काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । संसदीय दलको बैठकमा पार्टीका केही सांसदहरुले अध्यादेश समन्वयविना ल्याएको भन्दै कुरा उठाएको सांसद रामहरि खतिवडाले बताए ।
उनले भने, ‘केही साथीहरुले अध्यादेशको बारेमा हाम्रो सहमति छैन । यो ल्याउनुअघि किन छलफल गरिएन ? हामीसँग छलफल नै नगरी एकैचोटी आएपछि मात्रै थाहा हुन्छ । यो कुरा ठीक भएन भन्ने कुरा राख्नुभएको छ ।’
सांसदहरुले उठाएको प्रश्न मन्त्रीहरुले १८ गतेको बैठकमा जवाफ दिने सांसद खतिवडाले बताए ।
उनले थपे, ‘मन्त्रीहरुको कार्यदक्षता र क्षमता जनताको काममा लगाउनुस् । पार्टीले तपाईंहरुलाई पठाएको हो । मन्त्री पनि हुने काम नगर्ने पद्धति भयो भने पार्टी निराशामा जान्छ । दुई ठूला दल मिलेर बनेको सरकारले पनि अपेक्षित काम गर्न नसकेको भनेर निराशा पैदा हुन्छ । त्यसलाई अन्त्य गर्नुपर्छ भन्ने कुरा गर्नुपर्छ ।’
सभापति देउवाले पनि मन्त्रीहरुलाई सांसदहरुसँग समन्वय गरेर काम गर्न निर्देशन दिएको उनले बताए ।
सांसद खतिवडाले सरकार सात बुँदे सहमतिअनुसार चल्नुपर्नेमा जोड दिँदै गल्ती भएका कुरा खुलेर राख्न सभापतिले पनि भनेको बताए ।

Leave a Reply