बेतलबी बिदा लिएर अष्ट्रेलिया गएकी शिक्षिकालाई धमाधम तलब निकासा

सिरहा । सिरहा जनता माध्यमिक विद्यालय प्राविधिक गोलबजारमा बेतलबी असाधारण बिदामा बसेकी शिक्षिकाको तीन लाख तलब निकासा गरेर प्रधानाध्यापक भरत साह र नगर शिक्षा शाखाका अधिकृत सुवोध लामाले अपचलन गरेको घटना सार्वजनिक भएको छ ।

प्राप्त जानकारी अनुसार शिक्षिका विमला झा गत २०८१ जेठ १० गतेदेखि विद्यालयमा अनुपस्थित छिन् । शिक्षिका झाले बेतलवी असाधारण बिदाका लागि निवेदन दिएकी थिइन् । उनको बिदा स्वीकृतिको लागि विद्यालयबाट वडा कार्यालयको सिफारिससहित नगरपालिकाको शिक्षा शाखामा पठाइयो । शिक्षा अधिकृत लामाले पनि सिफारिससहित उनको फाइल जिल्ला शिक्षा समन्वय इकाई सिरहामा पठाएका थिए । तर, बिदा स्वीकृति भएन ।

बिदा स्वीकृति नभएपनि शिक्षिका झा छोरी भेट्न अष्ट्रेलिया गइन् । उनी अहिलेसम्म फर्केकी छैनन् । तर, प्रधानाध्यापक भरत साहले उनको हाजिरी प्रमाणित गरेर नगर शिक्षा शाखामा पठाए । नगरपालिकाले २०८१ असोजसम्मको तलब निकासा दियो । प्रधानाध्यापक साहले विद्यालयबाट झाको तलब २ लाख ९६ हजार ३ सय ४५ रुपैयाँ ६३ पैसा निकासा लिए । उनले हाजिरी रजिष्टरमा आफैँले हाजिरी गरिदिएका छन् ।

शिक्षिका झाको तलब निकासा लिएर अपचलन गरेको भन्दै विद्यालयका एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि घटना बाहिरिएको हो ।

आयोगको कार्यालय बर्दिवासले प्रधानाध्यापक साहलाई बोलाएर स्पष्टीकरण लिएको छ । अख्तियारले फाइल मागेपछि अत्तालिएका प्रधानाध्यापकले हाजिरी रजिष्टरमा टिपेक्स लगाएर मेटाएका छन् र गयल जनाएको स्रोतले बतायो ।

प्रधानाध्यापक साहसँग जिज्ञासा राख्दा उनले भने भेटेरै कुरा गर्छु भनेर फोन काटे ।

शिक्षा शाखा प्रमुख सुवोध लामाले भने,‘झुक्किएर गयो होला । फिर्ता गराउने प्रक्रिया थालिएको छ ।’

प्रअ र तपाईँले आधा आधा बाँडेर खाने मिलिभगत गर्नुभएको आरोप छ नि ! भन्दा उनले भने,‘पत्रकारिता गर्नुस्, मानिसलाई तनावमा पार्ने काम नगर्नुस् ।’

संविधानसभा सदस्य तथा पूर्वप्रदेश सांसद जगत यादब भन्छन्,‘यस प्रकरणमा हेडमास्टर र शिक्षा अधिकृतको मिलिभगत देखिन्छ ।’

विमलाको बेतलवी बिदा स्वीकृति गरिदिन शिक्षा अधिकृत सुवोध लामाले आफैँले सिफारिस गरेका थिए ।

गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले आफूले फाइल अध्ययन गर्दै गरेको र दोषी जो देखिए पनि कारवाही गर्ने बताए ।

-अर्जुन थपलिया (नेपाल न्यूज बैंक)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *