नेपालमै हुनेछ अर्को यू–१९ महिला विश्वकप, कस्तो रह्यो पहिलो अनुभव ?

काठमाडौं । मलेसियामा जारी महिला यू- १९ विश्वकपमा नेपालको यात्रा समाप्त भएको छ । अब अर्को विश्वकप नेपालमै आयोजना हुने छ ।
अन्तिम खेलमा नेपालले आयोजक राष्ट्रविरुद्ध सान्त्वना जित हात पार्यो ।

प्ले अफमा मलेसियालाई ७ विकेटले हराउँदै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको हो । यसअघि समूह चरणका तीनवटै खेलमा नेपाल लगातार पराजित हुँदै सुपर सिक्स दौडबाट बाहिरिएको थियो ।

प्रतियोगिताबाट बाहिरिएका चारवटा टोलीहरुले एक–एक प्लेअफ म्याच खेलेका हुन्, जसमा नेपाल र मलेसिया तथा पाकिस्तान र सामोआ आज भिडेका थिए ।

नेपालले समूह चरणमा बंगलादेश, स्कटल्यान्ड र अष्ट्रेलियासँग हार व्यहोरेको हो । यीमध्ये एउटा मात्र म्याच जितेको भए नेपाल सुपर सिक्समा पुग्न सक्थ्यो । स्कटल्यान्डविरुद्ध १ विकेटको हार नेपाललाई महंगो बन्यो । उक्त खेलमा नेपाल बलियो जित नजिक पुगेर पनि अन्तिममा निराश बन्नु परेको थियो ।

नेपालले स्कटल्यान्डको ९ विकेट ५८ रनमा झारेको थियो । तर ,अन्तिम विकेट झार्न नसक्दा स्कटल्यान्डले १९ औं ओभरमा ७३ रनको लक्ष्य भेट्टायो । यो हारले नेपाल निकै चुक्चुकाउनु परेको छ ।

नेपालले पहिलो म्याचमा बंगलादेशसँग खेलेको थियो । सो म्याचमा नेपाल खराब ‘रनिङ बिटविन द विकेट’को शिकार भयो । नेपालका ५ जना ब्याटरहरु रनआउट भएका थिए । कप्तान पूजा महतोसहित सिमाना केसी, एलिसा यादव, अनु कडायत र रचना चौधरी रनआउट भएपछि नेपाल ५२ रनमै प्याक भयो ।

यदि रनआउटबाट जोगिएर १०० रनसम्म जोड्न सकेको भए बंगलादेशलाई भारी पर्न सक्थ्यो । झिनो लक्ष्य दिएर पनि नेपालले बंगलादेशको ५ विकेट लिन सफल भएको थियो । ११ रनमा तीन विकेट गुमाएको बंगलादेशले त्यसपछि सम्हालिएर खेल्दै १३.२ ओभरमा लक्ष्य भेट्यो ।

दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले कडा प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेन । यो म्याचमा पनि नेपालको ब्याटिङ फ्लप भयो । टस जितेर ब्याटिङ रोजेको नेपाल ७३ रनमै अलआउट भएको थियो । कप्तान पूजाले सर्वाधिक २७ रन बनाइन् भने ओपनर सावित्री धामीले १० रन जोडिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । नेपाललाई १४ अतिरिक्त रन प्राप्त भएको थियो ।

नेपालले बलिङ भने राम्रो गर्यो । स्कटल्यान्डले ५८ रनमा ९ विकेट गुमाउँदा नेपाल जित नजिक देखिन्थ्यो । तर, अन्तिम विकेट लिन नसक्दा नेपाल जितबाट वञ्चित बन्यो । स्कटल्यान्डले १८.४ ओभरमा लक्ष्य भेट्यो ।

अन्तिम म्याचमा बलियो अष्ट्रेलियाविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको थियो । कप्तान पुजाले दुई ओभरमै तीन विकेट ढालेर अष्ट्रेलियालाई अत्याइदिएकी थिइन् । तर, १४ रनमा तीन विकेटको स्थितिबाट शानदार कमब्याक गर्दै अष्ट्रलेलियाले १४० रनको सुदृढ स्कोर खडा गर्न सफल भयो ।

१४१ रनको लक्ष्य नेपालका लागि भारी थियो । नेपालले यो लक्ष्य पछ्याउने चेष्टा नै गरेन । सुरुबाटै ब्याटरहरुले जित निकाल्ने भन्दा पनि २० ओभर टिक्ने उद्देश्य राखेर खेलेका थिए ।

कप्तान पुजामाथि नेपालको आश थियो । उनी विकेटमा टिकेकी पनि थिइन् । तर, कुनै आक्रामकता देखाउन सकिनन् । ४२ बलको सामना गर्दा १८ रन मात्रै जोड्न सकिन् । उनको ब्याटबाट एउटा पनि बाउन्ड्री निस्केन ।

नतिजाका हिसाबले नेपालको यात्रा निराशाजनक रह्यो, यद्यपि केही सकारात्मक पक्षहरु नभएका होइनन् । नेपालको बलिङले पक्कै पनि प्रभावित बनाएको छ । चारवटै टिमलाई नेपालका बलरहरुले दवावमा राख्न सफल भएका थिए ।

ब्याटिङमा भने नेपाल कमजोर सावित भयो । ब्याटरहरुले उच्चकोटीको बलिङ सामना गर्ने कुनै आत्मविश्वास र कौशल देखाउन सकेनन् । उनीहरुको ब्याटिङ शैली हेर्दा लाग्थ्यो कि केवल अनुभवका लागि खेलिरहेका छन् ।

नेपालको यू– १९ महिला टिम कप्तान पुजा महतोमा अत्यधिक निर्भर छ । त्यो निर्भरता विश्वकपमा पनि देखियो । पूजाले प्रयास नगरेकी होइनन् । उनले बलिङ र ब्याटिङ दुवैमा मिहिनेत गरिन् । तर, यो स्तरमा एउटा खेलाडीको बलमा नतिजा निस्किन सक्थेन । पूजाले क्रिजमा अन्य ब्याटरबाट गतिलो साथ पाइनन् ।

नेपालको अर्को ठूलो कमजोरी भनेको रनिङ टिविन द विकेट देखिएको छ । बंगलादेशविरुद्ध ५ जना ब्याटरहरु रनआउट हुँदा नेपाल राम्रो स्कोरतर्फ अघि बढ्न सकेन । यसअघिका खेलहरुमा पनि नेपाली चेलीको रनिङ विटविन द विकेट दयनीय देखिँदै आएको छ । यो कमजोरी तत्काल सुधार्न नेपालले मिहिनेत गर्नुपर्ने देखिन्छ ।

व्यक्तिगत प्रदर्शनको कुरा नेपालका ब्याटरहरुको ब्याटिङ आँकडा टिठलाग्दो छ । कप्तान पूजा महतोले तीन खेलमा सर्वाधिक ७० रन जोडिन् । उनी प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाउनेको सूचीमा ७ औं स्थानमा छिन् । दोस्रोमा साना प्रवीनले २९ रन बनाइन् । अरु ब्याटरहरुले २५ रन पनि कटाएनन् ।

नेपालका लागि सर्वाधिक विकेट पनि पूजाले नै लिइन् । उनले ४ खेलमा ९ विकेट लिएकी थिइन् । उनी यो विश्वकपमा अहिलेसम्म सर्वाधिक विकेट लिने बलरको सुचीमा पहिलो नम्बरमा उक्लिएकी छन् । रचना चौधरी र सिमाना केसीले समान ६–६ विकेट लिए ।

नेपालले अर्को विश्वकप आफ्नै घरेलु मैदानमा खेल्ने छ । आइसीसी यु १९ महिला विश्वकपको अर्को संस्करण सन् २०२७ मा नेपाल र बंगलादेशले संयुक्तरुपमा आयोजना गर्ने पहिल्यै तय भइसकेको थियो । अर्को विश्वकपमा नेपाली टिममा उमेर हदका कारण पुजा महतो हुने छैनन् । सम्भवतः आजको म्याच नै उनको यु १९ बाट अन्तिम हुन सक्छ ।

यू- १९ महिला विश्वकपको इतिहास धेरै लामो छैन । सन् २०२३ मा पहिलो संस्करण साउथ अफ्रिकामा भएको थियो, जसमा भारत च्याम्पियन बन्यो । यो अहिले मलेसियामा भइरहेको दोस्रो संस्करण हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *