दक्षिण भारतीय चलचित्र ‘पुष्पाः द रुल’ आजबाट विश्वव्यापी रुपमा प्रदर्शन भयो । चलचित्रले एडभान्स बुकिङदेखि बक्स अफिस कलेक्सनसम्म रेकर्ड नै रेकर्ड राखेको छ । विश्वव्यापी रुपमा पौने तीन सय करोड भारुको ओपनिङ गर्ने प्रक्षेपण गरिएको यस चलचित्रले अग्रिम बुकिङमा ‘बाहुबली २’ र ‘केजीएफ २’ को रेकर्डलाई समेत तोड्यो ।
‘पुष्पा २’ यस वर्षकै बहुप्रतिक्षित चलचित्र बन्नुको मुख्य कारण हो पहिलो सिक्वेल’को क्रेज । तीन वर्षअघि प्रदर्शन भएको ‘पुष्पा’ले दर्शकको अत्यधिक माया पाएको थियो । बक्स अफिसमा ब्लकबस्टर सावित पनि भएको थियो । यो चलचित्र सफल हुनुको मुख्य कारण थियो, यसको विषयवस्तु । भुइँबाट उठेर एउटा आर्थिक उचाइ प्राप्त गरेको पुष्पाराजको संघर्षले धेरैलाई छोएको थियो ।
एउटा आम मान्छे, त्यसमा पनि बाउको थर नपाएको सामान्य युवाले गरेको संघर्षलाई दर्शकले आफूसँग जोडेर हेरे । ती युवाले प्राप्त गरेको आर्थिक सफलता अहिलेको पूँजीवादी युगमा हरेक मान्छेको सपना हो । सँगै पुष्पाराजको भूमिका निभाएका अल्लु अर्जुनको स्टाइल, डाइलग डेलिभरीले पनि दर्शकलाई प्रभावित तुल्यायो ।
पैसाका लागि पुष्पाराजले गरेको रक्तचन्दनको गैरकानूनी धन्दा र यसमा आउने अप्ठ्याराहरु अनि पुष्पाराजको उदय नै ‘पुष्पा’ फिल्मको केन्द्रीय विषयवस्तु थियो । पुष्पाराजलाई दर्शकले मन पराउनुमा यही विषयवस्तुभित्र आइपुग्ने पात्रहरु श्रीवल्ली, एसपी भवरसिंह शेखावत, मंगलम श्रीनु, केशव, एमपी नायडु लगायतको भूमिका पनि अहम् थियो । पुष्पाराजको बाल्यकाल, संघर्ष र अनि सफलता (आर्थिक) लाई दर्शकले रुचाएका कारण ‘पुष्पा २’ बहुप्रतिक्षित बनेको थियो ।
तर, ‘पुष्पा २’ ले भने दर्शकलाई निराश बनाएको छ । ठूलो अपेक्षा बोकेर हलसम्म पुगेका दर्शकहरु दिक्क मानेर फर्किनेछन् ।
फिल्मको पहिलो कमजोरी नै अनावश्यक तन्काइएको कथा र अपत्यारिलो पटकथा हो । रक्त चन्दनको पैसा उठाउन कन्टेनरभित्र ४० दिन बसेर जापान पुगेका पुष्पाराजको इन्ट्री फाइटबाट हुन्छ । ४० दिनसम्म कन्टेनरमा थुनिएको व्यक्ति जिउँदो मात्र निस्किँदैन, कन्टेनरभित्रको अँध्यारोमै उसले जापानिज भाषा सिकिसकेको हुन्छ ।
अविश्वसनीय तरिकाले कथा भन्नु दक्षिण भारतीय चलचित्रको विशेषता नै हो । दक्षिण भारतीय चलचित्रमा गाडी उड्नु, हिरोले सयौं गुण्डाहरु चुट्नु, धमकेदार तोडफोड हुनु नौलो कुरा होइन । अधिकांश व्यवसायिक दक्षिण भारतीय चलचित्र ‘लार्जर द्यान लाइफ’ हुन्छन् । तर, जति नै ‘लार्जर द्यान लाइफ’ भए पनि दृश्यहरु त तर्कसंगत हुनुपर्यो नि ! बन्द अनि अँध्यारो कन्टेनरभित्र ४० दिनसम्म थुनिएको हिरो सद्दे निस्किनुको तर्कसंगत जवाफ चाहिएन ?
त्यसपछि पनि कथा उही छ । रक्तचन्दनको तस्करहरुको नाइके छ पुष्पाराज । अनि पुष्पाको राजलाई साइको प्रहरी अफिसर शेखावतले रोक्न खोज्छ । यहाँ इगोको लडाइँ हुन्छ । पुष्पाराजलाई शेखावतले रोक्न सक्छ त ? ‘पुष्पा २’को केन्द्रीय कथा यही हो ।
चलचित्रका पुष्पाराज स्मग्लर भएका कारण मुख्यमन्त्रीले ऊसँग फोटो खिचाउन मान्दैन । पुष्पाराजले श्रीवल्ली (रश्मिका मन्दना)लाई फोटो खिचाउने वचन दिएको हुन्छ । अनि त के ? ५०० करोडको जुगाड गरेर पुष्पाराजले सरकार नै बदलिदिन्छ, नायडु मुख्य मन्त्री बन्छ ।
‘पुष्पा २’को कथा यहीँ टुंगिदैन । पुष्पाको दाइ (जसले पुष्पालाई बाउको थर दिन मान्दैन)को छोरीलाई गुण्डाले उठाउँछ । गुण्डा चाहिँ नायडुलाई मुख्यमन्त्री बनाउने पार्टीको माथिल्लो तहको नेताको भतिजा हुन्छ । पुष्पाराज हेलिकोप्टरमा बहिनी बचाउन जान्छ । कथाको सार यस्तै नै हो ।
यहाँ मुख्य समस्या भनेको तेस्रो सिक्वेलको लोभमा अनावश्यक कथा तन्काइनु हो । पुष्पाको अघिल्लो श्रंखलामा कहीँकतै सम्बन्ध नभएका पात्रलाई ल्याएर, भिलेन बनाएर, पुष्पाराजसँग फाइट खेलाएर तेस्रो सिक्वेलको ढोका खोल्न खोजिएको छ । पुष्पाराजकी बहिनी अपहरण गर्ने पात्रको ग्याङ र पुष्पाराजबीच जात्रामा बिनासित्ती फाइट खेलाइएको छ, जसको कुनै तुक छैन । दर्शकले सिठ्ठी बजाओस् भन्ने लोभमा खिचिएका यस्ता दृश्य वकबास छन् ।
यस्ता दृश्य राखिनुको पछाडि दृश्य ब्राण्ड भएपछि जे देखाए पनि चल्छ भन्ने निर्देशक सुकुमारको मानसिकता बाहेक अर्थोक केही होइन । र यही मनोविज्ञानले प्रेरित भएर झण्डै साढे तीन घण्टासम्म कथा तन्काइनु दर्शकमाथिको अत्याचार हो ।
हिरोले स्टाइल देखाएर, कडा आवाजमा डाइलगहरु बोलेर, शानदार फाइट खेलाएर मात्रै चलचित्र राम्रो बन्दैन । कथा जति अविश्वासनीय भए पनि विश्वासनीय तरीकाले भन्न जान्नु पर्दछ । ‘पुष्पा २’ यहाँनेर नराम्ररी चुकेको छ ।
अल्लु अर्जुनको अभिनय सदावहार छ, उस्तो नयाँपन केही छैन । रश्मिका मन्दनाको भूमिका लामो नभए पनि अभिनय गज्जबको छ । अफिसर शेखावत (फहाद फसिल) को अभिनय पहिलो श्रंखलामा जति भव्य थियो, दास्रोमा त्यस्तो दमदार छैन । शेखावतको अभिनय एकदमै फितलो छ ।
चलचित्रको मुख्य कमजोरी भनेकै पुष्पाराजमाथि मात्रै चलचित्र अत्यधिक केन्द्रित हुनु हो । अन्य पात्रहरु निर्माणमा राम्रोसँग मिहेनत नगरिँदा चलचित्र कमजोर बनेको छ । अघिल्लो सिक्वेलमा पो पुष्पाराज सामान्य मजदुरबाट तस्करहरुको नेता बन्दासम्मको यात्रा भएकाले दर्शकले रुचाए । ‘पुष्पा २’मा त पुष्पाराजको कुनै यात्रा नै छैन, यउताउता गरेर समय व्यतित गरिएको मात्रै छ ।
एन्टागोनिस्ट जति बलियो भयो, प्रोटागोनिस्ट उत्ति नै प्रभावकारी भएर जाने हो । तर, ‘पुष्पा २’मा प्रोटागोनिस्टमाथि कथा बढी केन्द्रित छ । पटकथालाई अनावश्यक रुपमा बहकाउँदा, तेस्रो सिक्वेलको लोभ गर्दा चलचित्र अपेक्षित बन्न सकेन । चलचित्र खल्लो र औसतभन्दा कमजोर बनेको छ ।
चलचित्रको सम्पादन र सिनेम्याटोग्राफी प्रशंसालायक छ । चलचित्रका नृत्यहरुको कोरियोग्राफी पनि गज्जब छ । दर्शकलाई मजा आउने भनेको चाहिँ पुष्पाराजले आफ्नो थर पाउँछ ।
अघिल्लो सिक्वेलमा ‘झुकेगा नही’ भन्दा जति मजा आउँथ्यो, त्यति मजा ‘पुष्पा २’मा आउँदैन । खासमा ‘पुष्पा २’मा पुष्पाराजको कुनै संघर्ष नै छैन । धुमधडका फाइट, नृत्य, डाइलगले मात्रै चलचित्र राम्रो बन्न सक्दैन । कमजोर पटकथाको जगमा निर्माण भएको ‘पुष्पा २’ ले विष्फोटक ओपनिङ गरे पनि बक्स अफिसमा लामो यात्रा गर्नेमा सन्देह छ ।

Leave a Reply