दिनेश त्रिपाठीमाथि हातपात प्रकरणमा पक्राउ परेका व्यक्ति रास्वपा कि कांग्रेसका ?

काठमाडौं । अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालतबाहिर हातपात गरिएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेर हिरासतमा राखेको छ । पक्राउ परेका ललित केसी नामका व्यक्ति दोलखाका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले कुटपिटको घटनामा अनुसन्धान जारी रहेको बताए । उनले भने, ‘अहिलेसम्म एकजनालाई मात्रै नियन्त्रणमा लिएका छौं । घटनामा संलग्नहरुको विषयमा थप अनुसन्धान भइरहेको छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा जाहेरीकर्ताको तर्फबाट बहस गरेर निस्किने क्रममा अधिवक्ता त्रिपाठी अदालतबाहिर जम्मा भएको भीडको हुलहुज्जतमा परेका थिए । यस क्रममा उनीमाथि सामान्य हातपातसमेत भएको बताइएको छ । रास्वपाका प्रदर्शनकारीले रविविरुद्ध बहस गरेको आक्रोशमा उनलाई कुटेको आरोप आलोचकहरुले लगाइरहेका छन् ।

कुटपिटको आरोपमा पक्राउ परेका ललित केसी भने आफ्नो पार्टीको सदस्य नभएको रास्वपाले जनाएको छ । रास्वपाकी कार्यवाहक प्रवक्ता प्रतिभा रावलले पार्टीको तर्फबाट आन्तरिक छानबिन गर्दा उनी रास्वपामा आवद्ध रहेको कुनै पनि प्रमाण नभेटिएको बताइन् ।

‘घटनामा संलग्न व्यक्ति रास्वपाको सदस्य भएमा कारवाही गर्ने प्रतिवद्धता हामीले व्यक्ति गरिसकेका थियौं । पक्राउ परेका व्यक्तिका विषयमा बुझ्दा उहाँ रास्वपामा आवद्ध नरहेको पुष्टि भएको छ’, रावलले नेपाल प्रेससँग भनिन् ।

रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले निज व्यक्ति नेपाली कांग्रेसका कार्यकर्ता रहेको सूचना पार्टीमा आएको बताए ।

उनले भने, ‘मलाई पनि दोलखाबाट फोन आइरहेको छ । उहाँ नेपाली कांग्रेसको हुनुहुँदो रहेछ । हामी थप बुझ्दैछौं ।’

कांग्रेस कार्यकर्ताले आफ्नो पार्टीको भीडभित्र गलत नियतले घुसपैठ गरेका हुन् या रवि लामिछानेको न्यायका लागि नै त्यहाँ आएका हुन् भन्ने स्पष्ट नभएको बोहोराको भनाइ छ ।

४८ वर्षीय ललित केसी दोलखाको तामाकोशी गाउँपालिका १ का स्थानीयवासी रहेको प्रहरीको भनाइ छ । उनी ललितपुर टिकाथलीमा डेरा गरी बस्छन् ।

तामाकोशी–१ मा एमालेबाट निर्वाचित वडा सदस्य सुन्दर केसीले भने ललित आफ्नै गाउँका दाजुभाइ पर्ने बताए । केसीका अनुसार ललितको बोलाउने नाम राजेन्द्र हो । उनी काठमाडौंमा घरजग्गा कारोबारमा संलग्न थिए । पहिले कांग्रेसमा रहेका केसी अहिले रास्वपातिर ढल्केकाे उनको दाबी छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अधिकारीले  पक्राउ परेकाको राजनीतिक पृष्ठभूमि थाहा नभएको बताए ।

उनले भने, ‘उनले आफ्नो पेशा–व्यवसायबारे बताएका छैनन् । हामीले पनि चासो राखेका छैनौं ।’

यता, कुटाइ खाने वकिल त्रिपाठी कांग्रेस पृष्ठभूमिका हुन् । उनी २०७० सालको आमनिर्वाचनमा रुपन्देही ७ मा कांग्रेसबाट उठेर हारेका थिए ।

 

Comments

One response to “दिनेश त्रिपाठीमाथि हातपात प्रकरणमा पक्राउ परेका व्यक्ति रास्वपा कि कांग्रेसका ?”

  1. ksp pyl Avatar
    ksp pyl

    यिनी काँग्रेसलाई लात हानेर रास्वपा भएका रहेछन् । यो प्रवृत्ति देशव्यापापी भएकाले त काँग्रेस तिलमिलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *