वान म्यान आर्मी ! रोहितको प्रेरणामा ‘जीवित’ लुम्बिनी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पाँचौं खेल खेल्दा पहिलो जित निकाल्यो । चितवन राइनोजविरुद्धको खेलमा कप्तान रोहितकुमार पौडेलले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै टीमलाई जितको स्वाद चखाए ।

लगातार चार हार व्यहोर्दै लुम्बिनी प्ले अफको दौडबाट बाहिरिने संघारमा छ । आज हारेको भए लिग चरणबाट बाहिरिने पहिलो टीम बन्ने थियो, तर रोहितले फेरि एक पटक ‘लिड फ्रम द फ्रन्ट’ को उदाहरण प्रस्तुत गर्दै आफ्नो टीमको गणितीय सम्भावना जीवित राखेका छन् ।

लुम्बिनीले अब लिग चरणमा दुई खेलमात्र खेल्न बाँकी छ । प्ले अफको सम्भावनाका लागि उसले बाँकी खेल जितेरमात्र पुग्दैन, अन्य खेलको नतिजामा पनि भर पर्नेछ । यदि लुम्बिनी प्लेअफमा पुग्यो भने त्यो कुनै ‘चमत्कार’ भन्दा कम हुनेछैन । लुम्बिनीका फ्यानहरु त्यही चमत्कारको आशामा छन् र उनीहरुको सबैभन्दा ठूलो आशा कप्तान रोहितमाथि नै छ ।

रोहितले आजको खेलमा गरेको प्रदर्शन एनपीएलमा हालसम्म कुनै पनि खेलाडीको उच्च व्यक्तिगत प्रदर्शन हो । १ रनमा दुई विकेट गिरेपछि क्रिजमा आएका रोहितले शानदार ब्याटिङ गर्दै ८० रन बनाए र टीमलाई १६७ रनको बलियो स्कोरसम्म पुर्‍याए । साथै बलिङमा नेतृत्वदायी भूमिका निभाउँदै ४ महत्वपूर्ण विकेट लिए । टी-२० म्याचमा एउटै खेलाडीले ८० रन बनाउनु र चार विकेट लिनु विशिष्ट अलराउन्ड प्रदर्शन हो ।

रोहितको ब्याटिङ सबै विशेषताहरुले भरिएको थियो । टी-२० मा कसरी एउटा उत्कृष्ट इनिङ बुन्न सकिन्छ भन्ने नमुना उनले देखाए । बिहानको खेलमा त्रिविको पीच बलरहरुका लागि अनुकूल हुन्छ र ब्याटिङका लागि प्रतिकूल । जतिबेला आफ्नो टीम संकटमा परेको थियो र विकेटले बलरलाई सहयोग गरिरहेको थियो, रोहितले कुनै जोखिम नमोलिकन संयमित भएर खेले । जब समय आयो, उनले आफ्ना कलात्मक सटहरु निकाले । मैदानका सबै दिशामा उनले चौका र छक्काको वर्षा गरे । पाकिस्तानी मुलका क्यानेडियन ब्याटर साद बिन जाफरसँग उनको म्याच विनिङ साझेदारी भयो ।

रोहितसँग अनेक सटहरु छन् । उनी आकर्षक ड्राइभ गर्न सक्छन्, शानदार पुल गर्न सक्छन्, स्वीप-रिभर्स स्वीपदेखि स्वीच हिटहरु गरेर उत्कृष्ट टाइमिङका साथ चौका निकाल्न सक्छन् । सानो ज्यानका बाबजुद ठूला छक्काहरु हान्न सक्छन् । हिटर कहलिएका थुप्रै ब्याट्सम्यानहरुको भीड रहेको प्रतियोगितामा यतिबेला उनी सर्वाधिक छक्का हान्ने सूचीमा एक नम्बरमा छन् । आजमात्रै पाँच वटा छक्का हाने । लिखुरे ज्यान हेर्दा कसरी पत्याउने ? उनीसँग ‘पावर’ नहोला, तर ‘स्किल’ लोभलाग्दो छ । आज कमेन्ट्री बक्सबाट इङ्ल्यान्डका कमेन्टेटर ड्यारेन गफ रोहितबारे गफ गर्दै थिए- उनी विश्वका कुनै पनि क्रिकेट टीममा अटाउने क्षमता राख्छन् ।

३५ बलको सामना गर्दासम्म रोहितको ब्याटबाट एक छक्का र एक चौकासहित २९ रन निस्किएको थियो । त्यसपछि सामना गरेका २२ बलमा उनले थप ४ छक्का र ५ चौकासहित ५१ रन वर्षाए । यसबाट पुष्टि हुन्छ कि रोहित कसरी परिस्थितिअनुसार आफ्नो ब्याटिङलाई बदल्न सक्षम छन् । महान ब्याट्सम्यानमा हुनुपर्ने मुख्य गुण यही नै हो ।

एनपीएलमा अहिलेसम्म सर्वाधिक रन बनाउनेको सूचीमा एक नम्बरमा छन् रोहित । दोस्रो स्थानमा रहेका चितवनका रवि बोपारासँग उनको झण्डै १०० रनको दुरी छ । हालैमात्र बोपाराले नेपाली ब्याट्सम्यानसँग ठूला सट हान्ने ‘पावर’ को कमी भएको टिप्पणी गरेका थिए, तर प्रतियोगितामा बोपाराले ६ वटा छक्का हान्दा रोहितको छक्का ११ वटा पुगिसकेको छ । रोहित र बोपारा सर्वाधिक रनसँगै सर्वाधिक छक्का हान्ने ब्याट्सम्यानको सूचीमा पनि पहिलो र दोस्रो नम्बरमा छन् । स्मरणीय छ कि बोपारा शक्तिशाली टेस्ट राष्ट्र इङ्ल्यान्डको कप्तानीसमेत गरिसकेका भेट्रान खेलाडी हुन् ।

एनपीएलका ८ टीममध्ये कागजमा हेर्दा सबैभन्दा राम्रो ब्याटिङ युनिट लुम्बिनीकै देखिएको थियो, तर रोहितबाहेक लुम्बिनीका अन्य ब्याट्सम्यानहरुको प्रदर्शनमा एकरुपता देखिएको छैन । मूलतः लुम्बिनीले राम्रो ओपनिङ कम्बिनेसन नै बनाउन सकेन । आशुतोष घिरैया र अर्जुन साउद दुवै जना खासै जमिरहेका छैनन् । भारतीय मूलका अमेरिकी ब्याट्सम्यान उन्मुक्त चन्द र अस्ट्रेलियाका बेन कटिङ चल्न नसक्नु लुम्बिनीलाई टाउको दुःखाइ बनेको छ । उन्मुक्तले तीन खेलमा जम्मा ४ रनमात्र जोड्न सकेका छन् । बेन कटिङ पनि दुई खेल सस्तैमा आउट भए ।

लुम्बिनीको ब्याटिङ रोहितमै अत्यधिक निर्भर बनिरहेको छ । ५ खेलमध्ये ४ वटामा सर्वाधिक व्यक्तिगत स्कोर रोहितले बनाएका छन् । ५ खेलमा उनको स्कोर छ- ४६, ९५, ५, ३५ र ८० । रोहितपछि सर्वाधिक रन बनाउने लुम्बिनीका ब्याट्सम्यान हुन् टम मुर्स । उनले अहिलेसम्म १२३ रन जोडेका छन् ।

अब कुरा गरौं बलिङको । सुन्दा आश्चर्य लाग्नसक्छ कि लुम्बिनीबाट सबैभन्दा बढी विकेट लिने बलरको सूचीमा रोहित नै एक नम्बरमा छन् । उनले ७ विकेट लिइसकेका छन् । जबकि उनले पहिलो खेलमा आफूलाई बलिङमै उतारेका थिएनन् । विराटनगर किङ्सविरुद्धको सो म्याचमा लुम्बिनी दुई विकेटले हारेको थियो । बलिङ कमजोर हुँदा लुम्बिनीले १९१ रनको विशाल स्कोर पनि रक्षा गर्न सकेन । सायद रोहितले बलिङ गरेका थिए भने नतिजा अर्को आउन सक्थ्यो । त्यसमा अहिलेसम्म चुक्चुकाइरहेका होलान् ।

चितवन राइनोजविरुद्ध आज रोहित दोस्रो ओभरमै बलिङमा आए । विकेटको खाता पनि उनैले खोले । ४ ओभर बलिङ गर्दा उनले केवल १७ रन खर्चिए । ओपनर विपिन रावल, तेस्रो नम्बरमा उकालिएका सोहेल तनवीरसहित रवि बोपारा र जान निकोल लफ्टी इटनका सर्वाधिक महत्वपूर्ण विकेट उनले आफ्नो नाममा लेखाए ।

व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि टीमलाई जिताउन नसक्दा ‘अभागी कप्तान’ को संज्ञा पाइरहेका थिए रोहितले । कतिले चाहिँ उनको कप्तानीमाथि प्रश्न उठाएका छन् । अवश्य पनि रोहित जति राम्रा खेलाडी हुन्, त्यति राम्रा कप्तान अवश्य होइनन् । पहिलो खेलमा सबै बलरहरु चुटिँदा आफूलाई एक ओभर पनि बलिङ नदिनु र महँगो सावित भएका विवेक यादवलाई अन्तिम ओभर थमाउनुले उनी आलोचित बनेका थिए ।

जनकपुर बोल्ट्सविरुद्धको खेलमा जित नजिक पुगेको लुम्बिनी एक रनले पराजित भयो । यो पराजय उसलाई निकै महँगो पर्नसक्ने देखिएको छ । यदि त्यो म्याच जितेको भए लुम्बिनीसँग अहिले चार अंक हुने थियो र बाँकी दुई खेल जितेर प्लेअफको ढोका खोल्न सक्थ्यो । तर, खेलमा ‘इफ’, ‘बट’ को कुनै गुञ्जायस हुँदैन ।

– चिरञ्जीवी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *