रवि पक्षका वकिलको बहस- गोर्खा मिडियामा पैसा आएको रविलाई थाहा थियो, अवैध भन्ने थिएन

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने पक्षको बहस सकिएको छ । जिल्ला अदालत कास्कीको न्यायाधिश नीतिज राईको इजलासमा सोमबारबाट सुरु भएको रवि पक्षको बहस मंगलबार सकिएको थियो ।

सोमबार रवि पक्षबाट पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठसहित वरिष्ठ अधिवक्ता सुशील पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए । मंगलबार थप ८ अधिवक्ताले बहस गरेसँगै रवि पक्षको बहस सकिएको हो ।

रवि पक्षबाट वरिष्ठ अधिवक्ता राजेन्द्र सेढाईंं, डा. नारायण घिमिरे, रोहितराज बास्तोलासहित डा. नारायणदत्त कँडेल, सुनिता राउत, सुरज बस्नेत, सुदीप पन्त र सञ्जय गोलेले बहस गरेका हुन् । वरिष्ठ अधिवक्ता राजेन्द्र सेढाईंले रवि लामिछानेलाई गोर्खा मिडियामा पैसा आएको भन्ने थाहा भएको तर, अवैध भन्ने थाहा नभएको बताए ।

‘उहाँ (राजेन्द्र) ले गोर्खा मिडियामा पैसा आएको कुरा रवि लामिछानेलाई थाहा थियो । तर, उक्त पैसा गैरकानुनी हो भन्ने थाहा थिएन भनेर भन्नुभयो,’ बहस सहभागी एक अधिवक्ताले भने । अधिवक्ता सेढाईले सरकारले रविलाई जसरी पनि मुद्दा लगाउनुपर्छ भन्ने नियतले अगाडि बढेको दाबी गरे ।

‘जुन जुन मुद्दा लगाएपनि हुन्छ । जसरी पनि रविलाई मुद्दा लगाउनुपर्छ भन्ने नियत राखेर नेपाल सरकारले मुद्दा लगायो । यो ठिक थिएन’, उनले भने ।

वरिष्ठ अधिवक्ता नारायण घिमिरेले मुद्दा दर्तालाई प्रश्न गरे । उनले कानुनलाई तोडमोड गरेर हद म्याद नभएको मुद्दा दर्ता हुन नसक्ने दाबी गरे । सम्पत्तिको स्रोत खुलाउने अवसर नै नदिई सुम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको उनको आरोप छ ।

उनले इजलासमा भने, ‘रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दा लगाइयो । त्यो सम्पत्तिको स्रोत के हो भनेर अथवा सम्पत्तिको स्रोत खुलाउने मौका दिनुपर्थाे । जुन अवसर उहाँलाई दिइएन त्यो गलत हो ।

सुरज बस्नेतले शेयर किनेको वैधानिकता भएको र यो संगठित अपराध नहुने तर्क गरे । अधिवक्ताले सञ्जय गोलेले रविले गोर्खा मिडियासँगको सम्झौताअनुसार काम गरेकाले गोर्खा मिडियासँग मात्र जवाफदेहीता हुने बताए ।

‘उहाँ (रवि)ले गोर्खा मिडिया नेटवर्कका कार्यकारी अध्यक्षसँग गरेको सम्झौताबमोजिमको कार्य गर्नुभएको हो । सम्झौता बमोजिमको काम गरेपछि त उहाँको जवाफदेहिता गोर्खा मिडियासँग मात्र हो नि । सहकारीप्रति उहाँको कुनै जवाफदेहिता हुँदैन’, उनले भने । रविका पक्षबाट बहस गर्ने अन्य अधिवक्ताले पनि रविलाई सहकारी मुद्दामा जोड्न नदिने तर्क गरेका थिए ।

मंगलबार नै प्रतिवादी रामबहादुर खनालको सुरु भएको छ । रामबहादुरको तर्फबाट अधिवक्ता विरेन्द्र केसी र उज्वलशंकर सापकोटाले बहस गरेका हुन् । बुधबार रामबहादुरका अधिवक्ताबाटै बहस सुरु हुनेछ ।

त्यसपछि गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरुङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङका वकिलको बहस हुनेछ । बहस गरेपछि सरकारी वकिलले जवाफी बहस हुनेछ । जवाफी बहसपछि न्यायाधीशले आदेश दिनेछन् ।

 

Comments

2 responses to “रवि पक्षका वकिलको बहस- गोर्खा मिडियामा पैसा आएको रविलाई थाहा थियो, अवैध भन्ने थिएन”

  1. bharat kumar thapa Avatar

    यो मुलुक पछाडि पर्नुको मतलब चुतिया प्रबृत्तिको कानुन व्यवसायी पनि हो

  2. Nepali kanxo Avatar
    Nepali kanxo

    100% ho. Aba k garne ta? Tapai hamle garna sakne kei xaina.

Leave a Reply

Your email address will not be published. Required fields are marked *