अभियानमार्फत पार्टी घोषणाको होमवर्कमा भीम रावल, यसरी गर्दैछन् वडा तहसम्म संगठन निर्माण

काठमाडौं । एमालेबाट निकालिएपछि मातृभूमि जागरण अभियानको सुरुआत गरेका डा. भीम रावलले नयाँ पार्टी घोषणाको होमवर्क थालेका छन्। वैकल्पिक शक्ति घोषणा गर्ने लक्ष्यका साथ अभियानको घोषणा गरेर देश दौडाहामा निस्किएका छन्।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेको रावलले सार्वजनिक गरेको अवधारणा पत्रमा पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ रहने उल्लेख गरेका छन्। देश दौडाहामा लाग्नुअघि अभियानको प्रस्ताव सार्वजनिक गरेका छन्। अभियानपछि पार्टी घोषणा गर्ने रणनीतिक साथ संगठन निर्माणको प्रक्रिया र स्वरुप पनि प्रस्तावमा उल्लेख गरेका छन्।

अभियान सञ्चालन गर्ने सिलसिलामा वडा, पालिका, जिल्ला, प्रदेश देखि केन्द्रसम्म संगठन निर्माण गर्ने र जुन तहको भेला गरिन्छ सोही तहको संगठन निर्माण गर्ने, संगठनको स्वरूप धेरै भन्दा धेरै मानिसहरूलाई समेट्ने किसिमले बनाउने उल्लेख छ।

संगठनको नामकरण मातृभूमि जागरण अभियान राखेर अगाडि बढाउने र सम्बन्धित तहको नाम उल्लेख गरी तदर्थ समिति भन्ने, समितिमा एक जना संयोजक र एक जना सदस्य सचिव राखे तथा अरू सबै सदस्य रहने भएका छन्।

यस्तै, समितिको संख्या १५ देखि २१ जनाको राख्ने, यसभन्दा बढी मानिसहरूलाई समेट्नु पर्ने भएमा सम्बन्धित तहको तदर्थ परिषद् गठन गर्ने र परिषद्बाट माथि भनिए झैँ समिति गठन गर्ने र समितिको संयोजक र सदस्य सचिव नै परिषद्को संयोजक र सदस्य सचिव रहने व्यवस्था प्रस्तावमा छ।

उनले प्रस्तावमा मातृभूमि जागरण अभियान किन रु भन्दै ११ बुँदे योजना पनि सार्वजनिक गरेका छन्।

नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, स्वाभिमान र हित तथा पाल जनताको हक, हित, विकास र समृद्धिको पक्षमा व्यापक जनमत सिर्जना गर्न, संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त तथा विश्व शान्तिका मान्यतामा आधारित भई राष्ट्रिय हितलाई सर्वोपरि राखेर नेपालको स्वतन्त्र परराष्ट्र नीतिको महत्त्व जनसमुदायमा बोध गराउने उद्देश्य अभियानको रहेको प्रस्तावनामा उल्लेख छ।

शासकीय स्वरूप, राज्यको संरचना, निर्वाचन प्रणाली, ’अर्थ व्यवस्था, शासन-प्रशासन सञ्चालन तथा लोककल्याणकारी पद्धति जस्ता महत्त्वपूर्ण विषयमा गहन छलफल र बहस चलाउन, राजनीति र राज्य सञ्चालनमा रहेका विकृति, बेथिति, भ्रष्टाचार र मनपरी एवं देश र जनताको हित विरोधी क्रियाकलापको अन्त्यका लागि सशक्त जनमत सिर्जना गर्न, कानूनी,शासन, विधि, प्रणाली र पद्धतिलाई बलियो गरी स्थापित गर्न तथा त्यसमा रहेका गलत विचार र अभ्यासको अन्त्यका लागि जनतालाई जागरूक बनाउन पनि अभियानले काम गर्ने उल्लेख छ।

राज्यका महत्त्वपूर्ण पदमा रहेका वा रहिसकेका व्यक्तिहरूले गरेका भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन र कारबाहीका लागि जनआवाज व्यापक र बलियो तुल्याउँदै जनताको माग, भावना र आकांक्षालाई संगठित गर्दै आगामी दिनहरूमा विस्तृत धारणा, नीति र कार्यक्रम जनसमक्ष प्रस्तुत गर्ने बताएका छन्।

अभियानमा देशका सबै इमानदार, देशभक्त तथा देश र जनताको हक हितमा प्रतिबद्ध संगठन, नेता र व्यक्तिहरूसँग सम्पर्क, छलफल, सम्बन्ध र सहकार्य गर्ने उल्लेख छ।

Comments

2 responses to “अभियानमार्फत पार्टी घोषणाको होमवर्कमा भीम रावल, यसरी गर्दैछन् वडा तहसम्म संगठन निर्माण”

  1. ksp pyl Avatar
    ksp pyl

    जे भने पनि दक्षिणले खटाएका खेताला हुन् यी । कुरा बुझौं । यिनको पार्टी बनाउने, देश विकास गर्ने केही उद्देश्य होईन । मात्र एमाले कमजोर बनाउने काम हो यिनको किनकी मालिकले यिनलाई त्यहि कामको लागि ज्याला दिएर खटाएका छन् ।

  2. Laleek Avatar
    Laleek

    हैट ! विग्रेका कम्युनिष्टको अभियान !

Leave a Reply

Your email address will not be published. Required fields are marked *