ओलीको ठाउँमा तपाईं भएको भए भीम रावललाई के गर्नुहुन्थ्यो ?

नेकपा एमालेले राज्यको नेतृत्व गरिरहेको छ । मुलुकका दुइटा ठूला दल मिलेर सत्ताको वागडोर सम्हालेका छन् । सत्ताको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहनु भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेलाई सत्ता समीकरणसम्म पुर्‍याउन धेरै पक्षले काम गरेको छ । यसरी २ ठूला दल सत्ता समीकरणमा लाग्नु ठीक बेठीक भन्ने तर्क-बितर्क हुनु कुनै नौलो होइन । त्यो फरक विषय हो, तर अहिले नेकपा एमालेमाथि सबैतिरबाट आक्रमण भैरहेको छ । धेरै आरोप लागेका छन् । त्यसमध्येको पछिल्लो समयमा भीम रावलको कारबाहीको विषय आएको छ । कारबाहीको बाछिटा केही परसम्म पुग्दैछ ।

एमाले र भीम रावल

राज्य सत्ता सञ्चालन केन्द्रित काममा भीम रावलको २०४७ सालदेखिको संलग्नता देखिएको छ । २०४६ सालको जनआन्दोलन पश्चात कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारको कृषिमन्त्री झलनाथ खनालको सचिवालयमा रहेर भीम रावलले काम गरेका रहेछन् । त्यसपछि नेकपा एमालेको चितवन महाधिवेशन हुनुभन्दा अगाडिसम्म उनी सत्ताको वरिपरि नै थिए भन्दा आरोप लगाएको ठहरिन्न ।

२०४८ सालको आमनिर्वाचनमा नै टिकट पाउनु चानचुन कुरा थिएन, तर जितेनन् । २०५१ सालको मध्यावधि निर्वाचनमा भारी मतान्तरले जिते । मनमोहन अधिकारी नेतृत्वको ९ महिने लोकप्रिय सरकारको पर्यटन राज्यमन्त्री बन्ने मौका पाए । नेकपा एमालेका लागि विषम स्थिति रहेको २०६४ सालको निर्वाचनमा पनि उनी सांसद थिए, तर समानुपातिक कोटाबाट । २०७९ सालको आमनिर्वाचन बाहेक सबैमा उनले अवसर पाइरहे ।

उनी नेकपा एमालेको नेता भएबापत सांसद भए, पर्यटन राज्यमन्त्री, गृह र रक्षामन्त्री भए, उपप्रधानमन्त्री भए । राज्यको सत्तामा नै रहे । पार्टीको सत्तामा २०५४ सालमा नेपालगञ्जमा भएको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्यका रुपमा प्रवेश गरे । विभिन्न पदीय भूमिका सम्हाल्दै पार्टी केन्द्रको उपाध्यक्षसम्म भए । राज्य सत्तातर्फ पाउन बाँकी सम्मानीय पदमात्रै त बाँकी थियो । पार्टी सत्तातर्फ अध्यक्ष पद बाँकी थियो । आमकार्यकर्ताले कुनै दिन ती पदमा पुग्ने सम्भावना भएका नेता हुन् भन्ने आंकलन गरेका पनि थिए ।

विभिन्न पदीय भूमिका सम्हाल्दै पार्टी केन्द्रको उपाध्यक्षसम्म भए । राज्य सत्तातर्फ पाउन बाँकी सम्मानीय पदमात्रै त बाँकी थियो । पार्टी सत्तातर्फ अध्यक्ष पद बाँकी थियो । आमकार्यकर्ताले कुनै दिन ती पदमा पुग्ने सम्भावना भएका नेता हुन् भन्ने आंकलन गरेका पनि थिए ।

चितवन महाधिवेशनमा ओलीबाट रावललाई उपाध्यक्ष पदमा रहन प्रस्ताव गएको थियो, तर अध्यक्षमा नै लड्ने अडान लिए । उपाध्यक्ष पदमा बस्न रावलले मानेनन् । माहोल यस्तो थियो कि ओलीले चाहेको भए केन्द्रीय कमिटीको नामको सूची घोषणा गरेर जानसक्ने अवस्था थियो, तर त्यस्तो भएन । निर्वाचन भयो । ओली र रावल अध्यक्षमा भिडे । अनुमान गरेअनुसार नै रावलको न्यून मत आयो । ओलीले १,८३७ मत ल्याउँदा रावलले २२३ मत पाए ।

रावलले के गुमाए ?

के ओलीले अध्यक्ष पद छाडेर रावललाई दिनुपर्ने थियो ? सायद कसैले पनि यसको उत्तर ‘हो’ भन्नुहुन्न होला । पदाधिकारीमा उम्मेदवारी दर्ता गरेपछि त्यही उम्मेदवारीलाई सदस्य पदका लागि पनि मानिएको थियो । रावलले सदस्य पदमा उम्मेदवारी नै मेरो हैन भनी जिद्दी गरे । त्यही प्रक्रियाबाट जितेका केही नेताहरु एमालेको केन्द्रीय सत्तामा क्रियाशील रहेका छन् । रावलले चाहिँ एमालेमा रहनै नचाहेको जस्तो गरे । हुन त निर्वाचनको तत्कालीन आक्रोश र कुण्ठा थियो होला । पछि नेकपा एमालेले सल्लाहकार परिषद्का सदस्यका लागि निर्णय गर्‍यो । त्यो पनि रावलले स्वीकार गरेनन् ।

अझ अलि पहिलाको कुरा गर्ने हो भने २०६५ सालमा भएको आठौं महाधिवेशनबाट उपाध्यक्षमा रावल पराजित भए, तर केन्द्रीय सदस्य जिते । केन्द्रीय सदस्य पद नै हैन भने जसरी शपथ ग्रहण गरेनन् । जब नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने अवस्था आयो । उनले मन्त्री पदको मौका पाउने भए, दौडेर पार्टी कार्यालय बल्खुमा पुगी केन्द्रीय सदस्यको शपथ खाए ।

जब एमसीसीको बारेमा राष्ट्रिय राजनीति तरङ्गित भएको थियो । नेकपा एमालेले संसदमा नजाने निर्णय गर्‍यो, तर तत्कालीन सांसदसमेत रहेका भीम रावल चाहिँ संसद छिरे । छिरेमात्र हैन, एमालेको संस्थागत धारणाविपरीत आफ्ना कुरा राखे । कुनै बेला सांसद पदबाट राजीनामा दिने घोषणा पनि गरेका थिए, तर पछि फिर्ता लिए ।

केही पटक वार्ता पनि भयो । के कुरा मिलेन अरुलाई थाहा भएन । त्यो कुरा बाहिर किन नआएको होला ? बाहिर ल्याउन रावललाई पक्कै कसैले रोकेको थिएन होला । बैठकका विषय सार्वजनिक गर्न रावल जस्तो मानिसलाई रोक्ने आँट पक्कै अरुसँग थिएन ।

सदस्यसँग वार्ता गर्न उपाध्यक्ष नेतृत्वको कार्यदल

चितवन महाधिवेशनपछि नेकपा एमालेको कुनै पदमा रहन मानेनन् रावल । दशौं अधिवेशनपछि रावल पार्टी सदस्य र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्यभन्दा बाहेक केहीमा पनि रहेनन् । त्यस्तो व्यक्तिसँग वार्ता गर्न भनी पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन भएको थियो । सो कार्यदलमा केन्द्रीय कमिटीका सचिव लेखराज भट्ट, सदस्य कर्ण थापा रहेका थिए । त्यो कार्यदल बनाउने निर्णय पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा भएको कमिटीले गरेको होइन र ? केही पटक वार्ता पनि भयो । के कुरा मिलेन अरुलाई थाहा भएन । त्यो कुरा बाहिर किन नआएको होला ? बाहिर ल्याउन रावललाई पक्कै कसैले रोकेको थिएन होला । बैठकका विषय सार्वजनिक गर्न रावल जस्तो मानिसलाई रोक्ने आँट पक्कै अरुसँग थिएन ।

२०८० साउन ३० गते केपी ओली र भीम रावलबिच भेटघाट वा वार्ता भएको सार्वजनिक भएको थियो । एक पार्टी सदस्यलाई यस्तो महत्व दिनुको पछाडि नेकपा एमालेमा रावलको भूमिका वा योगदान छ भनेरै त होला ! केपी ओलीले महत्व नदिएको भन्न मिल्ला र ? नेकपा एमालेमा मात्रै हैन, नेपालका कुन दलमा पार्टी सदस्यसँग वार्ता गर्न बहालवाला उपाध्यक्षको नेतृत्वमा कार्यदल बनाएको घटना होला ? रावलसँग व्यक्तिगत क्षमता अनुकरणीय छ, तर संस्थागत क्षमताविना व्यक्तिगत क्षमताले मात्र केही हुँदो रहेनछ ।

२०७९ सालको आमनिर्वाचनमा रावललाई टिकट नदिँदा धेरै कार्यकर्ताको मन कुँडिएको थियो । यही अवस्था घनश्याम भुसालप्रति पनि थियो । भुसालले पार्टी छाडे, तर रावलले छाडेनन् । धेरै कार्यकर्ताले क्या बात रावल भनेका नै थिए । उनीप्रतिको जनमत राम्रो देखिन्थ्यो ।

कुनै पनि संस्था वा संरचनाको सत्तामा रहेको मानिस आफ्नो अनुकूल गराउन चाहन्छ नै । त्यसको रोकथाम त्यहीभित्रबाटै हुनुपर्दछ । बाहिर वसेर हैन । नेकपा एमालेका सबै कार्यकर्ताहरुले केपी ओलीलाई मन पराएका छन् भन्ने कुरा नै होइन । मन नपराउने हजारौं हुन सक्छन्, तर पार्टीको वैधानिक संरचनाले गरेको निर्णयमा सदैव पौंठेजोरी खेल्दैनन् । खेल्नु पनि हुँदैन । निर्णय चित्त नबुझ्न सक्ला, त्यसको प्रतिकार त्यहीभित्र नै गर्ने हो । रावल भित्र नभएपछि त्यो प्रतिकार गर्ने सम्भावना पनि भएन, तर मौका दिँदा भित्र छिर्न सक्नुपर्ने थियो । वैधानिक तरिकाबाट गरेको निर्णय मन नपर्न सक्ला, स्वीकार गर्न कठिनाइ पर्ला, चुप लागेर बस्न सकिएला, तर त्यो निर्णयको खिलाफमा काम गर्नु चाहिँ सही हुन सक्दैन । भीम रावलमा त्यो देखियो ।

ओलीले गर्नुपर्ने के थियो ?

अब भन्नुहोस्, नेकपा एमाले र केपी ओलीले भीम रावलको सन्दर्भमा गर्नुपर्ने के थियो ? तपाईं नेकपा एमालेको केन्द्रीय कमिटीको अध्यक्ष हुनुभएको भए के गर्नुहुन्थ्यो ? यही प्रश्न केहीलाई सोध्दा ‘कारबाही ढिला भयो’ भन्ने उत्तर आयो । प्रश्न यथावत छँदैछ, तपाईं भए के गर्नुहुन्थ्यो ?

(खतिवडा नेकपा एमाले भीमेश्वर नगर कमिटी दोलखाका अध्यक्ष हुन् ।)

Comments

One response to “ओलीको ठाउँमा तपाईं भएको भए भीम रावललाई के गर्नुहुन्थ्यो ?”

  1. Sujan Pandit Avatar
    Sujan Pandit

    I would have dismissed him long before!

Leave a Reply

Your email address will not be published. Required fields are marked *