काठमाडौं । तीन पटक प्रधानमन्त्री भइसकेका र हाल संवैधानिक पद प्रमुख विपक्षी दलको नेताको हैसियतमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कूटनीतिक मान्यता समेत भुलेर भारतीय मिडियामा आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।
देशभित्र छलफलको विषय समेत बन्न नसक्ने ‘भारतविरुद्ध चिनियाँ कार्ड खेल्ने’ विषयलाई उनले भारतीय मिडियाका लागि हेडलाइन बनाइदिएका छन् ।
नेपालको परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त बुझेका पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनकमात्र छैन, कूटनीतिक रुपमा अक्षम्य समेत रहेको टिप्पणी भइरहेको छ ।
गत विहीवार दक्षिण भारतबाट प्रकाशन हुने अङ्ग्रेजी भाषाको अखबार ’दि हिन्दू’मा पूर्वप्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र देशको स्वाभिमानलाई प्रश्न गर्नेगरी बोलेका छन्। उनले भारतभन्दा पहिले चीनको भ्रमण गर्न लागेर प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेलेको आरोप लगाएका छन् ।
पहिलोपटक प्रधानमन्त्री हुँदाको पहिलो विदेश भ्रमण चीनबाटै गरेका उनले ओलीको आसन्न चीन भ्रमणलाई ’चिनिया कार्ड’ खेलेको बताएका हुन्। अन्तर्वार्तामा प्रचण्डले आफूले नेपाल-भारत सम्बन्धलाई चाहिँ ’नया उचाईमा पुर्याएको’ दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारेमा प्रचण्डले भनेका छन्- केपी ओलीजी पहिलो दुईपक्षीय भ्रमणका लागि चीन जाँदैछन्। तर यो भ्रमण चिनियाँ कार्ड जस्तो देखिन्छ । यो गलत छ ।
प्रचण्डले भारतसँगको नेपालको सम्बन्ध इतिहास संस्कृति र भूगोलको कारण भन्दै सबैभन्दा सुरुमा भारतै जानुपर्ने बताएका छन्। यस्तै मुद्दामा केही दिन अगाडि ’कान्तिपुर कन्क्लेभ’मा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम देशको प्रधानमन्त्रीले जता सहज हुन्छ उतैबाट विदेश भ्रमण हुने मन्तव्य दिएका थिए।
देशको प्रधानमन्त्री औपचारिक भ्रमणका क्रममा एउटा छिमेकमा जान लागेका बेला जिम्मेवार नेताले अर्को छिमेकीलाई उक्साउने र आपसी सम्बन्धमा आशंका उत्पन्न गराउने ढंगले अभिव्यक्ति दिनु आपत्तिजनक र कुटनीतिकरुपमा राष्ट्रिय हितविपरित हुने भारतका लागि पूर्व राजदूत निलाम्बर आचार्यले बताए ।
भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीलाई चीनपरस्त वामपन्थी भन्दै नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट गर्ने गरेको परम्परा तोडेको अनर्गल प्रचार गरिरहेका बेला उनीहरुलाई नै बल पुग्नेगरी प्रचण्डले अभिव्यक्ति दिएका छन् । जबकी नेपालका प्रधानमन्त्रीले पहिलो भ्रमण भारतबाट गर्ने प्रचलन पनि छैन र त्यस्तो परम्परा बसेको पनि होइन ।

Leave a Reply