताउँदै सापकोटाले भने, “हामीहरू केही समय अल्मलिएका थियौं तर अहिले अध्यक्ष कमरेड प्रचण्डसहित सिंगो पार्टी जनतामा पुगिरहेको छ ।”
त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले जनयुद्धको समयमा जंगल र ओडारमा बसेर प्रतक्रियावादी सत्ताका विरुद्ध कलम चलाउँदाको समय जत्तिकै अहिले पन उत्तिकै महत्त्व रहेको बताए ।
संगठनका अध्यक्ष विष्णु सापकोटा जुगल’ले प्रेस सेन्टरले पार्टी, संगठन र बिचारको रक्षाका निम्ति आफ्नो तर्फबाट लडिरहेको र यसलाई थप विकास र सुदृढ बनाउँदै लाग्नुपर्ने धारणा राखे ।
यसैबिच प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको पाँचौँ बैठक पनि सुरु भएको छ । बबरमहलमा रहेको क्रिष्टल पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक सुरु भएको हो । बैठकमा केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय समिति सरह रहेका विभिन्न आयोग तथा समितिका पदाधिकारी एवं सदस्य रहेका छन् । यस्तै बैठकमा प्रदेश समितिका अध्यक्ष पनि सहभागी छन् ।
केन्द्रीय समिति बैठकले संगठनको अधिवेशनको मिति तय गर्ने र यस अघि सम्पन्न पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply