काठमाडौं । राजधानीमा आइतवारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज सम्पन्न भएको छ । बैठकमा महामन्त्री धवलशमशेर राणाले अघि सारेको ‘संस्थापनविरोधि’ विचार पत्रले तरंग ल्याइदिएको थियो ।
बैठक सुरु हुने अघिल्लो दिन केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शीर्षनेताहरुबीच भएको सहमति विपरित महामन्त्री राणाले केन्द्रीय समिति बैठकमा विचारपत्र बाँडेको संस्थापन पक्षको आरोप छ ।
विचार पत्रमा सुरुदेखि अन्तिमसम्म राजेन्द्र लिङ्देनको विरोध गरिएको तर, आफूले संगठन विभाग प्रमुख हँुदा गरेका उपलब्धि चाहीँ नसमेटिएको संस्थापन पक्षका नेताहरुले बताए ।
बहुसंख्यक केन्द्रीय सदस्य उक्त विचार पत्रको विरोधमा उभिएको र आधा दर्जन केन्द्रीय सदस्य र पदाधिकारीमात्र राणाको पक्षमा खुलेको लिङ्देननिकट एक नेताको दावी छ ।
राणाले ल्याएको विचारपत्र पार्टीलाई निर्माण गर्न नभई क्षयीकृत गर्न र नेतृत्वलाई बदनाम गर्ने कुत्सित मनशायको अभिव्यक्तिमात्र भएको ती नेता बताउँछन् ।
‘नवीन राप्रपा’ कार्यक्रम अन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट राप्रपामा ल्याइएका युवा केन्द्रीय सदस्यको मनोनयन प्रकृयालाई राणाको विचार पत्रमा ‘दुष्कर्म’ को संज्ञा दिइएकोमा संस्थापन पक्षले तीव्र आलोचना गरेको थियो ।
बैठकको अन्तिम दिन जवाफ दिने क्रममा महामन्त्री राणा रक्षात्मक देखिएका छन् । उनले आफू युवा केन्द्रीय सदस्यहरुको विरोधी नभएको प्रष्टीकरण दिएका थिए ।
युवालाई सिधै केन्द्रीय सदस्य बनाउने कामलाई विचारपत्रमा ‘दुष्कर्म’ भनेकोप्रति गलत ढंगबाट नबुझ्न उनले आग्रह गरे । युवाहरुलाई पार्टीमा ल्याउन आफु सदैव पार्टीमा लडेको स्मरण गर्दै राणाले यो नीतिमा भविष्यमा पनि आफु प्रतिवद्ध रहने धारणा राखे ।
राणाको पक्षमा खुलेकी राप्रपा महामन्त्री कुन्ती शाहीले पनि नवप्रवेशी युवाहरुलाई तिरस्कार गर्ने कुनै मनशाय नभएको बताइन् ।
आफैले कार्यसम्पादन समितिबाट अनुमोदन गरेको प्रचण्ड सरकारमा जाने तथा युवा केन्द्रीय सदस्य बनाउने निर्णयमा अध्यक्षलाई एकलौटी आरोप लगाएको संस्थापन पक्षको गुनासो छ ।
राणापक्ष रक्षात्मक देखिएसँगै अध्यक्ष लिङ्देनले पेश गरेका बैठकका निर्णयहरुमा सहमति जनाएको संस्थापनपक्षीय स्रोतले बतायो ।
बैठकमा आफ्नो पक्षमा माहोल नदेखिएपछि अन्तिममा राणा र उनी पक्षधर नेता पदाधिकारीले सहमति र सहकार्यमा जानुपर्ने धारणा राखेर टकरावलाई मत्थर बनाउने कोशिस गरेका छन् ।

Leave a Reply