‘एक्टर’ कथा वाचनमा मात्र होइन, प्राविधिक रूपमा पनि बलियो छ: निर्देशक भुसाल

काठमाडौं । माघ १६ गते रिलिज हुन लागेको चलचित्र ‘एक्टर: टेक वन’ ले नेपाली चलचित्र क्षेत्रमा एक फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी चलचित्रका निर्देशक राजन भुसालले गरेका छन् । भुसालले प्रविधि र कथालाई प्राथमिकतामा राख्दै यसलाई नेपाली चलचित्र उद्योगको विशेष बनाउन प्रयास गरेको बताए ।

उनका अनुसार ‘एक्टरः टेक वन’लाई अन्तर्राष्ट्रियस्तरको प्राविधिक मापदण्डमा निर्माण गरिएको छ । चलचित्रलाई केवल कथा भन्ने माध्यमको रूपमा मात्र नहेरी प्राविधिक रूपमा पनि सशक्त बनाउने प्रयास गरिएको छ ।

भुसाल भन्छन्, ‘चलचित्र भनेको कथा वाचनमात्र नभई प्राविधिक पक्षले पनि दर्शकलाई प्रभाव पार्न सक्नुपर्छ । यो चलचित्रले प्राविधिक रूपमा बलियो मान्यता कायम राख्नेछ ।’

अभिनेता राजबल्लभ कोइरालाले करिब १० वर्षपछि यसै फिल्ममार्फत नेपाली चलचित्रमा पुनरागमन गर्दैछन् । यस चलचित्रमा उनको अभिनयलाई भुसालले खास उपलब्धिका रूपमा हेरेका छन् । केही समयदेखि नेपाली चलचित्र क्षेत्रमा नदेखिएका कोइरालाले ‘एक्टरः टेक वन’ मा अभिनय गर्नुलाई भुसालले दर्शकका लागि रोमाञ्चक पुनर्मिलनको अवसर मानेका छन् ।

‘राजबल्लभ कोइरालाले यसअघि पनि फर्कने प्रयास गर्नुभएको थियो, तर उहाँले आफूलाई उपयुक्त लाग्ने भूमिका र चलचित्रको पर्खाइ गर्नुभएको थियो । यो चलचित्रले उहाँलाई त्यो अवसर दिएको छ’, भुसालले भने ।

चलचित्रको ट्रेलरमा अभिनेता प्रदीप खड्काको सङ्घर्ष र कलाकार बन्ने सपनाको चित्रण गरिएको छ । यद्यपि यो प्रस्तुतिले कलाकारिताप्रति गलत धारणा सिर्जना गर्नसक्ने प्रश्नलाई भुसालले खण्डन गरेका छन् ।

‘यो चलचित्रले कलाकारितालाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्न खोजेको हो । ‘ड्रामा थ्रिलर’ श्रेणीमा रहेको यो चलचित्रले कलाकारहरूको व्यक्तिगत वा पेसागत छवि बिगार्ने काम गर्नेछैन’, भुसालले प्रस्ट्याए ।

चलचित्रमा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्यदेव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूले अभिनय गरेका छन् । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता थमनकुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सहनिर्माता अनिश भुसाल रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *