घटना १
गत कात्तिक ३० गते रत्ननगर नगरपालिकाअन्तर्गत पर्ने एक गाउँका ३ किशोरी र एक किशोर दिनभर घुम्छन् । टाँडी बजारमा स्केटिङ खेल्छन् । साँझ परेपछि एक किशोरीको घरमा चारै जना पुग्छन् । साँझको ७ बजिसकेको र बुबाआमा बारा जिल्ला गएकाले चारै जना किशोरीको घरमा बस्ने सल्लाह गर्छन् ।
एउटा कोठामा चारै जना गफ गर्दै बस्छन् । रात छिप्पिँदै गएपछि सल्लाहअनुसार दुई किशोरी एक ओछ्यान सुत्छन् । प्रहरीले शाहीचोक १ नाम दिएको किशोर र ३५ टाँडी नाम दिएकी किशोरी प्रेमीप्रेमिका भएकाले एउटै ओछ्यानमा सुत्न राजी हुन्छन् ।
दुबै साथी अर्को ओछ्यानमा निदाएपछि उनीहरु दुबैको सहमतिमा शारीरिक सम्पर्क हुन्छ । राति दुई पटक शारीरिक सम्पर्क भएका दुई किशोरकिशोरीले विवाह गर्ने सहमति गर्छन् । बिहानको ४ बजे नै उठेर किशोरीको घरमा भएको एउटा साइकल टाँडी बजारमा लगेर बिक्री गर्छन् । विवाह गर्ने भनेर किशोरकी फुपूको घर माडी पुगेपछि घर फकाईदिएका दुबै जनालाई परिवारले मंसिर १ गते भेट्टाउँछन् ।
एक-अर्कालाई मन पराएर विवाह गर्न राजी भएका किशोरको जन्म प्रमाणपत्रअनुसार १५ वर्ष ५ महिना र किशोरीको उमेर १५ वर्ष ६ महिना रहेछ । उनीहरु दुबैले सहमतिमा शारीरिक सम्पर्क राखेको प्रहरीको बयानमा भनेका छन् । उनीहरु दुबैले एक-अर्काले प्रेम गर्ने र विवाह गर्न राजी भएको पनि उल्लेख गरेका छन् ।
आफू घर नहुँदा शारीरिक सम्पर्क राखेका किशोरीको आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा आफ्नी नाबालक छोरीमाथि जबरजस्ती करणी गरेको उल्लेख गरेर निवेदन दिइन् । प्रहरीले किशोरलाई नियन्त्रणमा लिई अनुसन्धानपश्चात सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा बलात्कारको अभियोगमा पुस २ गते मुद्दा दायर गरेको छ ।
घटना २
रत्ननगर नगरपालिका वडा नम्बर ९ । गाउँका १९ वर्षका एक व्यक्तिको जन्मदिनको अवसरमा एक किशोर पुग्छन् । उनीहरु घरमा जन्मदिनको उत्सव मनाइरहेका हुन्छन् । गत पुस ९ गते जन्मदिन मनाउन पुगेका केही व्यक्तिसहित छतमा बसेर मासुलगायतका खानेकुरा खान्छन्, रमाइलो गर्छन् । जन्मदिन परेका व्यक्तिलाई दाइ भन्ने किशोरले आफ्नी प्रेमिकासँग भेट्ने चाहना राख्छन् । जन्मदिनको पार्टीमा बोलाउन ती दाइसँग अनुरोध गर्छन् ।
फेसबुकको म्यासेन्जरबाट केही समयदेखि चिनजान र कुराकानी भएका किशोरसँग भेट्न किशोरी पनि राजी हुन्छिन्, तर उनले घरमा बुबाआमा निदाएपछि सुटुक्क निस्किने भन्छिन् । सोही सल्लाहअनुसार रातको ११ बजे स्कुटरमा अर्का चालकसहित किशोर १५ वर्षकी किशोरीको घरभन्दा केही टाढा कुर्छन् । किशोरी आउँछिन् । उनीहरु जन्मोत्सव भएको घरमा पुग्छन् ।
चितवन प्रहरीमा परेको जाहेरीमा दुबै जनाले दिएको बयानअनुसार जन्मोत्सव भएको घरमा पुगेपछि केही समय छतमा बसी उनीहरु दुबै तल कोठामा आएका थिए । किशोरले सोही घरको एक कोठामा लगी भित्रबाट चुकुल लगाएर शारीरिक सम्पर्क गरेका थिए ।
रातमा किशोरी छोरी घरमा नभेटिएपछि खोज्दै गएका बुबाआमालाई छोरी आएकी छैन भनिदिएर गालीबाट बचाउने प्रयत्न जन्मदिनवाला पुरुषले गरेका थिए, तर भोलिपल्ट छिमेकमा सुतेकी किशोरीले परिवारसँग भेट भएपछि अघिल्लो दिनको घटनाबारे सबै परिवारलाई भनिन् । उनले किशोरसँगको प्रेमबारे पनि जानकारी गराइन्, तर परिवारका सदस्यले आफ्नी छोरीलाई जबरजस्ती शारीरिक सम्पर्क राख्न किशोरले गरेको प्रयत्नमा जन्मदिनवाला पुरुषले सहयोग गरेको भनी किशोर र ती पुरुषलाई समेत प्रतिवादी बनाएर इलाका प्रहरी कार्यालय टाँडीमार्फत चितवन प्रहरीमा जाहेरी दिए ।
जाहेरीका आधारमा अनुसन्धान गरी प्रहरीले जबरजस्ती करणी अभियोगको सहयोगी भनी जन्मदिन पर्ने पुरुष र अभियोग गर्ने बालकविरुद्ध जबरजस्ती करणीको कसुरको अभियोग लगाएको छ । जिल्ला अदालत चितवनमा पुस ४ गते जिल्ला न्यायाधिवक्ता कार्यालय चितवनले मुद्दा दायर गरेको छ ।
०००
पछिल्लो दुई महिनामा चितवनमा भएका यी दुई घटना किशोरावस्थामा एकअर्काप्रति बालबालिका आकर्षित हुँदा कसरी कसुर स्थापित हुँदै बालक पीडक र प्रेम सम्बन्धका कारण बालिका पीडित मानिने अवस्था भएको छ भन्ने उदारहण हुन् । यीमात्रै होइन, किशोरावस्थाको प्रेमका कारण बालिका गर्भवती भएको र बालकलाई बलात्कारको मुद्दा चलेका अन्य घटना पनि जिल्ला अदालतमा विचाराधीन छन् ।
किशोरावस्था उत्सुक हुने उमेर हो । यस अवस्थामा बालबालिका विपरीत लिङ्गीप्रति आकर्षित हुनु प्राकृतिक विशेषता मानिन्छ, तर नेपालको समाजले न किशोरकिशोरीको विपरीत लिङ्गीप्रति आकर्षणलाई विवाहअघि स्वाभाविक मान्छ न त किशोरावस्थाको प्रेम नै समाजमा स्वीकृत छ ।
प्रेमको अन्तिमविन्दु शारीरिक सम्पर्क र विवाह हो भन्ने स्थापित मान्यता छ । सोही मान्यताअनुरुप यस आलेखमा उल्लेख पहिलो उदाहरणका १५ वर्षका दुई किशोरकिशोरी भागेर विवाह गर्न तयार भए । बयानमा नै प्रेमपछिको शारीरिक सम्बन्ध दुबैले स्वीकार गरेका छन् । उनीहरुले शारीरिक सम्पर्कपछि विवाह अनिवार्य भन्ने नबुझेका थिए भने पक्कै साइकल बिक्री गरेर विवाह गर्न हिँड्दैनथे होला ।
बाल अधिकार अभियन्ता तारक धिताल नेपालमा गर्ने बाल विवाहको करिब आधा बढी सङ्ख्या अभिभावकको स्वीकृतिबेगर किशोरकिशोरीको रोजाइमा हुँदै जानुको कारक प्रेम बर्जित किशोरावस्था भएको बताउँछन् । उनको विचारमा नेपाली समाजले किशोरावस्थाको प्रेमलाई स्वीकार गर्नुपर्छ ।
अहिले नेपालको कानूनले २० वर्ष नपुगी विवाह गर्न निषेध गरेको छ, तर कम उमेरमै घरजम गर्नेको संख्या ठूलो रहेको जनगणनाको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी प्रतिवेदनले २०७८ सालमा ७४ हजार २७२ जनाले १० देखि १७ वर्षको उमेरमै विवाह गरेको देखाएको छ । अर्थात् बालबालिकाको विवाह ३५ प्रतिशत नेपालमा रहेको छ ।
तथ्याङ्कले एकातर्फ ठूलो संख्यामा बालबालिकाको विवाह देखाएको छ । अर्कोतर्फ विवाहको उमेर घटाउनुपर्ने राय संसदीय समितिमा आउन थालेको छ । गत माघ २ गते संसदको कानून, न्याय तथा मानव अधिकार समितिको उपसमितिले विवाहको उमेर १८ वर्षमा झार्न सुझाव दिएको छ । यस्ता चर्चा सार्वजनिक छलफल, सञ्जालहरुमा पनि बढ्दै गएको देखिन्छ ।
उमेर घटाएर बाल विवाह रोकिन्छ त ?
बाल अधिकार अभियन्ता धिताल भन्छन्, ‘उमेर घटाएर बाल विवाह न्यूनीकरण गर्ने भन्नु गलत हो, तर नेपाल बाल विवाह घटाउनुपर्ने बाध्यात्मक अवस्थामा छ । बाल विवाहले एकातर्फ महिलाको उत्पादकत्वमा ह्रास ल्याउँछ । अर्कोतर्फ सिंगो राज्यको सक्रिय जनसंख्याको विकासमा यसले प्रभाव पार्छ ।’
प्रतिनिधिसभाको रायमा त महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले विज्ञप्ति नै निकालेर विरोध जनाएको छ । नेपालको संविधान २०७२ ले बाल विवाहलाई बाल अधिकारको हननको विषयको रूपमा उल्लेख गरी दण्डनीय अपराधको रूपमा स्वीकार गरेको छ । राष्ट्रिय बालबालिका नीति २०८०, बालबालिकासम्बन्धी ऐन २०७५, मुलुकी अपराध संहिता २०७४, बाल विवाहविरूद्धको रणनीति २०७२ पनि बाल विवाह अन्त्यको लागि कार्यान्वयनमा रहेका छन् । नेपालको मुलुकी ऐनमा विवाहको लागि कानूनी उमेर २० वर्ष तोकिएको छ ।
सञ्जालले कानूनले व्यवस्था गरेको र व्यवहारिक रुपमा पनि १८ वर्षमा व्यक्ति शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुने भएकाले उसले परिवार, समाज, काल र परिस्थितिलाई गहिरो गरी बुझ्ने मौका पाएको हुँदैन भनेको छ । त्यसैगरी १८ वर्षको उमेरमा व्यक्तिमा निर्णय गर्ने क्षमताको विकास पूर्ण रूपमा भइसकेको हुँदैन भन्दै १८ वर्षको उमेरमा गरिने विवाह बाल विवाह हो भन्दै उक्त राय सच्याउन पनि अनुरोध गरेको छ ।
एकातर्फ विवाहको उमेर घटाउँदा हुने बहुपक्षीय असर छ भने अर्कोतर्फ किशोरावस्थाको प्रेमबाट निम्तिएका विवाहसँगै बालक पीडित हुने अवस्था पनि बढ्दै गएको तथ्यले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २०८०/०८१ को प्रतिवेदनले समेत यो तथ्य औल्याएको छ । बालबालिकासम्बन्धी अवस्थामा आयोगको प्रतिवेदनले किटेरै दुई बुँदा उल्लेख गरेको छ । जसमा भनिएको छ-
- एउटै उमेर समूहका बालबालिका भागेर विवाह गर्ने र मनमुटाव भएपछि केटी पक्षले केटालाई जवरजस्ती बलात्कारको मुद्दा गर्ने प्रवृत्ति बढ्दै गएको, प्रेम गर्ने, भागेर जाने र सानै उमेरमा परिवारले विवाह गरिदिने अवस्थाले बाल विवाह कायमै रहिरहेको पाइएको ।
- कम उमेरमा विवाह गर्ने र मनमुटाव भएपछि बलात्कारको आरोप लगाउने अवस्थाले कतिपय बालकहरू पीडित भइरहेको पाइएको ।
प्राकृतिक रुपमा महिला पुरुषको आकर्षण सामाजिक बन्देजले हटाउन सकिँदैन । बरु यस्ता बन्देजले बालक वा बालिकामध्ये एक पीडित हुने, बाल विवाह बढ्दै जाने वा सामाजिक विकृति बढ्दै जाने अध्ययनहरुले देखाएका छन् ।
एकातर्फ बालबालिकाको भागी विवाह गर्ने प्रवृत्ति र अर्कोतर्फ प्रेम बर्जित किशोरावस्थाको अवस्थामा बाल विवाह घटाउने तरिका के होला ? के नेपाली समाज आफ्ना सन्तानका सम्बन्धमा खुकुलो हुनुपर्ने अवस्था आएको हो ?
बाल अधिकार अभियन्ता धिताल भन्छन्, ‘समाजको सोच परिवर्तन हुन जरुरी छ । किशोरावस्थाको प्रेम स्वीकार र बालबालिकासँग विवाहको दायित्वको बारेमा खुलेर छलफल गर्नु जरुरी छ ।’

Leave a Reply