कास्की र काठमाडौंपछि रवि रुपन्देही धाउनुपर्ने, १७ जनामाथि संगठित अपराधमा मुद्दा दायर

रुपन्देही । कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा छाडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई अब रुपन्देही आउनुपर्ने भएको छ । रुपन्देहीस्थित सुप्रिम सहकारी ठगीको मुद्दा दर्ता गरिएकाले अब उनी रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्ने भएको हो ।

रविसमेत मुछिएको सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय, चितवन र पर्साले पनि अनुसन्धान अन्तिम चरणमा पुर्याएका छन् । रुपन्देहीमा सकिएपछि चितवनमा र त्यसपछि पर्सामा मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ । पार्टी स्रोतका अनुसार रवि सम्भवतः आइतबार रुपन्देही जानेछन् ।

कास्की जिल्ला अदालतले धरौटीमा छाडेकै दिन रुपन्देही प्रहरीले मुद्दा दर्ताका लागि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा प्रतिवेदन बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी अभियोजन आज दर्ता गरेको हो । पूरक अभियोजन भने समय अभावका कारण भोलि दर्ता हुने भएको छ ।

यसअघि सरकारी वकिल कार्यालयले आजै दुवै अभियोजन दर्ता गर्ने तयारी गरेको थियो । गत वैशाख ३ गते सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहितका २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दा सहकारी ठगीसम्बन्धी मात्र रहेकोमा बिहीबार १७ जनालाई संगठित अपराध पनि थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला सहन्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीले बताइन् ।

‘रवि लामिछाने, छविराज जोशीसहित जोडिएको पूरक जाहेरीअनुसारको अभियोजन शुक्रबार दर्ता गर्छौं,’ उनले भनिन्, ‘पूरक अभियोजन पनि बिहीबार नै दर्ता गर्ने प्रयास समय अभावका कारण सम्भव भएन । रुजु गरेर सकिएको छ, भोलि नै दर्ता हुन्छ ।’

सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई संगठित अपराध अभियोजन थप गरिएको र ११ जनालाई ठगीमै मुद्दा चल्ने उनले बताइन् ।

थप र पूरक अभियोजनमा ४२ जनाबाट १ अर्ब १२ करोड रुपैयाँ माग दाबी गरिएको छ । सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको थियो । त्यसमध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ ।

लामिछाने काठमाडौंमा जस्तै रुपन्देही पनि आफै उपस्थित हुने भएका छन् । गत बिहीबार कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीको मुद्दामा कास्की अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

कास्की सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको मुद्दामा पुर्पक्षका लागि थुनामा नजाने आदेश भएमा प्रहरीको जिम्मा लगाइदिन माग गरे पनि अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दियो । रविलाई काठमाडौँ प्रहरी परिसरमा हाजिर हुने कागज गराएर कास्की प्रहरीले बिहीबार रिहा गरेको थियो । त्यसको ४ दिनपछि आइतबार रवि काठमाडौँ अदालतमा हाजिर भएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीले सुप्रिम सहकारी ठगीको दोस्रो चरणको अनुसन्धान सकेर गत बिहीबार नै प्रहरीलाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।

त्यसको एक सातापछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा लगेको हो । रविविरुद्ध २ करोड १० लाख बढी बिगो कायम गर्न प्रहरीले राय दिएको थियो । त्यसमा बिगो केही थपघट हुने देखिएको सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी एवं रविका व्यावसायिक साझेदार छविलाल जोशीलाई पनि दोस्रो चरणको मुद्दामा प्रतिवादी बनाउन लागिएको छ ।

उनलाई पनि रविलाई जति नै बिगो कायम गर्ने तयारी छ । यहाँ पनि सहकारी ठगी र संगठित अपराधको कसुरमा अभियोग दायर हुने आंकलन गरिएको छ । सम्पत्ति शुद्धीकरणमा भने कास्की अदालतमै मुद्दा दायर भइसकेकाले अन्यत्र नचलाइने भएको छ ।

रुपन्देहीमा यसअघि बयानका लागि रवि छामिछानेलाई कास्कीबाट ल्याइएको थियो । त्यो बयानमा उनले आफूले सहकारीबाट रकम नलिएको भन्दै विषय इन्कारी दिएका छन् ।

Comments

One response to “कास्की र काठमाडौंपछि रवि रुपन्देही धाउनुपर्ने, १७ जनामाथि संगठित अपराधमा मुद्दा दायर”

  1. KB Gurung Avatar
    KB Gurung

    sahakari thug bata dharauti asul gardai jani ani last lastma jail sajaya sampati jafat garni…

Leave a Reply

Your email address will not be published. Required fields are marked *