काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूविरुद्ध परेको उजुरीउपर अख्तियारले गरेको सोधपुछमा ‘ठट्यौलो’ जवाफ फर्काएका छन् । उनको औपचारिक पत्रमा अनौपचारिक र बोलिचालीको भाषा प्रयोग गरिएको छ ।
श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मुर्ती निर्माणमा अख्तियारको दुरुपयोग गरेको र अनियमितता भएको भन्दै हर्कविरुद्ध परेको उजुरी अख्तियारले केही महिनायता केलाइरहेको छ । आफूले अख्तियारलाई पठाएको जवाफ हर्कले फेसबुकमा राखेका छन् ।
पत्रमा लेखिएको छ– धरानको खानेपानी बोर्ड स्वायत्त निकाय हो । यसले आफ्नो नगरवासीलाई पानीको आपूर्ति गर्न सबैखाले विधि अपनाउन सक्छ । बिहान उठ्ने वित्तिकै ट्वाइलेट जानुपर्छ । ट्वाइलेटमा पानी छैन भने के हुन्छ, त्यो भनिरहन पर्दैन होला । केही छिनपछि भात पकाउन परो । भात पकाउन पानी चाहिन्छ । भात खाएपछि हातमुख चुठ्नु परो । त्यसका लागि नि पानी चाहिन्छ । जुठो भाँडा लडाइराख्न मिलेन । धुनै परो । त्यसका लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा भएन धुनै परो । लुगा धुन नि पानी नभइ नहुने । स्वास्थ रहनलाई प्रशस्त पानी पिउनुपर्छ र दैनिक नुहाउनुपर्छ भन्छ केही नजान्ने डब्लुएचओले । नुहाउनलाई नि पानी चाहियो । यसो करेसाबारी र बगैंचातिर नि पानी चाहिने नै भो । फेरि सुँगुर चौपायालाई पिन पानी नखुवाई नहुने । त्यसो भएको खुनाले धरानवासीको जीवन बचाउन र जीवन चलाउन जसरी भए पनि काम त गर्नैपरो मैले, इन फ्याक्ट हाम्ले ।
‘त्यसैले कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जङ्गल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै… घुमाउँदै घुमाउँदै … घुमाउँदै घुमाउँदै ….. घुमाउँदै घुमाउँदै लड्दै र पड्दै… तान्यो … तान्यो… एक्छिन है … बिस्तारै सुल्काउँ है … भन्दै… ओहोइ भनुं त… भन्दै घरी घरी नाच्दै र गाउँदै पनि… बिजोग रमाइलो गरी ल्याउँदैछौ है ल्याउँदैछौं । केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर बर्षो बिन्ति बिसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगें । जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के ! त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ… खोइ कुरा बुझ्या !’, मेयर साम्पाङले लेखेका छन् ।
उनले धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भन्दै यसले नगरबासीलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्ने जिकिर गरेका छन् । हरेक काममा पानी चाहिने भन्दै उनले केन्द्र सरकारलाई गरेको अनुरोध नसुनेकोले थोत्रे गाग्री लिएर काठमाडौं जानुपरेको बताएका छन् ।
‘कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षों बिन्ती बिसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगेँ । जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के ! त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ… खोइ कुरा बुझ्या !’
तिर्खाएका मानिसहरूको श्राप लाग्ला भन्दै उनले थपेका छन्- ‘राज्यको ढुकुटी खर्चेर बनाएको मेलाम्ची, दमक टावर, ncell, widebody जस्ता कुरा नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरुको श्राप लाग्ला ! पानी भनेको बिकास होइन जीवनको आधार, मानिसको आधारभूत आवश्यकता हो । पानीमा राजनीति गर्नु हुँदैन । पानी माग्न जनता त्यता आउलान है फेरि !’
उनले लेखेका छन्, ‘सरकारबाट तत्काल कोशीको पानी ल्याएर खुवाउने सम्भावना नभए पछि बोर्डको स्वायत्त अधिकार प्रयोग गरी समर्थक र सहयोगीहरुको आर्थिक र भौतिक सहयोग लिएर कोकाहा खानेपानी श्रमायोजना २ चलिरहेको छ । एक दिन आउनु है मुहानबाट धरान सम्म हिँड्दै हिँड्दै पाइप गन्न र प्रोजेक्ट हेर्न ! कम्ता रमाइलो छैन । त्यो वाहियात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो ? कति दिन श्रमदान गयो ? को हो त्यो ? बुझेर लेखिपठाउनु होला । धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा ?’


Leave a Reply