कैलाली । सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैँलाई गोली प्रहार गरेका छन् ।
आज बेलुका साढे ८ बजेको समयमा ड्युटीका क्रममा उनले आफैँमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी उमेशराज जोशीले जानकारी दिए ।
डिएसपी उमेशराज जोशीका हातहतियार राखिने स्थान (सेन्ट्री कोत गारद) मा ड्युटीमा रहेका उनले दाहिने कानभन्दा माथिबाट आफूलाई गोली हानेका थिए । एसएलआर राइफलबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ । आफैले हानेको गोलीले घाइते भएका विष्टको अवस्था गम्भीर रहेको छ ।
महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा भर्ना गरिएका घाइते जवानलाई स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि धनगढी रेफरको तयारी गरिएको छ ।
यसअघि पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली हानेर आत्महत्याको प्रयास गरेका थिए।

Leave a Reply