राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालय उद्घाटन, थाल्यो आजैबाट काम (भिडिओ)

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । सहकारी संस्थाहरूको नियमनका लागि सरकारले प्राधिकरण स्थापना गरेको हो ।

सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सहकारी क्षेत्रको सुधारका लागि ललितपुरको पुल्चोकमा प्राधिकरणको कार्यालय स्थापना गरेको छ । यस प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्नेछ ।

सरकारले प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेललाई नियुक्त गरेको छ । सोमबार यस कार्यालयको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका छन् ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री अधिकारीले प्राधिकरणले आजैदेखि काम शुरु गर्ने जानकारी दिए । उनले मन्त्रालय मातहतका निकायहरूलाई सहकारीमा देखिएका समस्याहरू समाधान गर्नेगरि काममा लाग्न निर्देशन समेत दिए ।

मन्त्री अधिकारीले भने, ‘सहकारीमा देखिएका समस्याहरू एक÷दुई वर्षभित्रमै समाधान गर्ने सोच सरकारको छ । त्यही अनुसार सम्बन्धीत निकायहरु सबैलाई निर्देशन समेत दिन्छु । नमिलेका र अप्ठ्यारो परेको कुरालाई छलफल गरौँ । अगाडी बढौँ । जिम्मेवारी पुरा गर्रौँ ।’

प्राधिकरणले सबै तहमा भएका अनियमितताबारे छानविन र कारबाही गर्ने उनले दाबी गरे । मन्त्री अधिकारीले भने, ‘बढी चर्चाको विषय हो । यसले सहकारीमा भएको अनियमितताको विषयमा छानविन गर्छौ । त्यो पनि माथिदेखि तलसम्म सबै तहका मानिसहरू छानविन गर्छौ । माथिको हस्तक्षेपमा मात्रै होइन तलको पनि सहभागितामा हामी छानविन गर्छौ ।’

बनाउने बेलादेखि नै विरोध हुने गरेको बताउँदै उनले आगामी दिनमा राम्रो गरेर देखाउने समेत दाबी गरे । कमी कमजोरी भए सुधार गर्ने तर काम नै नगर्ने भन्ने नहुने उनको तर्क छ ।

सर्वसाधारणको समस्या समाधानका लागि हामी प्राधिकरणको स्थापना गरिएको उनले दोहोर्‍याए । पुरानै कर्मचारी र पुरानै भवनमा नयाँ नाम राखेर काम हुँदैन की भन्ने प्रश्नमा मन्त्री अधिकारीले भने, ‘नयाँ आएर सबै नयाँ काम गर्छन् भन्ने होइन । धेरै ठाउँमा नयाँ मानिस आएर काम नभएको पनि छन् । काम गर्ने इच्छाशक्ति भयो भने नयाँ पुरानो भन्ने नै हुँदैन ।’

थालनी गरेका कुरालाई हिम्मत दिएर मार्गदर्शन दिनका लागि उनले आग्रह समेत गरे ।

त्यस्तै, प्राधिकरणका अध्यक्ष समेत रहेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले हिजोमा दिनमा देखिएका समस्या समाधान गर्नेगरि काम गर्ने बताए ।

‘हिजो सहकारी क्षेत्रमा जे समस्याहरू सिर्जित भए ती हुन नदिनेगरि काम गर्छौ । यस्ता समस्या भोली नआउनु भन्ने तरिकाले काम गर्छौ । कसैलाई पनि विचलन नहुनेगरि काम गर्छौ । हामी प्रणालीबद्धरुपमा अगाडी बढ्छौँ’, उनले भने ।

अरू देशको नक्कल नगरी आफ्नो क्षमता र धरातल हेरेर मात्रै अगाडी बढ्ने पोखरेलले जानकारी दिए । सर्वसाधारणदेखि सहकारी विज्ञहरूको राय सुझाव अनुसार पनि प्राधिकरणले काम गर्ने उनले जानकारी दिए ।

उद्घाटन पछि प्राधिकरणको पहिलो बैठक समेत बसेको पोखरेलले जानकारी दिए ।

 

 

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *