भ्रष्टाचार आरोपी पूर्वसचिव भीम उपाध्याय फेरि फेक पोस्टमा सक्रिय, लेखराज भट्टबारे भामक प्रचार

कैलाली । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले परित्याग गरेको अफवाह फैलाइएको भन्दै उनको सचिवालयले त्यस कार्यविरुद्ध कानुनी उपचारको विधि रोज्ने जनाएको छ ।

पूर्वसचिव भीम उपाध्यायले भट्टले एमाले छोडेको भन्दै पूर्व माओवादीहरूलाई समेत केन्द्रित गरेर तल्लो स्तरको टिप्पणी गरेका थिए । ‘जता पद पाइन्छ त्यता कुद्ने माओवादी नेताहरू’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमाले पार्टीका केन्द्रीय कमिटी सचिव एवम् सुदूर पश्चिम प्रदेश कमिटी इन्चार्ज लेखराज भट्ट लगायत ४६ जनाले एमाले पार्टी परित्याग गरे ।’

एमाले सचिव तथा इन्चार्जले एमाले छोडेको भन्दै सामाजिक सञ्जालमा लेखेपछि अहिले भट्टको सचिवालयले उक्त विषय गलत रहेको भन्दै प्रस्टीकरण दिएको छ । भट्टका स्वकीय सचिव समेत रहेका एमाले जिल्ला सचिवालय सदस्य हितेस ओझाले पूर्व सचिवको स्ट्याटस खण्डन गरेका छन् ।

‘उहाँ (लेखराज भट्ट)ले एमाले छोड्ने कुरा सोच्नसम्म पनि सक्नु हुन्न । पार्टीको त्यस्तो जिम्मेवार पदमा रहनु भएका नेतालाई पार्टी परित्याग गरेको भन्दै लेखिएको स्ट्याटसबारे हामी गम्भीर भएका छौँ’ ओझाले भने ‘त्यसविरुद्ध हामी कानुनी लडाइमा जान्छौँ ।’

पूर्व सचिव उपाध्यायले भट्टको तस्बिर सहित राखेर सामाजिक सञ्जालमा एमाले परित्याग गरेको लेखेपछि अन्य केहीले पनि त्यही अनुसारको टिप्पणी गरेका छन् । यता भट्टको सचिवालयले भने पार्टी कमजोर बनाउन अफवाह फैलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

‘केही दिनयता सामाजिक सजांल र केही अनलाइनहरूमा हाम्रो गौरवशाली पार्टी नेकपा(एमाले)का केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज क. लेखराज भट्टसहित धेरैले पार्टी परित्याग गरेको समाचारमा गभीर ध्यानाकर्षण भएको छ । सम्पूर्ण शुभचिन्तक तथा नेकपा (एमाले)का नेता-कार्यकर्ताहरूमा यस्ता गलत, भ्रामक र तथ्यहीन हल्लाका पछाडि नलागी नेकपा(एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न अनुरोध छ । साथै विचार, सिद्धान्त र कर्मले लड्न नसक्ने असामाजिक तत्त्वहरूले नेकपा(एमाले)को राष्ट्रियता र समृद्धिको यात्रालाई कमजोर पार्ने बदनियतले यस्ता तथ्यहीन कुप्रचार गर्ने कार्य जारी राखेमा कानूनी कारबाहीको प्रक्रियामा जाने कुरा अवगत गराउन चाहन्छु’ भट्टको सचिवालयले जनाएको छ ।

सोमबार पनि एमाले परित्याग गरेको पत्रमा किर्ते हस्ताक्षर गरेको एमालेले जनाएको छ ।

पार्टीमा असन्तुष्टि राख्ने २ जनाले थप ४४ जनाको हस्ताक्षर नै किर्ते गरेको एमालेले जनाएको छ । पार्टी परित्याग गरेको भन्दै हस्ताक्षरमा नाम रहेकाहरूले आज आफूलाई एस विषयमा कुनै जानकारी नरहेको बताएका छन् । उनीहरुले अर्काे एक विज्ञप्ति जारी गर्दै आफूहरू एमालेमै रहेको बताएका हुन् ।

४६ जनामध्ये कल्पना विक एमाले गोदावरी नगर कमिटी सदस्य हुन् भने कल्पनाका श्रीमान् रुपेश विकले पार्टी नेता प्रतिको असन्तुष्टि पोख्न किर्ते हस्ताक्षर सहितको विज्ञप्ति जारी गरेको एमाले गोदावरी नगर अध्यक्ष सन्तोष सिंहले जानकारी दिए । पारित परित्याग गरेको सूचिमा रहेका मध्येका २८ जनाले सामूहिक हस्ताक्षर सहित पार्टी कार्यालयमा उजुरीका लागि बुझाइसकेको उनले बताए ।

‘हिजो जसरी ४६ जनाले एमाले परित्याग गरेको भन्दै समाचारहरू आए हाम्रो त्यसमा ध्यानाकर्षण भएको छ । त्यहाँ नाम भएका धेरै भरतमा हुनुहुन्छ ,केहीको नवीकरण भएको छैन, धेरैलाई आफूले हस्ताक्षर नगरेको बताउनु भएको छ’ अध्यक्ष सिंहले भने ‘ आज हामी उहाँहरुलाई भेट्न जाँदा आफू एमालेमै रहेको बताइसक्नु भएको छ ।’

पार्टी र नेतृत्वमाथि बदनाम गराउने योजना सहित विज्ञप्ति जारी गरेको नगर कमिटीले निष्कर्ष निकालेको छ । यस विषयमा थप छानबिन हुने एमाले कैलालीले समेत जनाएको छ ।

‘हाम्रो नेता तथा प्रदेश इन्चार्जले एमाले परित्याग गरेको जस्तो गम्भीर, हुँदै नभएको कुरा लेख्नेहरूमाथि कारबाही हुनुपर्छ’, एमाले कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानाले भने, ‘गोदावरीमा पनि किर्ते हस्ताक्षर गरेको विषय आएको छ । यो एमालेलाई कमजोर बनाउने खेल हो । यस्ता कुप्रचार विरुद्ध हामी जान्छौं ।’

‘म केहीबेरअघि मात्रै नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सकेर काठमाण्डौं स्थित घर पुगेको छु । दुई दिन देखि पार्टीको केन्द्रीय कमिटीको बैठकमा छु । घर आएर सामाजिक सञ्जालमा हेर्दा एमाले छोडेको पोस्टहरू देखेर अचम्म लाग्यो’ नेता भट्टले भने ।

उनले विचार र सिद्धान्तले नसक्नेहरूले आफ्नो चरित्रहत्या गरेर विवादित बनाउने कुचेष्टा गरिरहेको बताए । ‘विचार र सिद्धान्तले नसक्नेहरूले एमाले छोडे भनेर भ्रम फैलाइरहेका छन् । म एमालेमै छु । आम जनता र कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गर्दछु’ सचिव भट्टले भने ।

 

Comments

2 responses to “भ्रष्टाचार आरोपी पूर्वसचिव भीम उपाध्याय फेरि फेक पोस्टमा सक्रिय, लेखराज भट्टबारे भामक प्रचार”

  1. ksp pyl Avatar
    ksp pyl

    यो भिम कसरी सचिव भएको होला ? अनि सचिव भएको बेलामा यस्तो मान्छेले कस्तो र के काम गर्यो होला ? धिक्कार छ मेरो देश । यसलाई जाक्न पुगेन छ ।

  2. RK Avatar
    RK

    एक प्याक लाउन २०० दिनुभए भीम दाइलाई पुग्छ । कसैले ५_ छ सय दिए होलान लेखि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *